१०८ किलोको रुद्राक्ष बोकेर महाकालको पूजाआराधनामा जाँदै प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड जी, तपाईँ भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्दै हुनहुन्छ । मलाई विश्वास छ कि तपाईँको उज्जैन यात्रा ऊर्जामय हुनेछ । साथै, पशुपतिनाथदेखि महाकालेश्वरको यो यात्रामा तपाईँमा आध्यात्मक अनुभूति पनि हुनेछ । धेरै धेरै धन्यवाद ।

बिहीबार दिउँसो हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो ६ मिनेट ४५ सेकेन्ड लामो सम्बोधनको अन्तिम २९ सेकेन्डको मन्तव्य यस्तो थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको । मोदीले विनाकुनै प्रसंग यस्तो धार्मिक यात्राको शुभकामना दिएका होइनन् । यसमा प्रचण्डको आफ्नो धार्मिक तयारीको कथा पनि छ । जस्तै बुधबार बजेट पढ्न ल्याइने ब्रिफकेसको जस्तै चिटिक्क सजिएका ८ थान लगेज प्रचण्डको टोलीसँगै भारत आएका छन । त्यो लगेजमा १०८ किलोग्रामका रुद्राक्षका दाना छन् । यी रुद्राक्षका दाना प्रचण्डले भारतको उज्जैनको महाकालमा पूजा गर्न ल्याएका हुन् ।

यो प्रचण्डको निजी भ्रमण नभएर औपचारिक भ्रमणको तालिका हो । चार दिनको औपचारिक भ्रमणम उनको मन्दिर भ्रमण तेस्रो दिनको कार्यक्रम हो । त्यसको लागि उनी शुक्रबार दिल्लीबाट बिदाई हुनेछन् । वैदिक सनातनि हिन्दूहरूले मान्ने गरेका १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने महाकालमा प्रचण्डको पूजाआराधानाको समय शुक्रबार छ । प्रचण्डको सवारीकै कारण शुक्रबार बिहान ६ बजेबाट मध्यान्ह १२ बजेसम्म मन्दिर सर्वसाधारणको लागि प्रवेश निषेध गरिएको छ । मन्दिर व्यवस्थापनले यसको सूचना सार्वजनिक गरिसकेको छ । भारतको राजधानी नयाँदिल्लीभन्दा धेरै टाढा मध्यप्रदेशको मन्दिरको यात्रामा प्रचण्ड सहभागी हुँदैछन् । प्रधानमन्त्रीको रूपमा भारतमा प्रचण्डको यो चौथो भ्रमण हो । तर, मन्दिर भ्रमणलाई औपचारिक भ्रमणको सूचीमा राखिएको भने यो पहिलोपटक हो ।

दौरासुरुवालको तस्बिरमा सडकमा स्वागत पोस्टर राखिएका प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा समेत दौरासुरुवाल लाएका थिए । कुनै बेला दौरासुरुवाललाई ‘पहाडे सामन्ती पोशाक’ भन्ने माओवादी अध्यक्षले तेस्रो पटको प्रधानमन्त्रीत्वकालमा पुरानो वैचारिक चोला फेरेका छन् । त्यसमा एक कदम अगाडि बढेर उनले धार्मिक गतिविधिलाई पहिलोपटक राजनीतिक, कूटनीतिक तथ राजकीय महत्व हुनेगरी प्रदर्शन गरेका छन् । शुक्रबारको धार्मिक भ्रमण त्यसैको एक उदाहरण हो ।

देशभित्र हिन्दूविरोधी छवि बनाएका प्रचण्डले भारतको औपचारिक भ्रमणमा मन्दिर यात्रा समेटेपछि धेरैजना अचम्भित भएका छन् । यीमध्ये भारतकै वाम पत्रकार पनि छन् । केही दिनअगाडि एबीपीलाइभमा ब्लग लेख्दै प्रचण्डलाई प्रशंसा गर्दै आएका भारतीय पत्रकार आनन्दस्वरूप बर्मा पनि छन् । उनले प्रचण्डको भारत भ्रमणको सवालमा लेखेको ब्लगमा कुनै क्रान्तिकारी नेता त कुरै नगरौं, दुनियाँमा कुनैपनि बुर्जुवा नेताको छविभन्दा धेरै छवि प्रचण्डको बिग्रेको छ भन्न भ्याए ।

प्रचण्ड मात्र होइन, अन्य माओवादी नेताहरुले पनि देशभित्र देखाउने हिन्दूत्वविरोधि ढोंग विदेश यात्रामा भने उतार्न थालेका छन् । हालसालै चीन भ्रमणमा रहेका नेपाली माओवादी नेताहरूले हिन्दूहरूको धाम कैलाश मानसरोबर यात्रामा पुगे । चिनियाँ कम्युनिष्ट पार्टीको आतिथ्यमा गरिबी निवारण कार्यक्रममा गएका नेताहरू कार्यक्रको मर्मसँग मेल नखाने हिन्दू धार्मिक तीर्थस्थलमा मुकाम बनाउन व्यस्त भएका थिए । माओवादीका शीर्ष नेता तथा पूर्वसभामुख अग्नि सापकोटालगायतका २० नेताहरू जेठ ९ गते कैलाश मानसरोबर यात्रा सकाएर ल्हासा फर्केका थिए । त्यसको एक हप्ता कट्नासाथ प्रचण्ड भारतको महाकाल मन्दिर यात्रा तयको कार्यक्रम बनेको हो । उत्तरी छिमेकी चीनदेखि दक्षिणी छिमेकी भारत दुवैका हिन्दू धार्मिक धामका तिर्थालुहरूमा माओवादी नेतृत्व देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...