प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको अफर, कांग्रेसमा खैलाबैला



 

 

सत्ता गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पालैपालो कांग्रेसलाई हच्काउने किसिमका अभिव्यक्ति दिएपछि सत्ता राजनीतिमा खैलाबैला मच्चिएको छ । प्रचण्डले कांग्रेसलाई पनि एमालेको जस्तै हालतमा पुर्‍याइदिने धम्कीमात्र दिएनन्, गठबन्धन टुटाउन आफूलाई प्रधानमन्त्रीको अफर आएको बताए ।

त्यसलगत्तै माधव नेपालले पनि आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको भन्दै तत्काल एमालेसँग नमिल्ने र प्रधानमन्त्रीको प्रलोभनमा नफस्ने अभिव्यक्ति दिए । चुनावलगत्तै दुई वामपन्थी नेताबाट आएको अभिव्यक्तिमा कांग्रेसले कुनै प्रतिक्रिया दिइसकेको छैन । तर, गठबन्धनमा बार्गेनिङ सुरु भएको भने प्रस्ट देखिन्छ ।

चुनावी गठबन्धनबाट कांग्रेसले फाइदा लिएको दाबी अन्य दलहरुको छ । जबकि कांग्रेस भने आफूहरुको सहयोगबाट अरुले यतिका सिट जित्न सकेको निष्कर्षमा छ । यथार्थ चाहिँ गठबन्धनबाट तुलनात्मक रुपमा जनता समाजवादी पार्टीबाहेक अन्य चारवटै पार्टीले गच्छेअनुसार लाभ लिएका छन् । उनीहरुले जितेका सिटमा गठबन्धनको कम्तिमा ५० देखि ६० प्रतिशत सहयोग छ ।

गठबन्धनसँगको प्रतिस्पर्धामा विगतका भन्दा ८९ पालिका प्रमुख गुमाएको एमालेले साँच्चिकै फेरि वाम गठबन्धनको पासा फालेको हो त ? के आफैबाट अलग्गिएका प्रचण्ड र माधव नेपाललाई केपी अ‍ोलीले प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् ? प्रचण्ड-माधवले अमूर्त रुपमा यो कुरा उठाए पनि एमालेको अनौपचारिक स्रोतबाट यसको पुष्टि भएको छैन ।

प्रचण्ड-माधवको अभिव्यक्तिबारे सोध्दा एमालेका एक नेताले यसो भने- गाउँघरतिर व्यंग्यात्मक उक्ति छ ‘मलाई समाउने भए समाऊ नत्र फलानोलाई कुट्छु’ अहिले प्रचण्ड-माधव त्यही शैली अपनाउन थालेका छन् । एमालेले उनीहरुलाई पुछोस् कि नपुछोस् मतलब छैन । तर, प्रधानमन्त्रीको अफर आयो भन्दै आफै प्रचार गरेर कांग्रेसलाई तर्साउन खोजिरहेका छन् । यो भनेको त्यही उक्ति जस्तै हामीलाई भाग दिने भए देऊ नत्र एमालेतिर जान्छौं ।

स्वाभाविक रुपमा एमाले अहिलेको गठबन्धन टुटाउन चाहन्छ भन्ने प्रस्ट छ । कम्तिमा चुनावी गठबन्धन नहोस् र एक्लाएक्लै प्रतिस्पर्धा होस् भन्ने एमालेको चाहना थियो । तर, स्थानीय चुनावमा उसको चाहनाविपरीत धेरै ठाउँमा गठबन्धन भयो । गठबन्धनकै कारण एमालेले कम्तिमा एक सय पालिका हारेको यथार्थ हो । तर, एमाले प्रचण्ड-माधवलाई प्रधानमन्त्रीकै अफर गर्ने ठाउँमा पुगिसकेको छैन ।

पहिलो कुरा त अहिलेको सरकार संविधानको धारा ७६ (५) बमोजिम सर्वोच्च अदालतको परमादेशबाट बनेकाले यो सरकार ढालेर अर्को प्रधानमन्त्री बन्ने कुरामा संवैधानिक विवाद छ । दोस्रो कुरा कांग्रेस छाडेर प्रचण्ड-माधव एमालेतिर लाग्ने अवस्था पनि बनिसकेको छैन । यो भनेकाे एकले अर्कोलाई दबाबमा राख्ने रणनीतिमात्र हो ।

के भन्छ एमाले ?

सत्ता राजनीतिमा एमाले अध्यक्ष केपी ओलीको तर्फबाट कार्ड खेल्न सिपालु मानिने उपाध्यक्ष विष्णु पौडेल ५ वर्षअघि एमाले-माओवादी मिलाउने प्रमुख सूत्रधार थिए । के यसपटक पनि चुनावी नतिजा कमजोर बनेसँगै पौडेल वाम गठबन्धनमा सक्रिय भएका हुन् ? यसबारे प्रश्न गर्दा पौडेलले ठाडै अस्वीकार गरे ।

उनले दक्षिणपन्थको घोडामा सवार भएका प्रचण्ड-माधवको यात्रामा एमाले बाधक नबन्ने भन्दै जहाँसम्म पुग्न चाहेका हुन्, उनीहरुलाई त्यहाँसम्म पुग्न दिनुपर्ने पक्षमा आफूहरु रहेको बताए । उनले अहिले वाम गठबन्धन वा प्रधानमन्त्रीको अफर गरेको भन्ने हल्ला माओवादी र नेकपा एस आफैले चलाएको दाबी गरे ।

आफूले आफैलाई प्रधानमन्त्री अफर गर्ने र एमालेले गरेको भनेर ‘रेडिमेड स्क्रिप्ट’ मिडियाबाजी गर्ने काम भइरहेको भन्दै एमालेले प्रचण्ड-माधवका दाबी खारेज गरेको छ । पौडेलले कुरा गर्दै एमालेबाट कुनै प्रस्ताव अनौपचारिक रुपमा पनि नगएको र निकट भविष्यमा त्यो सम्भावना पनि नरहेको बताए ।

पौडेलले भने- एमालेले प्रचण्ड-माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरुको प्रस्ताव त हामीले अस्वीकार गरेका हौं भने अहिले एमालेले उहाँहरुलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन । एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजीमात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौं ।

आउने प्रदेश र संघीय चुनावमा कांग्रेससँग बढीभन्दा बढी सिट बार्गेनिङ गर्न प्रचण्डले विभिन्न ढंगले धम्क्याउने र एमाले देखाएर तर्साउने प्रयास गरिरहेको पौडेलको दावी छ । एमसीसी विवादका बेला प्रचण्डले अ‍ोलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दासमेत अस्वीकार गरेको एमालेले अरुलाई प्रस्ताव पठाउने कुरा सम्भव नै नभएको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ