गृहमन्त्रालयमा नेकपा एसको दाबी, को को मन्त्री बन्दै
नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एसले गृह मन्त्रालयमा दाबी गर्ने भएको छ । प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि नै संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहे पनि शीर्ष बैठकमा छलफल हुन बाँकी छ । गठबन्धन दलहरुबीच मन्त्रालयको संख्या बाँडफाँटमा अनौपचारिक कुराकानी भइसकेको छ ।
आज भोलिमै विश्वासको मत लिने तथा सरकारमा अन्य दल सहभागी हुनेबारे गठबन्धनको बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमालेले यसअघि सम्हालेको अर्थ मन्त्रालय कांग्रेसले पाउँदा गृहमन्त्रालय प्रधानमन्त्रीको दलले नै राख्ने प्रयास भइरहेको बेला नेकपा एसले पनि गृहमा दाबी गर्ने भएको हो । नेकपा एसका एक नेताले राष्ट्रपतिको अफर त्यागेर कांग्रेसलाई सघाएकाले गृहमा आफूहरूको स्वभाविक दाबी रहने बताए ।
ती नेताले भने– हामीले राष्ट्रपति बन्ने अवस्था हुँदा हुँदै पनि यही गठबन्धन ब्युँताउने भनेर छाडेको हो । राष्ट्रपति कांग्रेस, प्रधानमन्त्री माओवादी र उपराष्ट्रपति जसपाको भएपछि चौथो शक्तिले पावर शेयरिङमा सम्मानजनक भाग पाउनु स्वभाविक हो । कांग्रेसले अर्थ लिन्छ भने गृहमा हाम्रो दाबी हुन्छ । गठबन्धनमा आकारका हिसाबले ८८ सीटको कांग्रेसपछि ३२ सीटको माओवादी दोस्रो छ । तेस्रो जसपाको १२ र चौथो नेकपा एसको १० सीट छ भने जनमतको ६ सीट छ । लोसपा र नागरिक उन्मुक्ति चार चार सीटसहित छन् भने राजमोको एक सीट छ ।
गृह दाबी गरेको नेकपा एसबाट सो मन्त्रालयको प्रमुख दाबेदार उपमहासचिव प्रकाश ज्वाला देखिएका छन् । यद्यपि संसदीय दलका उपनेता राजेन्द्र पाण्डेको पनि दाबी हुने देखिन्छ । अहिले पाण्डे उपनेता र ज्वाला प्रमुख सचेतक छन् । नेकपा एसबाट चुनाव जितेका माधव नेपालबाहेक अरू ९ जना सांसद नै मन्त्रीका दाबेदार छन् । यसपटक नेकपा एसले बढीमा ३ मन्त्रालय पाउने सम्भावना छ । नत्र एक राज्यमन्त्रीसहित २ मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था छ ।
नेकपा एसबाट यसपटक भानुभक्त जोशी, प्रकाश ज्वाला मन्त्रीका प्रमुख दाबेदार देखिएका छन् । धनबहादुर बुढा यसअघि नेकपा एमाले विभाजनमा साथ दिएर पनि मन्त्री बन्न नपाएका सांसद हुन् । उनी यसपटक पनि डोल्पाबाट निर्वाचित भएर आएका छन् । त्यस्तै पछिल्लो समय केपी ओली र माधव नेपालको वार्ता गराउन भूमिका खेलेका किसान श्रेष्ठ र पूर्व पर्यटनमन्त्री प्रेम आलेले पनि मन्त्रीमा सशक्त दाबी गरेका छन् ।