सभामुख हटाउने यस्तो छ संसदको अकंगणित



 

 

सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन भित्री तयारीहरु भइरहेका छन् । उनलाई हटाउन नेकपा एमालेले केही महिनायता गृहकार्य गर्दै आएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पत्र लेखेर पदमुक्तको सूचना टाँस नगरेकोमा एमालेले संसद अवरोध गर्दै आएको छ । उसले एमाले विभाजनमा सभामुखले भूमिका खेलेको आरोप लगाउने गरेको छ । एमालेका प्रभावशाली नेताहरुले सापकोटाको बर्हिगमनको माग गर्दै आएका छन् ।

अहिले एमसीसीको विषय आउँदा एमालेले सभामुख सापकोटा हटाउने उपयुक्त अवसर देखेको छ । एमालेले सापकोटालाई हटाउन तयार भएमा एमसीसीको पक्षमा मतदान गर्ने सन्देश प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुर्याइसकेको छ । सभामुख सापकोटा पनि एमसीसीप्रति सकारात्मक छैनन् । उनले विगतमै एमसीसीबारे गठबन्धन दलबीच सहमति वा राष्ट्रिय सहमतिमा जोड दिदै बोलिसकेका छन् । सहमति नबने सभामुख सापकोटाले एमसीसी टेबुल नगर्ने सम्भावना पनि छ । यसले सभामुखमाथि नै प्रहार हुन सक्छ ।

संविधान अनुसार कुनै सांसदले एक चौथाई सांसदको समर्थनमा सभामुखलाई हटाउने प्रस्ताव ल्याउनसक्ने व्यवस्था छ । सभामुखले पद अनुकूल आचरण नगरेको भन्दै यस्तो प्रस्ताव आउन सक्छ । प्रतिनिधि सभा नियमावलीमा त्यस्तो ‘प्रस्ताव प्राप्त भएपछि सचिवले सो प्रस्ताव सभामुखको विरुद्ध भए उपसभामुखसमक्ष, उपसभामुखको विरुद्ध भए सभामुखसमक्ष र सभामुख तथा उपसभामुख दुवैउपर एकसाथ प्राप्त भए अध्यक्षता गर्न मनोनित व्यक्ति मध्येको ज्येष्ठ सदस्यसमक्ष पेश गर्नेछ । त्यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुनेगरी दिन र समय तोकिनेछ ।’

सभामुख सापकोटाविरुद्ध प्रस्ताव पेश भएमा जेष्ठ सदस्य महेन्द्र राय यादवसमक्ष हुनेछ । उनी जसपाबाट मन्त्री समेत छन् । संसदमा २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल छन् । एक तिहाई सदस्य नेकपा एमालेको मात्र छ । एमालेबाहेकका दलले सभामुख हटाउन प्रस्ताव पेश गर्दा अन्य दलसँग मिल्नुपर्ने हुन्छ ।

प्रस्ताव पेश भएपछि पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ । दुई तिहाई पुग्न सजिलो छैन । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् । सभामुखले पनि हटाउने प्रस्तावमा छलफल र मतदान गर्न पाउने व्यवस्था भएकाले २६५ बहाल सांसद मानिन्छ ।

एमाले र काँग्रेस मिल्दा १५८ सांसद संख्या हुन्छ । थप १९ सांसदका लागि जसपाको जोड्दा पनि १ सांसद अपुग हुन्छ । लोसपाको समर्थन मात्र प्राप्त भएमा ६ सांसद अपुग हुन्छ । एमसीसीकै मुद्दाले सभामुख सापकोटा हटाउने प्रस्ताव आउन सक्छ । तर, सभामुख हटाउन सकिने अवस्था बनेमा मात्र त्यो कदम चाल्ने तयारी हुन्छ ।

एमसीसीमा एमालेभित्र पनि विवाद छ । भीम रावल विपक्षमा उभिएका छन् । उनले एमसीसी पारित गराउन सभामुखविरुद्ध आउनसक्ने हटाउने प्रस्तावको पक्षमा जाने सम्भावना लगभग छैन । उनीनिकट केही सांसदहरुले पनि साथ नदिन सक्छन् । जसपाभित्र पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर विभाजित हुनसक्छन् । लोसपाभित्र भने सभामुख हटाउने प्रस्तावमा एकमत हुनसक्छ । एमालेभित्र एमसीसीविरोधी सांसद संख्या निकै कम भएमा, जसपा र लोसपाबाट पनि साथ मिलेमा भने सभामुख हटाउने प्रस्ताव आउने मात्र नभई पारित हुने सम्भावना पनि छ ।

संविधानमा व्यवस्था

संविधानको धारा २९९ को उपधारा ६ बमोजिम सभामुखले लिखित राजीनामा दिएमा, व्यवस्थापिका संसदमा निजको सदस्यता नरहेमा, पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा, मृत्यु भएमा पद रिक्त हुनेछ । सभामुखले पद अनुकूलको आचरण गरेको छैन भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्था छ ।

उपसभामुख नभएकाले अन्य कुनै सदस्यले गर्ने व्यवस्था छ । त्यस्तो प्रस्तावको छलफलमा सभामुखले भाग लिन र मत दिन पाउने व्यवस्था छ । सभामुखमाथि पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव पेश भएमा त्यस उपर साति दिनभित्र छलफल भई निर्णय लिंदा दुई तिहाईले पारित भए पदमुक्त हुने संवैधानिक व्यवस्था छ ।

संसदमा बहाल सांसद संख्या

नेकपा एमाले- ९७
नेपाली काँग्रेस- ६३ (२ निलम्बित)
नेकपा माओवादी केन्द्र ४८ (१ सभामुख)
नेकपा एस- २३
जसपा १९- (१ निलम्बित)
लोसपा- १३
राजमो- १
नेमकिपा- १
राप्रपा- १
स्वतन्त्र- १

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना