नारायणहिटी संग्रहालयका जीर्ण संरचनालाई मर्मत सम्भार गर्न मन्त्री आलेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन्। बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन्।
संग्रहालय अवलोकनपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री आलेले संग्रहालयभित्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखिएकाले तुरून्त मर्मत गरी सुचारू गर्न निर्देशन दिएको बताए। त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए।
त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरूलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए। उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन्।
उनले विगतमा संग्रहालय परिसरभित्र क्याफेटेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचना भत्काइसकिएको बताए।
संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे। बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए।