कांग्रेस नेताले बेचेको सार्वजनिक जग्गामा एमाले उम्मेदवारको इन्ट्री, दर्जनौं युवा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले आफ्नो श्रीमतीको नाममा ल्याएको सार्वजनिक जग्गा रहेको स्थानमा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् ।
पूर्वभुमी सुधारमन्त्री आचार्यले आफु मन्त्री भएको समयमा मध्यपुर थिमी नगरपालिका वडा नं. ३ को सागबारीमा रहेको हनुमन्ते नदीको जग्गा आफ्नो श्रीमतीको नाममा ल्याउनुभएको थियो । आफ्नो कान्छी श्रीमती विमली उपाध्यायको नाममा रहेको उक्त हनुमन्ते नदीको ५५ रोपनी सार्वजनिक जग्गालाई आफ्नो श्रीमतीको नाममा लानुभएको थियो । उक्त जग्गाको विवादै कारण हाल निर्माणाधिन हनुमन्ते करिडोर समेत निर्माण सम्पन्न हुन सकेको छैन । नदीको जग्गा व्यक्तिको नाममा आएकाले हनुमन्ते करिडोर निर्माण रोकिएको छ । जसमा वर्तमान गठबन्धनको सरकारले बजेट समेत कटौती गरी विकासमा अवरोधमात्र गरेको नभई नेता आचार्य र उहाँको परिवारलाई जोगाउने तवरले आयोजनालाई रोक्ने प्रयास गरिरहेको त्यहाँका स्थानीयवासीले बताए ।
उक्त जग्गा रहेको स्थानमा आज नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम आयोजना गरेका छन् । एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, समानुपातीक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभा ‘ख’का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठ, एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, अनेमसंघ भक्तपुर जिल्ला अध्यक्ष उत्तरा नेपाललगायतका नेता, कार्यकर्ता तथा स्थानीयवासीले मध्यपुर थिमी नगरपालिका वडा नं. ३ क्षेत्रभित्रका वस्तीमा घरदैलो कार्यक्रम आयोजना गरेको छ । त्यसै क्रममा एमाले उम्मेदवारसहितको टोलीले कांग्रेस नेता आचार्यले हनुमन्ते नदीको जग्गा कब्जा गरिएको स्थानका आसपासमा समेत घरदैलो सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार बस्नेतले नदीको उक्त ५५ रोपनी जग्गा पुन सार्वजनिक बनाई हनुमन्ते करिडोर निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो । सार्वजनिक जग्गालाई पहुँचका भरमा निजी बनाई भूमाफियाको कार्य गर्नु सवैभन्दा ठूलो अपराध भएको उल्लेख गर्दै उक्त जग्गा फिर्ता ल्याई हनुमन्ते जग्गा एकीकरण गरी करिडोर निर्माण सम्पन्न गर्ने उल्लेख गर्नुभयो । जग्गा एकीकरण आयोजना सञ्चालन गरी हनुमन्ते करिडोर निर्माण गर्दा व्यक्तिको सम्पतीलाई असर पर्ने नभई फाईदा हुने उल्लेख गर्दै उहाँले कोही पनि नागरिक करिडोर निर्माणले नै गर्दा सुकुम्वासी बन्नु नपर्ने ठोकुवा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दुषित मनसायका साथ हनुमन्ते नदीको ५५ रोपनी जग्गा पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नाथ आचार्यको कान्छी श्रीमती विमली उपाध्यायाको नाममा ल्याइएको छ । सार्वजनिक जग्गा आफु पहुँचमा भएको समयमा व्यक्तिको नाममा नामसारी गर्नु राज्यकै लागि ठूलो अपराध हो । त्यसैले अब मंसिर ४ पछि एमालेको सरकार बन्नेछ । त्यसपछि उक्त जग्गा पुनः सार्वजनिक हुनेछ । त्यसपश्चात हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुन्छ । हनुमन्ते करिडोरकै कारण कोही पनि नागरिक जग्गा विहिन हुने अवस्था आउँदैन । हामी आफै ध्वंसको विकासको विरोधी भएकाले जनताको पक्षमा रहेर कुनै पनि आयोजनाहरु सञ्चालन गरी पूर्णता दिनेछौं । विरोधका लागि विरोधको कुनै अर्थ छैन । विकासमा राजनीतिकरण गर्नु हुँदैन भन्ने मेरो मान्यता रहेको छ ।’

घरदैलो कार्यक्रममा ५१ जना कांग्रेसका युवाहरु एमालेमा प्रवेश

एमाले भक्तपुर क्षेत्र नं. २ प्रचार प्रसार कमिटीले आयोजना गरेको उक्त घरदैलो कार्यक्रममा कांग्रेसका ५१ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका क्रियाशिल सदस्य कृष्ण अर्यालको नेतृत्वमा उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी युवाहरुलाई एमाले उम्मेदवार बस्नेतले खादा, अध्यक्ष देउजाले अविरलगाई पार्टीमा स्वागत गर्नुभयो ।
देश विकास र राष्ट्रियताको सवालमा एमालेले खेलेको भूमिका कै कारण एमाले रोजेको नवप्रवेशीले बताए । आगामी दिनमा भक्तपुरको लागि मात्र नभई समग्र मुलुकको विकासको नेतृत्व एमालेले बाहेक गर्न नसक्ने उल्लेख गर्दै नवप्रवेशीले एमालेका उम्मेदवारलाई विजयी गराउन जस्तोसुकै अवस्थालाई सामना गरि अगाडी बढ्ने प्रतिवद्धता जनाए । नवप्रवेशीले उम्मेदवारसहित आफ्नो टोल परिक्रमा समेत गरेका थिए । टोली परिक्रमा गर्ने क्रममा अब उक्त स्थानमा कांग्रेसमुक्त बनाउने अभियान चलाउने बताए ।

उक्त क्रममा नेता बस्नेतले नवप्रवेशीलाई धन्यवाद तथा आगामी राजनीतिक सफल भविष्यका शुभकामना व्यक्त गर्दै योग्यता र क्षमताको आधारमा पार्टीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिने बताउनुभयो । एमाले नेपाल र नेपालीको पार्टी भएकाले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा जहिले पनि अटल र अडिक रहेको तथ्यहरु उल्लेख गर्नुभयो । राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतका राष्ट्रको हित विपरित गठबन्धन सरकारले अगाडी बढाएको भन्दै आक्रोस व्यक्त गर्दै नेता बस्नेतले अब मुलुक बचाउने जिम्मा एमालेको काँधमा रहेको उल्लेख गर्नुभयो । त्यसको लागि जनताको साथ र समर्थन आवश्यकता रहेको औंल्याउँदै उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई अत्याधिक मतका साथ विजयी गराउन अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...