गठबन्धनका उम्मेदवारविरुद्ध सिन्धुपाल्चोकका दुवै क्षेत्रमा कांग्रेसका बागी
मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा सत्ता गठबन्धनविरुद्धका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी कायम नै राखेका छन् । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले ‘बागी’ उम्मेदवारी दिएका थिए ।
कांग्रेसको १३औं महाधिवेशनमा उनी सचिव पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । कांग्रेस प्रजातान्त्रिक हुँदा चौलागाईं बस्नेतको साथमै थिए । तर, अहिले उनी बस्नेतलाई छाडेर शेखर कोइराला खेमामा लागेका छन् ।
क्षेत्र नम्बर २ मा कांग्रेसका क्षमतावान नेता भए पनि ‘टुरिस्ट’ उम्मेदवार बनाएको र बस्नेतको दादागिरीविरुद्ध आफ्नो उम्मेदवारी रहेको चौलागाईंले बताए । ‘पार्टीका नेता, कार्यकर्तालाई सधैं पेल्ने बस्नेत प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो’, उनले भने । त्यस्तै यो क्षेत्रमा माओवादीको पूर्व केन्द्रीय सदस्य ध्रुवप्रसाद पराजुलीको स्वतन्त्र उम्मेदवारी पनि कायम नै रहेको छ । अब क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार बस्नेतले कांग्रेस र माओवादीका बागी उम्मेदवारको पनि सामना गर्नुपर्नेछ ।
सापकोटाविरुद्ध पनि कांग्रेसकै बागी
गठबन्धनबाटै सिन्धुपाल्चोक १ मा उम्मेदवार बनेका माओवादी केन्द्रका माधव सापकोटा ‘सुवोध’विरुद्ध कांग्रेस सुनकोशी गाउँपालिका–२ का इकाई सभापति रामकुमार जीसीले दिएको उम्मेदवारी पनि फिर्ता भएन । सुनकोशी गाउँपालिकाका निर्वतमान अध्यक्ष श्रवणकुमार जीसी (विनोद) का भाइ रामकुमारले स्थानीय चुनावमा एमाले र माओवादीबीच गठबन्धन गराएर आफूहरुलाई हराएको भन्दै सापकोटाविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
स्थानीय निर्वाचनमा सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । गठबन्धनका कारण कांग्रेस उम्मेदवार पराजित हुनुपरेको बदलाको लागि पनि जीसीको उमेदवारी कायम नै रहेको कांग्रेस सुनकोशीका एक नेताले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभा १ प्रदेश सभा (क) मा सरल सहयात्रीविरुद्ध नवप्रवेशी कांग्रेसका स्थानीय कार्यकर्ता भक्त भण्डारीले दिएको उम्मेदवारी पनि कायम नै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । भण्डारीकी श्रीमती मञ्जु नेपाल भण्डारी स्थानीय निर्वाचनमा एमालेको तर्फबाट सुनकोशी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार भएकी थिइन् । एमाले र माओवादीबीच गठबन्धन भएपछि उम्मेदवारी दर्ता गरे पनि उनलाई एमालेले उम्मेदवार फिर्ता गराएको थियो । एमाले र माओवादीबीच गठबन्धन भएर भण्डारीको उम्मेदवारी एमालेले खोसेपछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । अहिले श्रीमानलाई माओवादी उमेदवारविरुद्ध प्रदेशसभामा उठाइएको चर्चा कांग्रेस वृत्तमा छ ।