चौतर्फी दबाबपछि अर्थमन्त्री राजीनामा दिन तयार



हाम्रो इकोनोमि

 

 

बजेट निर्माणमा भएको अनियमितता प्रकरणलाई यत्तिकै सामसुम पार्ने प्रयास असफल भएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चर्को दबाब परेको छ । उनले आफूमाथि उठेका प्रश्नहरुको आज संसदमा जवाफ दिने तयारी गरेका छन् ।

आजै बिहान माओवादीका शीर्ष नेता सम्मिलित बैठक अर्थमन्त्रीकै विषयमा केन्द्रित थियो । उक्त बैठकमा अर्थमन्त्रीले राजीनामा गर्ने संकेत गरेनन् । बैठकमा कुनै गल्ती नै नगरेकाले अर्थमन्त्रीले राजीनामा दिइरहनुनपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए । प्रतिपक्षी एमालेसँग छलफल गरेर संसदीय छानबिन समितिसम्म निर्माण गर्ने आफूहरूको बटमलाइन रहेको प्रचण्डले बताएका थिए ।

तर, छानबिन समिति बनाएर मात्रै अर्थमन्त्री जोगिनेवाला छैनन् । यस्तो समितिलाई काम गर्ने वातावरण बनाउनका लागि पहिलो सर्त भनेकै अर्थमन्त्रीलाई पदबाट निलम्बन हो । शर्मालाई अर्थमन्त्रीको कुर्सीमै राखेर छानबिनका लागि प्रतिपक्षी दल एमाले तयार हुने देखिँदैन ।

अर्कोतर्फ अर्थसचिव मधुकुमार मरासिनीले बिदामा बसेर अर्थमन्त्रीमाथि अर्को दबाब थपेका छन् । यसले अर्थमन्त्रीका क्रियाकलापसँग अर्थसचिव नै असन्तुष्ट रहेको सन्देश गएको छ । अर्थसचिवले व्यक्तिगत समस्या देखाएर बिदा लिएको भए पनि ‘स्याल कराउने र कुखुरा हराउने’ जस्तो संयोग मात्र यो होइन ।

बालुवाटारको दबाब

चर्को जनदबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर वातावरणलाई सहज बनाउन सुझाव दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल, आफ्नै पार्टीका शीर्ष नेताहरू र नागरिक समाजबाट चर्को दबाब बढ्दै गएपछि निकासको बिकल्प अर्थमन्त्रीको बहिर्गमन नै रहेको देउवाको निष्कर्ष रहेको स्रोतले बतायो । यसैबीच अर्थमन्त्री शर्माले राजीनामा दिने सम्भावना रहेको पनि स्रोतले बताएको छ । ‘आज प्रतिनिधिसभामा सम्बोधन गरेर छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गर्नसक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।

अहिले बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले सम्बोधन गर्ने तयारी गरेका थिए । अर्थमन्त्री संसद भवनभित्र प्रवेश पनि गरिसकेका थिए । तर, बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...