एमसीसी पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध जानुपर्छ : विप्लव



हाम्रो इकोनोमि

 

 

 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेद्वारी दिन आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले संसदीय व्यवस्था संकटग्रस्त भएको बताउनुभयो । जनआन्दोलन दिवसको अवसरमा आज भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्नुभयो ।

‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन’, उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो । देशलाई टाट पल्टाउने व्यवस्था हो । जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ ।’ जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि जरुर २४ चैत आउने उहाँले बताउनुभयो ।

राजसंस्थाविरुद्ध नेपालमा २४ चैत २०६२ मा जनआन्दोलन सुरु भएको थियो । १९ दिन चलेको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याएको थियो । संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उहाँले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताउनुभयो । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उहाँले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताउनुभयो ।

‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ । व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ’, उहाँले थप्नुभयो । २०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र बैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गर्नुपर्ने उहाँले सुनाउनुभयो । ‘हामी चुनौती दिन चाहन्छौँ । व्यवस्थाको चुनाव गरेर देखाउ । हामी त्यो चुनावमा लड्न तयार छौँ । भाग लिन तयार छौँ’, उहाँले भन्नुभयो ।

‘संसदीय व्यवस्थाको चुनाव लुटेराको चुनाव हो । ठेकेदारको चुनाव हो’, उहाँले थप्नुभयो, ‘दलाल पुँजीपति वर्गहरु संसदीय व्यवस्थामा कालो धन थुपार्छन् र त्यही कालो धनको बलमा फेरि चुनाव जित्छन् ।’ कांग्रेस, एमाले र माओवादी केन्द्रको अक्षमताका कारण देशमा चरम महंगी बढेको र आर्थिक संकट निम्तिन लागेको उहाँले बताउनुभयो । त्यस्तै, एमसिसी परियोजना ल्याएर दलहरुले देश नै बेच्न लागेको उहाँले आरोप लगाउनुभयो । दुई वर्षको प्रतिबन्धमा नेकपाले १२ जना नेता गुमाउनुपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...