कालापानी सीमानामा व्याँस गाउँपालिकाको बैठक



हाम्रो इकोनोमि

 

 

चीन र भारतसँग सीमा जोडिएको व्याँस गाउँपालिकाको कार्यपालिका बैठक अतिक्रमित भूमि कालापानी छेउमा सम्पन्न भएको छ । शनिवार व्याँस गाउँपालिका १ तिंकरगाउँमा कार्यपालिका बैठक बसेको हो । भारतको अतिक्रमणमा आफ्नो भूमि गुमाएका व्याँसले तिंकरमा कार्यपालिका बैठक डाँक्नुलाई अर्थपूर्ण मान्न सकिन्छ ।

यसअघि तिंकरमा कुनैपनि कार्यपालिका बैठक बसेको थिएन । त्यहाँ पुग्न भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता छ । गाडीमा करिब ७ घण्टा भारतीय बाटो पार गरेपछि ५ घण्टा पैदल हिँडेर मात्रै तिंकर पुग्न सकिन्छ । नेपाली बाटो प्रयोग गरेर जाँदा कम्तीमा पनि ५ दिन लाग्छ । जोखिम पनि उत्तिकै छ । बैठकले कोभिडपछि बन्द रहेको चीनसँगको तिंकर नाका खुलाउन पहल गर्न आग्रह गरेको छ । पालिका उपाध्यक्ष विनोदसिंह कुँवरले नाका खुलाउन केन्द्र सरकारलाई आग्रह गर्दै कौवा, तिंकर र बुदीमा बीओपी पोस्ट स्थापनाका लागि पनि आग्रह गरिएको बताए ।

यस्तै बुदीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पनि आग्रह गर्ने निर्णय भएको उनले बताए । तिंकरमा कार्यपालिका बैठक बस्न आफैमा ऐतिहासिक भएको र अब हरेक वडामा जनताकाबीचमा नै कार्यपालिका बैठक आह्वान हुने उनले बताए । यस्तै छाङरुमा चुच्चे नक्सा अंकित राष्ट्रिय स्तम्भमा नेपाली झण्डा पनि फहराइएको छ । त्यहाँ १५ फिट अग्लो स्तम्भ निर्माण भएको छ । कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन।

तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा जारी गरेको थियो । ब्यास गाउँपालिकाको अध्यक्षसहित ४ वटा वडामा एमालेले जितेको छ भने उपाध्यक्ष माओवादी केन्द्र र एउटा वडाध्यक्ष नेपाली कांग्रेसले जितेका छन् । एक वर्षअघि भएको स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेस र माओवादीको गठबन्धनलाई एमालेले पराजित गरेको थियो । एमाले अध्यक्ष केपी ओलीले हस्तान्तरण गरेको चुच्चे नक्सा यसअघि नै यहाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...