५ वर्षमा बन्ने छ २६ अर्बको ४ परियोजना, १२० किलोमिटरमा पाइपलाइन
नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधारको चार आयोजना निर्माण गर्न भएको सम्झौताले नेपालको इन्धन भण्डारणको क्षमता एक महिना बढ्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको दोस्रो दिन बिहीबार नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार निर्माणका ४ परियोजना २६ अर्ब लागतमा ५ वर्ष भित्र सम्पन्न गर्ने गरी समझदारी भएको थियो । दुई वटा पेट्रोलियम पाइपलाइन विस्तार र दुई वटा इन्धन भण्डारण डिपो निर्माण सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी हरदीप सिंह पुरीले चार आयोजना विकास सम्बन्धी सम्झादारी साटासाट गरेका थिए ।
समझदारीअनुसार भारतले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्नेछ भने एउटा भण्डारण डिपोमा नेपालले ९ अर्ब रुपैयाँ लगानी गर्नु पर्नेछ । नेपाल आयल निगमकाअनुसार विस्तृत परियोजना विकास प्रतिवेदन तयार भइसकेको परियोजनाका बाँकी काम ६ महिना भित्रै सम्पन्न गर्ने र बाँकी ५४ महिनामा परियोजना विकास सम्पन्न गरेर सञ्चालनमा ल्याइने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए ।
पेट्रोलियम पूर्वाधारको ४ परियाजना एकमुष्ट रुपमा निर्माणका लागि सम्झौता भएको छ,’ थानीले भने, ‘तीन परियोजनामा भारतले अनुदान दिन्छ भने एउटा भण्डारण डिपो नेपालले बनाउने हो । परियोजनाको फेज एउटै हुन्छ । भारतको सिलिगुडी चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भारतको अनुदानमा हुनेछ भने चितवनको पेट्रोलियम भण्डारण डिपो नेपालको लगानीमा बन्ने छ । यो परियोजना सम्पन्न हुँदा हाल एक हप्ताको मात्रै रहेको मुलुकको इन्धन भण्डार क्षमता बढेर ३७ दिनको पुग्ने निगमको दाबी छ ।
१२० किलोमिटर लामो हुनेछ पाइपलाइन
सम्झौताअनुसार मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो फेज अन्तर्गत अमलेखगञ्ज लोथलर ६२ किलामिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै, दोस्रो ५० किलो मिटर लामो अन्तरदेशिया पाइपलाइन भने भारतको सिलिगुडीमा रहेको भारतीय आयल कर्पोरेसनको डिपोबाट झापाको चारआलीसम्म हुनेछ । उक्त पाइपलाइनमा ३५ किलोमिटर क्षेत्रफल भारतमा पर्नेछ भने १५ किलोमिटर नेपालतर्फ पर्नेछ । दुवै पाइपलाइनको निर्माण भारतीय लगानीमा हुनेछ ।
डिपोको भण्डारण क्षमता कति ?
सम्झौताअनुसार कुल परियोजनाको दुई इन्धन भण्डारण डिपो (ग्रिन फिल्ड टर्मिनल) मध्ये एक नेपालले बनाउने छ भने एउटा भारतले नै बनाइ दिनेछ । वातावरणीय दृष्टिले कार्बन उत्सर्जन रोक्नेगरी हरित टर्मिनलयुक्त डिपोमध्ये झापाको चारआलीको पेट्रोलियम डिपो भारतले निर्माण गरिदिने छ । यो डिपोको क्षमता ४२ हजार किलोलिटर क्षमताको हुनेछ ।
यो डिपोमा डिजेल, पेट्रोल र मटटीतेल तीन वटै इन्धन भण्डाराण गर्ने भर्टिकल ट्यांकी निर्माण हुनेछ । यस्तै, चितवनको लोथरमा बन्ने डिपो एक लाख १५० किलोलिटर क्षमताको हुनेछ । यस डिपोमा तीनै प्रकारका इन्धन भण्डारण गर्ने क्षमताको हुनेछ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा इन्धन भण्डारण क्षमता बढाउन भन्दै नेपालले भारतसँग मिलेर पेट्रोलियम पूर्वाधार निर्माणको सहकार्य अघि बढाएको थियो । यसअघिका निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकालमा भारतीय पक्षसँग परियोजना निर्माणका औपचारिक प्रक्रिया सुरु भएको थियो । तर, कोभिड–१९ महामारीका कारण प्रभावित भएको प्रक्रिया निगमले केही समय अघि पुनः व्युँताइएको थियो ।
भण्डारण क्षमता ३७ दिन पुग्ने
भारतसँगको पेट्रोलियम पूर्वाधार सम्झौता पछि हालको ७ दिनको भण्डारण क्षमता ५ गुणाले बढ्ने निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार हाल निगमसंग ६८ हजार किलोलिटर इन्धन भण्डारण क्षमता छ । यसले जम्मा ७ दिनको लागि इन्धन भण्डारण गर्न सक्छ । तर, आगामी ५ वर्षमा निर्माण सकिने यो परियोजना पछि १ महिनाका लागि इन्धन भण्डारण क्षमता बढ्ने छ । त्यसपछि नेपालको कुल भण्डारण क्षमता ३७ दिनको हुने निगमले जनाएको छ ।