प्रचण्डमाथि सूर्य थापाको व्याग्य : हामीलाई धेरै दुःख छ बरै !
जनयुद्ध’मा १७ हजार नागरिकको संहार गरेर त आएको हो । करीब तीन करोडमा यो कुन ठूलो संख्या हो ? मैले ५ हजारको जिम्मजमानी लिइसकें । तै पनि मैले शान्तिका कुरा गर्दा मानिसहरू किन हाँस्ने ? यसपालि फागुन १ गतेको जनयुद्ध दिवस म, देउवाजी र माधवजीले न्यायालयमाथि छापामार हमला गरेर मनाएको संकेत बुझ्नुपर्ने होइन ?
म केवल ३३ वर्षदेखि महामन्त्री र अध्यक्ष भई पार्टीको मूल नेतृत्वमा बिराजमान छु । शाहहरूले २४० वर्ष राष्ट्रप्रमुख, राणाहरूले १०४ वर्ष सरकारप्रमुख र मोहनविक्रमजीले ‘सामाजिक शिक्षा’ विषयमा कारबाही पर्दासमेत गरी ४७ वर्षदेखि निरन्तर कम्युनिस्ट पार्टीको महामन्त्री सम्हालिरहनुभएको छ । मैले त अध्यक्ष, महामन्त्री र महासचिव गरी जम्मा जम्मी ३३ बर्ष मात्रै त हो ।
अनि मैले जनवाद र लोकतन्त्रका भाषण गर्दा नपत्याउनु ? अस्ति भर्खर आठौं महाधिवेशनमा लोकतन्त्रको सुन्दर अभ्यास गरेर फेरी आफै सर्वसम्मत भएको छु । ओली चितवनमा सर्वसम्मत हुनसके ? सकेनन् नि ! म त सम्मेलन भन्दै भन्दै झ्याप्प महाधिवेशन गरेर सर्वसम्मत भएँ । यो महान् छलाङसम्म नबुझ्ने कस्ता साथीहरू ?
अहिले ठेकेदार शारदाप्रसादको रामझुपडीमा र यसअघि सुमार्गीजीका आफन्तको सौजन्यमा निःशुल्क भाडामा बसेर सादा जीवन बिताएको छु । मैले उच्च क्रान्तिकारी भाषण गर्दै हिड्दा किन कर्णप्रिय मानेर नसुनी नुवाकोट र नगरकोटको बाटोको ठेक्का लिएर काम नगर्ने ठेकेदारको डेरावाला भनेर उडाउने ? यसो गर्न मिल्छ ?
मेरो परिवारका सबै सदस्य– छोरी, ज्वाइँ र बुहारीलाई एकएक वटा राजकीय नियुक्ति र जिम्मेवारी मात्रै त दिएको हो, विरोधीहरूले त्यसलाई दाहालतन्त्र भनी बेकारमा खेदो खन्ने गर्छन्, जनयुद्ध मेरो नेतृत्वमा भएको हो, जसको नीति उसको नेतृत्व र मौरी काढ्नेले नै मह चाट्छ भन्ने पनि नबुझ्ने ?
उत्तर कोरियामा किम इल सुङले कान्तिको नेतृत्व गर्नुभयो,आज नातिले राष्ट्रपति र महान् नेता भएर नेतृत्व गरिरहेका छन् । प्रकाश गइहाले, नत्र यहाँ पार्टीको भावी नेतृत्व उनैले सम्हाल्न सक्ने प्रचूर सम्भावना देखिरहेको थिएँ ।
हामीले राजतन्त्र फालेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रमा बिना मन्त्री नभएर हिमानी त हुने होइन नि ! हाम्रो यति सुन्दर अभ्यासको पनि साथीहरूले प्रशंसा नगर्ने ?
एमसीसी संझौता २०७४ मा देउवाजीलाई मैले प्रधानमन्त्री बनाएपछि महराले वार्ता गरी टुंग्याएर हाम्रै सल्लाहमा ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सही गरेको हो । अहिले फेरि ओलीलाई हटाएर मैले देउवाजीलाई नै प्रधानमन्त्री बनाएपछि ४–५ महिनाभित्र संसदबाट अनुमोदन गराउने भनी लिखित कबुलियतनामा पठाएको हो ! मने, त्यसबापत हामीले के पाउने हो ? यतिका समय लिंदा पनि कुरा प्रष्ट नभनिदिएपछि यहाँ राँके जुलुस निकाल्न र बिरोध गर्न त मैले नै लगाएको हो ! जनताको भावनालाई बुझ्ने म जस्तो अत्यन्त भावुक र विशेष संवेदनशील नेतृत्वलाई उल्टै प्रहार गर्ने ? युद्ध अपराधमा कारबाही नगर्ने भनी अमेरिकीहरूले हामीलाई लिखित कबुल गर्नुपर्दैन त ?
सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशले त गठबन्धनको लाचार छायाँजस्तै बनेर पो काम गर्नुपर्छ । हामीले जे–जे भन्छौं, परमादेशजस्तै सो–सो पो फैसला गरिदिनुपर्छ । ‘मैले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र माधवजीले आफ्ना मावली ईश्वर खतिवडा’लाई भावी प्रधानन्यायाधीशको लाइनमा राख्ने, त्यसका लागि चोलेन्द्र श्रीमानले राजीनामा दिने वा घरविदामा बस्ने मात्र त भनेको हो, त्यति पनि नमानेपछि अदालतमा अराजकता, विकृति र बेथिति बढाएको दोषमा उनीमाथि महाअभियोग दर्ता गर्नु परेन ? यसका निम्ति देउवाजीलाई शनिबार कुन दुःखले मनाइएको छ भनेर नबुझिदिने ?
हामी (मोहनजीसमेत)ले जीवनभरि कम्युनिष्ट पार्टीको पसल थापेर अहिले देउवाजीको नेतृत्वमा समाजवादको आधार तयार गर्ने क्रान्तिकारी काम गरिरहेको सामान्य कुरा समेत नबुझ्ने हो त ? यति कुरा पनि नबुझेकाहरूले के राजनीति गर्नु ? कति मेहेनतले यसमा माधवजी, झलजी, विक्रमजी, केसीजी र दुर्गाजीहरूलाई समेत सहमत गराइएको छ । हामीले सकेनौं र सक्दैनौं, ओलीलाई त दिनै भएन, उनी हामीले भनेभन्दा भिन्न देश बनाउने प्रतिगमनको बाटोमा पो लागे ! अब तपाईंले हाम्रो नेतृत्व गरेर कम्युनिस्ट सत्ता र समाजवादचाहिं ल्याउनैपर्यो भनेर देउवाजीलाई सहमत गराएर सात महिनादेखि उहाँको छत्रछाँयामा हामी छौं ! यस तथ्यको आधारमा सत्यमा पुग्न नसक्ने पनि वामपन्थीहरू हुन्छन् ?
अब अग्निप्रसादजीले एमसीसी प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ । ओलीलाई सताउन र असफल बनाउन उहाँहरू (महरा र अग्निजी)ले विशेष जिम्मेवारी पूरा गरिसक्नुभयो । देउवाजीलाई तर्साएर महाअभियोग दर्ता गर्ने ठाउँमा ल्याउन पनि सफल भूमिका खेलिसक्नुभयो, यसको पार्टीले उच्च मूल्यांकन गर्दै दीपक कार्की नेतृत्वको सर्वोच्चबाट युद्धकालीन विचाराधीन मुद्दामा उन्मुक्ति र सफाइ दिलाउने फैसला छिटोभन्दा छिटो गराइने छ ।
तर अब एमसीसी ओलीले भोट हालेर पारित गराइदिनुपर्छ, त्यसका निम्ति म सानो बनेर बालकोट जान पनि तयारै छु । राजनीतिमा यस्तो गर्न सक्नुपर्छ । अनि देउवाजीले उहाँको नेतृत्वको गठबन्धन कायम राखी चुनावमा लगेर हामीलाई जिताउने जिम्मेवारी पनि पूरा गर्नुपर्छ । नत्र त हामी न क्रान्तिकारी रहन्छौ न त चुनाव जितेर संसदमा आउनसक्ने अवस्थामै छौं । उहाँहरू दुबैजनाले त्यसो नगरे त हामी चुनावमा जाँदैनौं, फेरि जंगल जान्छौं । यसपाली जंगल जाँदा माधवजी र विक्रमजीसहित उहाँहरूका सबैलाई साथमै लैजाने कोशिस गर्छौं ! अनि हेर्नुहोला !!