नेकपा एसमा विद्रोह, खनाल र झाँक्री एमालेमा फर्किने



हाम्रो इकोनोमि

 

 

नकेपा एमालेबाट विभाजन भएको साढे १ वर्षमै नेकपा एकीकृत समाजवादीभित्र भ्वाङ पर्न थालेको छ । शीर्ष तहका नेताहरु नै धरमर हुन थालेपछि माधव नेपाल चिन्तामा परेका छन् । अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीमाथि प्रश्न उठाउँदै शीर्ष नेताहरु पार्टीबाट अलग हुन थालेका हुन् । शनिबारमात्रै अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरे । नेकपा एसको भविष्य नरहेको भन्दै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी उनले गरेका छन् ।

सम्मानित नेता खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचसँग असहमत रहेको न्यौपानेको दाबी छ । एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए खनाल पनि फर्किन सक्ने न्यौपानेले जिकिर गरे । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सम्मानित पद दिए एमालेमै फर्कने मनस्थितिमा हुनुुहुन्छ’, उनको भनाइ थियो । नेकपा एसका संस्थापक नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगली एमालेमा फर्किन इच्छुक देखिएका छन् । न्यौपाने र जंगलीको यसअघि नै पार्टीले राजीनामा स्वीकृत गरिसकेको छ । यस्तै अर्का उपाध्यक्ष घनेन्द्र बस्नेतसहित केही नेताहरु पनि अहिले पार्टी परित्यागको तयारीमा रहेको बताइन्छ । केन्द्रमा मात्रै नभएर तल्लो तहका नेताहरु पनि एकपछि अर्को गर्दै एमालेमै फर्किने क्रम बढेको छ ।

पार्टीमा अध्यक्ष नेपालसँग मतभेद बढेसँगै नेता खनालको बेग्लै गुटले आकार लिन थालेको छ । उनले आफू निकट नेताहरुसँग अनौपचारिक रुपमा आन्तरिक छलफल बढाएको स्रोतले दाबी ग¥यो । नेकपा एसका अध्यक्ष नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता खनालसमेत सन्तुष्ट नरहेको नेताहरु बताउँछन् । पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै उनले अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका आफू निकट नेताहरूसँग परामर्श थालेका हुन् ।

खनालले नेपालबाट वैचारिक, सैद्धान्तिक काम नहुने र कम्युनिस्ट आन्दोलन पनि अघि नबढ्ने निष्कर्ष निकालेका छन् । पार्टीभित्र अध्यक्ष नेपाल एकलौटी हाबी हुन खोजेको पनि उनको बुझाइ छ । आफू कुनै पदको लागि नभएर नीति र सिद्धान्तको लागि राजनीति गरिरहेको खनालले प्रस्ट पारे । अहिले पार्टीमा धेरै ठूलो असन्तुष्टि नरहेको पनि उनको दाबी छ । नेकपा एसका अर्का नेता मेटमणि चौधरीले पार्टीभित्र बहस र असन्तुष्टिको आवाज सुनिनु सामान्य भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा मात्रै होइन सबै पार्टीमा गुनासो, असन्तुष्टि सुनिएको छ । त्यसलाई सामान्य रुपमा नै लिनुपर्छ । भिजनमा क्लियर नहुने जोसकुैले पार्टी छाड्नसक्छ । त्यसमा अध्यक्ष नै किन नहोस् । वैचारिक स्पष्टता नभएपछि उपाध्यक्षहरुले मात्रै होइन अरु नेताहरुले पनि घोषणा गर्नसक्छन् नि !

पार्टीभित्र खनालको प्रस्ताव ठोस रुपमा बहसमा आएन । पार्टीका सबै कमिटीहरूको सम्मेलन गरी टीके प्रणाली र कृपा प्रणालीलाई अन्त्य गर्नुपर्ने र कसैसँग पनि हतारमा पार्टी एकता गर्नु नहुनेमा खनालको जोड छ । तर, अध्यक्ष नेपालको जोडबलमै नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरुसँग एकताको विषयमा छलफल भइरहेको छ । तत्कालीन नेकपाकालीन समयमा एक भएका नेपाल प्रचण्डसँग चाँडै मिल्न चाहन्छन् ।

प्रचण्ड-नेपाल मिलेर यसअघि पनि एमालेबाहेकको कम्युनिष्ट एकताको पहल गरेका थिए । तर, नेता खनाल एमालेसहित वामपन्थी एकता गर्नुपर्ने पक्षमा छन् । यस्तै नेपाल-खनालबीच गत फागुनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने बेलामा पनि टकराव परेको थियो । त्यस बेला एमसीसी अनुमोदन गर्न नहुने पक्षमा नेता खनाल थिए ।

तर, अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन जोगाउन भन्दै एकलौटी रुपमा प्रचण्डसँग मिलेर एमसीसीको पक्षमा उभिने निर्णय लिए । त्यतिमात्रै नभएर मंसिरमा भएको प्रतिनिधितथा प्रदेशसभाको निर्वाचनमा टिकट वितरणको क्रममा पनि असन्तुष्ट बनेका थिए । दशदलीय गठबन्धनको नेतृत्वको सरकारमा नेकपा एस दुई मन्त्रालय लिएर सहभागी भएको छ । तीन मन्त्रालयको अडान राखे पनि दुई मन्त्रालयमै चित्त बुझाउन बाध्य भयो नेकपा एस ।

अहिले राष्ट्रियसभा सदस्य बेदुराम भुसाल र प्रकाश ज्वाला सरकारमा छन् । तर, सरकारमा जान इच्छा व्यक्त गरिरहेका राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, मेटमणि चौधरी, प्रेमबहादुर आलेसहित संसद बाहिरका रामकुमारी झाँक्रीलगायत नेताहरु पनि पार्टी नेतृत्वसँग रुष्ट छन् । अध्यक्ष नेपालले पाँच वर्षको अन्तरमा तीनपटक सरकार बन्ने भएकाले सबै सांसदलाई आलोपालो गरेर मन्त्री बनाउने आश्वासन दिएर रोकेको बताइन्छ ।

 

झाँक्री पनि असन्तुष्ट

नेकपा एसकी ‘पोस्टल गर्ल’ का रुपमा रहेकी सचिव रामकुमारी झाँक्री पनि अध्यक्षको कार्यशैलीसँग असन्तुष्ट देखिएकी छन् । उनले नेतृत्वको कार्यशैलीकै कारण नेताहरुले पार्टी छोड्नु परेको घुमाउरो संकेत गरिन् । उनी भन्छिन्, ‘मुकुन्द कमरेडको हकमा उहाँले केन्द्रीय समितिमा फरक मत राख्नुभएको थियो । त्यसलाई पार्टी नेतृत्वले छलफलमा लान चाहेन । स्पष्टीकरण सोधेपछि पार्टी छाड्नुभएको हो ।’

पार्टी नै संकटतर्फ गएको हो त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भनिन्, ‘पार्टी संकटमा छ छैन अध्यक्षज्यूले भन्ने होला । केन्द्रीय कमिटीको बैठकमा छलफल र समीक्षा गरेर आगामी कार्ययोजनाबारे कुरा गर्ने भनेका थियौं । तर, त्यो हुन सकेन । पार्टीका अरु नेताहरुले राजीनामा दिएको पनि मैले निर्णय भइसकेपछि मात्रै थाहा पाएको हुँ ।’

 

उनले आफू असन्तुष्ट र सन्तुष्ट हुनुले धेरै अर्थ नराख्ने बताइन् । पार्टीका नेताहरुले छाडेको विषयमा पनि आफूले मिडियामा आएपछि मात्रै थाहा पाएको बताइन् । पार्टीभित्र देखिएको समस्याको विषयमा पार्टी नेतृत्व नै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...