राष्ट्रपतिमा कांग्रेसलाई सघाउने माओवादीको संकेत
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय गर्ने भएको छ । वर्तमान सत्ता गठबन्धन भित्रबाट राष्ट्रपति बन्दा त्यसले राजनीतिलाई स्थिरता दिन नसक्ने र आफूहरू अप्ठ्यारोमा पर्ने निष्कर्षसहित माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको हो ।
राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुरा लगभग तय भएको माओवादीका नेताले पनि पुष्टि गरे । कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने भनेर किटेर निर्णय आउन लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो बेला निर्णय कसरी लेखिएला थाहा छैन । तर कांग्रेसलाई मत दिने भनेर आए पनि, राष्ट्रिय सहमतिका लागि भनेर आए पनि त्यसको सार एउटै हो ।’
राष्ट्रपतिमा अब कांग्रेससँग मिलेर जानेमा आफ्नो दलभित्र कुनै ‘कन्फ्युजन’ नरहेको उनले बताए । राष्ट्रपतिका लागि राजनीति बाहिरको मानिस आउन सक्ने चर्चा चलेप नि उनले त्यसो हुन सम्भव नभएको उनले बताए । राष्ट्रपतिमा एमाले र कांग्रेस दुबैको नहुने भनेको दुबैलाई चिढ्याउनु हो,’ उनले भने, ‘त्यो सम्भव छैन र त्यतातिर जाने प्रयास गर्नु भनेको थप अस्थिरता खोज्नु हो । राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची आइसकेको छ । त्यसैले त्योभन्दा पहिला नै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गर्न लागेको हो ।