माओवादी कांग्रेसँग मर्ज भए हुन्छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनु छ भने राजनीतिक चेतलाई पनि बदल्नु पर्ने बताउनुभएको छ । प्रवासी नेपाली मञ्च कतारको छैटौँ अधिवेशनको समुद्घाटन समारोहलाई सोमबार कतारको दोहामा सम्बोधन गर्दै महासचिव पोखरेलले विगतको विद्रोही राजनीतिक चेतलाई राष्ट्र निर्माणको चेतमा बदल्न आवश्यक रहेको बताउनुभयो ।
अधिकारमुखी राजनीतिक चेतनालाई कर्तव्यमुखी चेतनामा बदल्नु पर्ने उहाँले बताउनुभयो ‘यसो गर्न सकिएन भने राजनीतिक यात्रा निक्कै पछाडि पर्छ’, उहाँले भन्नुभयो ।
सामन्तवादीले नभएर आफूलाई क्रान्तिकारी भन्नेले नै नेपाली समाजलाई पछाडि पारेको उहाँले टिप्पणी गर्नुभयो । त्यसैले नेपाल राष्ट्र निर्माण गर्ने हो भने दुईदेखि तीन वटा राजनीतिक दल आवश्यक रहेको उहाँले बताउनुभयो । ‘हामीकहाँ यति धेरै राजनीतिक दल छन्, जनताले कार्यक्रमका आधारमा दल छान्न पाउँदैनन्’, पोखरेलले भन्नुभयो । पोखरेलले पार्टी र संघ संगठनलाई मर्ज गर्दै लैजानु पर्ने बताउनुभयो । ‘धेरै संस्था, धेरै आवाज, अलमल’, पोखरेलेका टिप्पणी छ ।
परिवर्तनको लडाइँमा गठबन्धन गर्नु पर्ने भए पनि राष्ट्र निर्माणको काम भने गठबन्धनबाट हुन नसक्ने उहाँले दाबी गर्नुभयो । राष्ट्र विचारधाराले बनाउने भएकोले त्यो गठबन्धनबाट सम्भव नहुने उहाँको धारणा छ । ‘राष्ट्र जोड्ने भनेको विचारधाराले जोड् छ, राष्ट्र बनाउने भनेको नीति र कार्यक्रमको आधारमा बन्छ, गठबन्धनका आधारमा होइन’, उहाँले भन्नुभयो ।
अहिले नेपाली राजनीति विचार र अवसरको द्वन्द्वमा फसेको उहाँले बताउनुभयो । अवसरको लागि गठबन्धनको राजनीति मौलाएको उहाँको भनाइ छ ।
नेपालका राजनीतिक दल अब नीतिका आधारमा एक भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरेलले माओवादी, एकीकृत समाजवादी र अन्य साना दललाई नीतिका आधारमा मन परेका दलसँग जोडिन आग्रह गर्नुभयो । ‘साना दलले अब आफ्ना नीतिलाई ठुला दल भित्र मर्ज गर्नै पर्छ, माओवादीको विचार कांग्रेसँग मिल्छ भने कांग्रेससँग जोडिनु पर्छ, एमालेसँग मिल्छ भने एमाले तिर जोडिनु पर्छ’, पोखरेलले भन्नुभयो ।
पोखरेलले गठबन्धनले नेतृत्व गर्दा मुलुकको अर्थतन्त्रमा कति फरक पर्छ भन्ने कुरा अहिले देखिएको बताउनुभयो । अहिले देश गम्भीर आर्थिक संकटमा परेको उहाँको भनाइ छ ।
कतै नेपाल श्रीलंकाको बाटो जाने हो कि भन्ने चिन्ता गलत नीति बोक्नेको कारण जागेको उहाँले बताउनुभयो । गलत नीति बोक्नेलाई आउने चुनावमा हराइदिने हो भने नेपाललाई श्रीलंका हुनबाट जागउन सकिने उहाँले दाबी गर्नुभयो । त्यो शक्ति नेपालमा नै रहेको उहाँले प्रष्ट पार्नुभयो ।
विदेशमा बसेर काम गर्ने नेपालीलाई नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउने काममा लाग्न पोखरेलले आग्रह गर्नुभयो । विदेशमा रहेर राष्ट्र निर्माण गर्न नेपालमा लगानी गर्न र विदेशीलाई समेत लगानीमा प्रोत्साहन गर्न उहाँले सुझाव दिनुभयो । विकासोन्मुख मुलुक लगानीको हिसाबले नाफा हुने क्षेत्र भएकोले नेपाल त्यसको लागि उपयुक्त भूमि भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष भमनब पोखरेललगायतका नेताहरुले पनि आफ्नो धारणा राख्नुभएको थियो ।