प्रचण्डलाई पहिलेकै गठबन्धनमा फर्काउन जनार्दन, बाबुराम र माधव नेपाल सक्रिय



 

 

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस अहिले संघदेखि प्रदेशसम्म सरकार बाहिर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षमा बसेको कांग्रेसले सत्ता गठबन्धन टुटाउने रणनीति अख्तियार गरिरहेको छ ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउन कांग्रेसका केही नेता अझै सक्रिय छन् । त्यही रणनीतिलाई अख्तियार गर्दै कांग्रेसले आफू नेतृत्वको गठबन्धन भत्काएर हिँडेका प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रचण्डलाई आफूहरुले विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाबमा राख्न सकिने कांग्रेसको बुझाइ छ । प्रतिनिधिसभाको लगभग सबै सांसदको विश्वासको मत पाएका प्रचण्ड राष्ट्रिय सहमतिको प्रयासमा छन् । तर, प्रचण्डको प्रयास कस्तो भन्ने खुलेको छ ।

सभामुखको निर्वाचनपछि प्रचण्डले भनेका थिए, ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’ तर, ओलीले एमालेको राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमति हुनुपर्ने तर्क राखे । प्रचण्डलाई आफ्नो कित्तामा ल्याएर संघदेखि प्रदेशसम्म पार्टीलाई सरकारमा फर्काएका ओली साढे दुई वर्षपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफैं हावी हुने रणनीतिमा छन् ।

तर, यही गठबन्धन कायमै रहे आफूहरुलाई अफ्ठ्यारो पर्ने बुझाइका साथ कांग्रेस गठबन्धन टुटाउने खेलमा निरन्तर लागिरहेको छ । गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले बताएका छन् । सभामुखको निर्वाचनमा गठबन्धन टुटाउन गरिएको प्रयास सफल नभएको भन्दै उनले अब राष्ट्रपतिलाई मिसन बनाएर अघि बढ्ने भनाइ राखे ।

उनले बिहीबारको संसद बैठकपछि भनेका थिए, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि ! त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि !’ नेता भण्डारीले दाबी गरे झैं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरु अझै माओवादीकै संवादमा छन् । कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर एमालेसँग सत्ता सहकार्यमा पु¥याउने सूत्रधार वर्षमान पुन बिरामी भएर अस्पताल भर्ना भएपछि कांग्रेस नेताहरु थप सक्रिय छन् ।

पार्टीमा हावी हुने जनार्दनको प्रयत्न

प्रचण्डलाई कांग्रेस नेतृत्वको गठबन्धनबाट टुटाएर बालकोट पुर्‍याउन पुनसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले पनि भूमिका खेलेका थिए । तर, अहिले आफूहरु देशको स्थायित्वका लागि यही गठबन्धनलाई नै अगाडि लानुपर्ने पक्षमा रहेको महासचिव गुरुङ बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमतिको प्रयास गर्नुभएको हो । उहाँले विश्वासको मत लिँदा देखियो । तर, सभामुखमा बन्न सकेन । तर, हामी अहिले यही गठबन्धनलाई अगाडि लाने पक्षमा छौं ।’ कांग्रेस नेताहरुले त सत्ता गठबन्धन फुटाउन निरन्तर प्रयास गर्छाैं भनिरहेका छन् । त्यस विषयमा तपाईंहरुसँग केही कुरा भएकोे होला नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘कांग्रेसको कुरा कांग्रेसले गर्ला । तर, हामी अहिलेको अवस्थाभन्दा दायाँबायाँ हुने गरी बढेका छैनौं ।’

वर्षमानले प्रचण्डलाई एमाले कित्तामा उभ्याए पनि कांग्रेस सक्रिय भएपछि अर्का उपमहासचिव जनार्दन शर्मा पार्टीमा हावी हुन खोजिरहेका छन् । उनी एमालेसँगको सहकार्यभन्दा कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए । देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका शर्मा देउवाको मात्रै नभएर उनकी पत्नी आरजु राणा देउवाको पनि विश्वासिलो व्यक्तिमा परेका थिए ।

अहिले सरकारबाट बाहिरिएपछि शर्माले पार्टी संगठन निर्माणमा लाग्ने भन्दै विभिन्न छलफल गरिरहेका छन् । पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै सरकारमा भएको मौकामा उनले पार्टीमा हावी हुने रणनीति बनाइरहेका छन् । यसअघि देखि नै शर्मा र पुनबीच पार्टीमा आन्तरिक टकराव छ । माओवादीमा अहिले संगठन विभाग गठन भएको छैन । तर, शर्माले आफूलाई संगठन विभाग प्रमुखको रुपमा प्रस्तुत गरिरहेका छन् । यसबीचमा शर्माले देउवासँग पनि छलफल गरेका छन् । उनले केपी ओलीसँगको गठबन्धनबाट धोका हुने भन्दै राष्ट्रपतिसमेत एमालेलाई दिँदा पहिलेकै अवस्था आउनसक्ने भन्दै दबाब सिर्जना गरिरहेका छन् ।

वर्षमान बिरामी हुँदा चलखेल

वर्षमान अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएपछि एमालेका प्रभावशाली नेताहरुले पालैपालो भेटेर स्वास्थ्यलाभको कामनामात्र गरेका छैनन्, प्रचण्डमाथि बाह्य शक्ति र पार्टीभित्रकै अहिलेको गठबन्धनविरोधी नेताहरु हाबी हुनसक्ने आशंकासमेत जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरुले पुनलाई अस्पतालमा गएर भेटेका थिए भने अध्यक्ष ओलीले पनि पुनको स्वास्थ्यबारे चासो राखे । पुनले प्रचण्डलाई कन्भिन्स गर्ने भएकाले पनि उनको सक्रियता आवश्यक देखिएको एमाले नेताहरु बताउँछन् । वर्षमान पुन प्रचण्डलाई कांग्रेससँगको सहकार्यबाट बाहिर ल्याउन सक्रिय नेता हुन् । उनीसँग चिनियाँ संस्थापन पक्षले समेत संवाद गरेको छ ।

‘कांग्रेसको प्रयास सफल हुँदैन’

गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको बारेमा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल कांग्रेसले सत्ता समीकरणमा पसेर देशलाई अस्थिर बनाउन खोजेको बताउँछन् । उनी भन्छन्, ‘राष्ट्रिय सहमति गाँजरको बाँसुरी होइन । मन लाग्दा बजाउने, मन लाग्दा खाने । निर्वाचनपछि राष्ट्रिय सहमति त के, कांग्रेसले सहयात्री दललाई पनि नदिएर राष्ट्रपति र प्रधानमन्त्री दुबै आफैं राख्न खोज्दा गठबन्धन टुटेको होइन र ?’

कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्नुको कुनै तुक नभएको उनको भनाइ छ । ‘अनि यसअघि २०७४ मा विद्या भण्डारी दुईतिहाइ मतसहित पुनः निर्वाचित हुने शतप्रतिशत सुनिश्चित हुँदा पनि कांग्रेसले खोचे थापेर उम्मेदवार उठाएको होइन र ?’ उनको भनाइ छ, ‘समीकरणमा सूँढ घुसाएर देशलाई अस्थिर बनाउने खेलमा कांग्रेस नलाग्दा राम्रो हुन्थ्यो । कांग्रेसले उम्मेदवारी दिएन भने राष्ट्रपति निर्विरोध निर्वाचित हुन्छ, मतदान नै हुँदैन ।’

यस्तै, एमाले सचिव योगेश भट्टराई पनि कांग्रेसको गठबन्धन भत्काउने प्रयास सफल नहुने बताउँछन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै उनले भनेका थिए, ‘पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ । कांग्रेसले आफ्नो कोर्स पूरा गर्न नसकेपछि नयाँ कोर्स निर्माण भएको हो ।’

 

कांग्रेसको प्रायश्चित,जनार्दनको सक्रियता

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिनू गम्भीर गल्ति भएको महशुस गरिसकेको छ । यो कुरा कांग्रेसका नेताहरुले प्रचण्डलाई बारम्बार भेटेर भनिरहेका छन् । देउवासँगको डिनर बैठकपछि प्रचण्डलाई रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,पूर्णवहादुर खड्कालगायतका नेताले बारम्बार भेटेर पहिलेकै गठबन्धनमा फर्किन आग्रह गरिरहेका छन् ।

राष्ट्रपति चुनावबाट पहिलेकै कोर्षमा फर्किन उपयुक्त वातावरण बन्ने भन्दै नेताहरु संवादमा छन् । प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको सन्देश बारम्बार दिइएको छ । यसमा बाबुराम भट्टराई,माधव नेपाल र जनार्दन शर्मा सक्रिय छन् । जनार्दनले त राष्ट्रपति चुनावमा आफूनिकट प्रदेश र संघीय सांसदहरुको क्रस भोट गराइदिनेसम्मको चेतावनी दिइरहेको चर्चा छ ।

माओवादी वृत्तमा पनि एमालेलाई मुख्य संवैधानिक पदहरु दिएपछि प्रचण्डसँग भोलि कुनै कार्ड बाँकी नरहने भन्दै झस्काइरहेका छन् । वर्षमान पुनलगायत केही नेताहरुमात्र जे सहमति हो त्यहि अनुसार नहुँदा माओवादी पार्टीको विश्वसनीयता सकिने र आउने चुनावसम्म यता न उताको भइने भन्दै प्रचण्डलाई नबहकिन भनिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ