अर्थमन्त्रीको अबैध धन्दा पर्दाफास



हाम्रो इकोनोमि

 

 

अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए ।

यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् भन्ने बुझिएकाले थप अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतको भनाइ छ । अवैध अर्थोपार्जन गर्ने उद्देश्यले संगठित गिरोह बनाई नेपालमा प्रतिबन्धित भारु ल्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो । ‘प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएको थियो ।

गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ फेला परेको हो,’ सीआईबीले उठाएको मुचुल्कामा भनिएको छ, ‘त्यस्तै अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो ।’ यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थिए ।प्रहरी स्रोतका अनुसार ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । त्यतिबेला पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाह पनि थिए । तर, पछि शक्तिको बलमा कमजोर फाइल बनाई अभियुक्तहरूलाई उन्मुक्ति दिइएको थियो ।

तर त्यो भारु काण्डदेखि यो डलर काण्डका बीचमा उनी अरु पनि शंकास्पद कारोबारमा मुछिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्रोत भन्छ, ‘बीचमा पनि उनीमाथि छानबिन भएको थियो किनकि त्यो बेला पनि ५० करोडभन्दा धेरै रकम उनको खातामा आएको थियो, यो रकमबारे प्रहरीको सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका थिए । तर उनले शक्ति प्रयोग गराएर रकम उम्क्याए ।

’सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘पटक–पटक शंकास्पद रकम आउँदा पनि रकम छुटाउन सक्ने गरी उनको पछाडि को छ ? यसको मतलब उनी प्रयोग मात्र भएका हुन्, रकम अरू कसैको हो भन्ने पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।’कारोबारी शाहको पृष्ठभूमिले नै अर्थमन्त्री जनार्दन शर्माको दाबीलाई खण्डित गरेको छ । शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्माको भनाइ थियो, ‘राज्य, सरकार, मन्त्री भएपछि मलाई मर्का पर्‍यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन् ।

अन्याय पर्‍यो भने बोली दिने काम हाम्रो होइन ?’ शर्माले भने जस्तै शाह सोझासिधा व्यवसायी होइनन्, बरु नोटको अवैध कारोबार गर्ने गिरोहका सदस्य हुन् भन्ने प्रहरीकै फाइलले देखाएको छ । नेपाल वा अन्य देशमा भ्रष्टाचार, कर छली वा अन्य गैरकानुनी क्रियाकलापबाट सिर्जना भएको रकम शुद्धीकरणका लागि शाहका नामबाट आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । उता अमेरिकाको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले यो रकम तत्काल जफत गर्न र अमेरिका फिर्ता पठाउन राष्ट्र बैंकलाई ताकेता गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...