लक्ष्यभन्दा कम राजश्व संकलन, निर्यातभन्दा ४० गुणा बढी आयात



हाम्रो इकोनोमि

 

 

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले आर्थिकवर्ष २०७८/०७९ मा राजश्व लक्ष्य भेटाउन सकेको छैन । भन्सार विभागले उक्त आवमा कार्यालयलाई एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य तोकेकोमा १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो ।

यसअनुसार लक्ष्यको ९०.९४ प्रतिशत राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ९९ अर्ब ६५ करोड राजस्व लक्ष्य तोकिएकोमा एक खर्ब १२ अर्ब ५४ करोड संकलन भएको थियो । जुन लक्ष्यभन्दा १२ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते बिलासिताका सामान आयात गर्दा शतप्रतिशत मार्जिन लिनुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्रबैंकले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै प्रतित–पत्र (लेटर अफ क्रेडिट) जारी गरेपछि भारतबाट आयात हुने विलासिताका वस्तुहरु ह्वात्तै घटेका थिए । जसले गर्दा पनि यसपटक राजस्व लक्ष्य भेटाउन नसकिएको भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताए ।

राष्ट्र बैंकको परिपत्रमा २० प्रकारका बस्तुहरु आयात गर्दा अनिवार्य रुपमा मार्जिन लिई प्रतितपत्रमार्फत् मात्र आयात गर्ने ब्यवस्था मिलाउन निर्देशन थियो । भारत लगायत तेस्रो मुलुकबाट बिलासिताका सामान बढी आयात भएको र बिदेशी मुद्रा सञ्चिति घट्दै गएकाले यस्तो ब्यवस्था गरिएको हो । भैरहवा भन्सार हुँदै आयात हुने सामाग्री घटेको हो भने राजस्व असुलीसमेत प्रभावित भएको हो । भन्सार कार्यालयका अनुसार आब ०७८/०७९ मा सबैभन्दा बढी राजश्व जीप, कार र भ्यानबाट संकलन भएको छ ।

जीप, कार र भ्यानबाट २१ अर्ब ९३ करोड ६४ लाख ३३ हजार राजश्व संकलन भएको पासवानले जानकारी दिए । यस्तै, मोटरसाइकलबाट १९ अर्ब, ९१ करोड, १५ लाख ९२ हजार, पिकअप तथा डेलिभरी भ्यानबाट ५ अर्ब ७४ करोड ८८ लाख ६० हजार, एम.एस. विलेटबाट ४ अर्ब ४० करोड ५ लाख ९३ हजार राजस्व संकलन भएको छ ।

यस्तै, पेट्रोलबाट ४ अर्ब ६ करोड २५ लाख १४ हजार, ग्लेज टाइलबाट ३ अर्ब ४९ करोड ८ लाख ९४ हजार, हाइस्पीड डिजेलबाट २ अर्ब ७८ करोड १३ लाख १९ हजार, एलपी ग्यासबाट २ अर्ब ९ करोड ४५ लाख ७७ हजार, मार्बल स्याल्याबबाट एक अर्ब ९६ करोड ४२ लाख ८ हजार राजस्व संकलन भएको छ । यसैगरी मोबाइलबाट एक अर्ब ४१ करोड ८७ लाख ६४ हजार राजश्व संकलन भएको छ । बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा करिब १ सय ५० भन्दा बढी प्रकारका वस्तुहरु आयात भएको छ ।

 

निर्यातको तुलनामा बढ्यो ४० गुणा बढी आयात

 

रुपन्देहीको बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात अधिक बढेको छ । स्वदेशी उत्पादन नहुँदा वर्सेनि बढिरहेको आयात–निर्यात बीचको अन्तर बढिरहेको छ । गत आर्थिक वर्ष २०७८/२०७९ मा बेलहिया नाकाबाट निर्यातको तुलनामा आयात ४० गुणा बढी भएको छ ।

मुलुककै दोस्रो ठूलो रुपन्देहीको बेलहिया नाकाबाट आयात–निर्यातको खाडल आकासिँदै गएको छ । जसले गर्दा मुलुकको व्यापार घाटा बर्सेनि बढिरहेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा मात्रै बेलहियाबाट २ खर्ब ९६ अर्ब ९७ करोड ४० लाख १९ हजार रुपैयाँको विभिन्न मालवस्तु आयात हुँदा निर्यात भने ७ अर्ब ८८ करोड ४ लाख ३३ रुपैयाँको मात्रै भएको छ । निर्यातका तुलनामा आयात २ अर्ब ८९ अर्ब ९ करोड ३५ लाख ८६ हजारले बढी हो ।

आर्थिक वर्ष ०७७/०७८ मा पनि योनाकाबाट निर्यातका तुलनामा आयात २ अर्ब ७६ अर्ब बढी रहेको सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिए ।

बेलहिया नाकाबाट नेपाल भित्रिने हरेक सामग्रीमा सबैभन्दा बढी भारतबाट आयात गरिने वस्तु छन् । अन्य मुलुकबाट आयात गरिने बस्तु न्यून छन् । बेलहिया नाका हुँदै ९७ प्रतिशत आयात भारतबाट मात्रै हुने गर्छ । बाँकी ३ प्रतिशत आयात भने चीन लगायत तेस्रो मुलुकबाट हुने गरेको छ । भन्सार कार्यलयका अनुसार गत आर्थिक वर्षमा आयातबाट १ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने निर्यातबाट राजश्व संकलन दर एकदमै न्यून छ । निर्यातबाट एक करोड ५० लाख ६९ हजार रुपैयाँ मात्रै राजश्व उठेको छ ।

बेलहिया नाकाबाट २०७८–०७९ मा जीप, कार र भ्यानहरु, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस विलेट, ग्लेज टाइल, पेट्रोल, हाइस्पीड डिजेल, एलपी ग्याँस, मार्बल स्याल्याब, मोबाइल, तयारी कपडालगायतको आयात अत्यधिक बढेको छ । खाद्यान्न र दैनिक उपभोग्यवस्तुको आयात पनि उस्तै बढी छ । नेपालबाट सेन्थेटिक यार्न, भटमासको प्रशोधित तेल, पिना, खोटो–रेजिन, खजुरको प्रशोधित तेल, लिडसिसा, चोकर, भुस, चाउचाउ, पास्ता, स्टीलका भाँडाकुँडा, कच्ची र डण्डी ट्युवहरु, जडीबुटी लगायतका सामान निर्यात हुँदै आए पनि न्यून मात्रामा छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...