नागरिकता विधेयक प्रमाणीकरण नगर्ने, राजीनामा पनि नदिने मुडमा राष्ट्रपति



 

 

राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रोपटक आफूकहाँ आएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् । आफूले दिएका सुझावहरूलाई संसदले बेवास्ता गरेकोमा असन्तुष्ट बन्दै उनले यस्तो असहज निर्णय लिएको स्रोतले बतायो ।

पहिलोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा राष्ट्रपतिले विभिन्न कमी-कमजोरी औंल्याउँदै संसदलाई बुँदागत सुझावसहित फिर्ता पठाइदिएकी थिइन् । तर, प्रतिनिधिसभाले ती सुझावहरूलाई उपेक्षा गर्दै कुनै परिमार्जनविना दोस्रोपटक हुबहु विधेयक पारित गर्‍यो । राष्ट्रियसभाले विधेयकमाथि छलफलका लागि विषयगत समितिमा त पठायो, तर, त्यहाँ पनि कुनै परिमार्जन भएन । दुवै सदनबाट हुबहु पारित भएर १५ दिनअघि विधेयक राष्ट्रपति कहाँ पुगेको हो ।

विधेयक फर्किएर आएपछि राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजिवीहरूलाई बोलाएर लगातार छलफल गरेकी थिइन् । अन्ततः उनी विधेयकलाई थाती राख्ने निर्णयमा पुगेकी हुन् । उनको यस्तो निर्णयले नयाँ संवैधानिक बहस सिर्जना गर्नेछ । पहिलोचोटि प्रमाणीकरणका लागि आएको विधेयकलाई पुनर्विचारका लागि राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने नेपालको कानूनी व्यवस्था छ । तर, दोस्रोपटक फर्किएर आएको विधेयकलाई प्रमाणीकरण गर्ने बाहेकको विकल्प संविधानले राष्ट्रपतिलाई दिएको छैन । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि संविधान तथा ऐन-कानूनमा छैन ।

स्रोतका अनुसार विधेयक थाती राखेर चुपचाप बस्ने राष्ट्रपतिको रणनीति छ । यसअघि उनले राजीनामा दिने मनस्थिति पनि बनाएकी थिइन् । तर, सबैको सुझाव सुनिसकेपछि राजीनामा र प्रमाणीकरण दुवै नगर्ने मुडमा छिन् । आफूविरुद्ध अदालतमा कुनै रिट निवेदन दायर भए त्यसको सामना गर्ने उनको तयारी छ । १५ दिनभित्र विधेयक प्रमाणीकरण नभएको खण्डमा स्वतः खारेज हुने कानूनमा नै स्पष्ट उल्लेख भएकाले राष्ट्रपतिविरुद्ध अदालतले पनि कुनै आदेश गर्न नसक्ने उनलाई कानूनविदहरुले बताइरहेका छन् ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्दाको अवस्थामा के गर्ने भन्नेमा गठबन्धनका शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ । स्रोतका अनुसार उनीहरू राष्ट्रपतिले राजीनामा दिउन् भन्ने चाहन्छन् । तर, चुनावको मुखमा राजीनामा दिएर गठबन्धनका लागि सहज वातावरण सिर्जना नगर्ने निष्कर्षमा राष्ट्रपति पुगेको स्रोत बताउँछ । नेपाली सेनाको नेतृत्व पनि नागरिकता विधेयकको विपक्षमा रहेकाले राष्ट्रपतिलाई आडभरोसा मिलेको छ ।

नागरिकता विधेयक पारित गर्नका लागि आज राति १२ बजेसम्मको समय बाँकी छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा आफू जानकार नरहेको बताए । राष्ट्रपति कार्यालयका सञ्चार सचिव सोम राईले पनि विधेयक प्रमाणीकरण हुने/नहुनेबारे कुनै एकिन जवाफ दिएनन् ।उनले भने, ‘राष्ट्रपतिज्यूले धेरै दिनदेखि परामर्शहरू गरिरहनु भएको छ । उहाँ एउटा निर्णयमा पुग्नुभएको होला, तर हामीलाई भनिएको छैन ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल