एमाले प्रचार बिभागको यस्ता छन् बार्षिक कार्ययोजना
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले देशभरका सवै वडामा प्रचारको काम अघि बढाउने निर्णय गरेको छ । एमालेका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता र प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा आज बसेको बिभागको बैठकले सवै प्रदेश र पालिकाका वडा तहसम्म प्रचार बिभागको काम बिस्तार गर्ने निर्णयसहित सञ्जाल निर्माण गर्ने गरेको हो । प्रचारको कामलाई देशब्यापी बनाउन जरुरी छ, अव मुलुकभरका ६ हजार ७ सय ४३ वटै वडा, ७ सय ५३ वटै पालिकामा प्रचार बिभागका प्रमुख तोकेर सञ्जाल निर्माण गर्दै काम अघि बढाउने र सवै तहका प्रचार प्रमुखलाई केन्द्रीय प्रचार बिभागसँग जोडने काम गरिने छ,’ बैठकको निर्णय सुनाउँदै केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले भन्नुभयो । उहाँले सवै जनसंगठनका प्रचार बिभाग प्रमुख र प्रवक्तालाई पनि बिभागसँग जोडेर एउटै लयमा प्रचारको कामलाई ब्यवस्थित रुपमा लैजाने जानकारी दिनुभयो ।
बैठकमा कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले प्रचारको कामलाई नयाँ ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनु भयो । ज्ञवालीले भन्नुभयो, ‘पार्टीले महत्व दिएको तीन क्षेत्र प्रचार, पार्टी स्कूल र जनसंगठन हो । अहिले जे चुनौति देखिएका छन, त्यसलाई सामना गरेर अघि बढनका लागि यी तीन क्षेत्रमा जिम्मा पाएका नेता कार्यकर्ताहरु फ्रन्टलाइनका योद्धा हुन । उहाँले अहिले पार्टीबिरुद्ध चौतर्फी हमला भएको बताउनु भयो । ‘अहिले हामीबिरुद्ध चौतफी प्रचार हमला छ । प्रोपगाण्डा वार नै छ हामीबिरुद्ध,’ कार्यबहाक महासचिव ज्ञवालीले भन्नुभयो, ‘सामाजिक मुद्धामा सही ढंगले प्रस्तुत भएर जनताको मुद्धा बोकेर हिडने काममा हामी सवै तहमा भूमिका खेल्नुपर्छ ।
बैठकमा बोल्दै नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले अहिलेसम्म जे जति खाल्डो परेको छ, त्यसलाई पुरेर पुर्ताल गर्ने कामका लागि पार्टीले प्रचार, पार्टी स्कूल र जनसंगठनलाई बिशेष प्राथमिकता दिएर संयोजन गर्ने जिम्मा दिएको बताउनु भयो । ‘संघीय संरचनाअनुसार सवै तहमा प्रचारको कम्तीमा १ जना जोडिनै पर्ने गरी काम अघि बढाउनु पर्ने उहाँको सुझाव थियो । प्रचारको काम प्रदेश र जिल्लामा भएन भनेर नै कामलाई ब्यवस्थित गर्न प्रदेशमा प्रचार हेर्ने जिम्मेवारी तोकिएको छ, यसलाई यही रुपमा बुझेर तोकिएका केन्द्रीय सदस्यहरुले प्रदेश प्रचार बिभागलाई सक्रिय बनाउनु पर्छ, जिल्ला, पालिका र वडासम्म योजना बनाएर काम अघि बढाउन जरुरी छ,’ उपमहासचिव रिमालले भन्नुभयो । उहाँले प्रत्येक वडामा प्रचार बिभागको १ जना ब्यक्ति तोकेर काम अघि बढाउनु पर्ने सुझाव दिनुभयो ।
बैठकमा प्रदेशमा प्रचारको जिम्मेवारी तोकिएका सात वटै प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्नो योजना राख्नुभएको थियो । कोशी प्रदेशका युवराज बाँस्कोटा, मधेश प्रदेशका अरबिन्द सिंह, बागमति प्रदेशका सुवास देवकोटा, गण्डकी प्रदेशका राजीव पहाडी, कर्णाली प्रदेशका निरज आचार्य र सुदुरपश्चिम प्रदेशका कमला बोहोराले आफ्नो प्रदेशका प्रचार योजनाबारे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । लुम्बिनी प्रदेशका प्रचार संयोजनको जिम्मेवारीमा रहनुभएका पोलिटब्यूरो सदस्य सूर्य थापा भने संसद बैठकको कारण बैठकमा सहभागी हुन नसक्नु भएको प्रमुख गौतमले जानकारी दिनुभयो । प्रमुख गौतमका अनुसार न्यूमिडियादेखि सोसल मिडियामा खारिएका ब्यक्तिलाई समेत बिभागमा समावेश गरेर अघि बढने जानकारी दिनुभयो ।
बैठकमा स्थानीय काममा, प्रदेशको संगठनात्मक कामको व्यवस्थापनमा सहयोगी बन्ने, प्रदेश पार्टीको नितान्त आफ्नो छुट्टै पोर्टल अनलाइन सञ्चालनमा ल्याउने, आधारभूत पत्रकारितासम्बन्धी तालिमसहित प्रत्येक पालिका कमसेकम १० जनालाई आफ्नो मुद्धामा लेख्नका लागि दक्ष बनाउने, जिल्लाको प्रमुखलाई प्रदेशको काममा जिम्मेवारीसहित जोड्ने, प्रदेश मिसन ग्रासरुट स्मारिका (जिल्ला–जिल्ला) सङ्ग्रह प्रकाशन गर्ने, पार्टीको राजनीतिक विरासत बोकेको प्रकाशनमा ल्याउने, पार्टीको केन्द्रीय कामलाई तल–तलसम्म जस्ताकोतस्तै लैजाने खाका पनि बनाएको छ ।