पञ्चदलीय गठबन्धनका नेताहरूका निम्ति अन्तिम रात्रिभोज हो : गोकुल बास्कोटा



 

 

नेकपा एमालेका नेता गोकुल बास्कोटाले हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचन प्रचण्ड, माधव नेपाल लगायत गठबन्धन दलका नेताहरुका निम्ति अन्तिम रात्रिभोज भएको बताएका छन् । एक रेडियो कार्यक्रममा कुरा गर्दै नेता बास्कोटाले भने, “हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचनको परिणामले प्रचण्ड, माधव नेपाल लगायत गठबन्धन दलका नेताहरुले खुसीयाली मनाए होलान्, स्याम्पेन फोडे होलान् तर त्यो उनीहरुका निम्ति अन्तिम रात्रिभोज हो । हिजो जनताले भोट हालेका होइनन् । पार्टी फुटाएर अपराध गर्नेहरुले दिएको धोकाधडीको नमुना हो । त्यो पानीको फोका हो । यसबाट नेकपा एमालेलाई धक्का लागेको होइन, उत्साह पैदा भएको छ । त्यत्रो ताकत लगाउँदा कम्तीमा एउटा सिट भए पनि जित्यो एमालेले ।”

माधव नेपालले घर भत्काएर सानो गोठ बनाएको उनको प्रतिक्रिया छ । उनले भने, “उनीहरुभित्रै गन्ड्याङगुन्डुङ भएको देख्नुभएन ? दरबारमा पठाएको गोरु राजा बन्दैन बरु दरबार गोठ बन्छ । एमालेले केही सिट हारेको कुरालाई लिएर दुन्दुभि बजाउनु आवश्यक छैन । भोलिका दिनमा यिनीहरु चरीनांगै हुन्छन् । एमालेले नक्कली राजनीति गर्दैन । जनतामा गएर एकल बहुमतको माग गर्छ ।”

स्थानीय निर्वाचन सार्ने षड्यन्त्र लोकतन्त्र मास्ने पञ्चदलीय प्रस्थानविन्दु भएको बास्कोटाको आरोप छ । उनले थपे, “हामीलाई के थाहा छ भने देउवा र लोकतन्त्र सँगै हिँड्न सक्दैनन् । उनले कांग्रेसलाई पनि भड्खालोमा हाल्दै छन् । देउवाको के कुरा गर्नु ? अब कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ । कांग्रेसले राष्ट्रियता त खाइसक्यो, अब लोकतन्त्रलाई पनि भड्खालोमा हाल्दै छ । शेरबहादुर देउवाले कति चोटि कलंकको टीका लगाउने ? पहिले दरबारमा बुझाउनुभयो, अब कहाँ लगेर बुझाउने ? हामीले कांग्रेससँग यसको जवाफ माग्छौं । झ्याउ, लेउ, च्याउसँग होइन ।”

लोकतन्त्रका खिलाफमा कानुन संशोधन गर्न खोजिएको उनले बताए । उनले भने, “वैशाखमा चुनाव भएन भने संविधान च्यातेको ठहर्छ । त्यसको सुरुवात गठबन्धनले गर्यो भने हामीले पनि किन संविधान मान्ने ? उहाँहरु थाहा नभएको गन्तव्यमा हिँडदै हुनुहुन्छ । यसबाट एमालेलाई केही घाटा हुँदैन ।”

स्थानीय तहको निर्वाचन समयमै भएन भने एमाले चुप लागेर नबस्ने उनको चेतावनी छ । बास्कोटाले भने, “एमालेको आह्रिस र कुण्ठाले लोकतन्त्रको हत्या गर्ने ? संविधान संशोधन या जे गरे पनि भोलि अदालतमा मुद्दा त परिहाल्छ । उनीहरुअवैध ढंगले सत्ता लम्बाउन खोजिरहेका छन् । म्याद सकिएको सत्ता स्वीकार्य हुन्छ र ? कांग्रेसभित्रै पनि यसको जवाफ खोजिन्छ, जनताले पनि खोज्नेछन् । एमाले पनि चुप लागेर या सुतेर बस्दैन ।”

चुनाव गर्छु भन्ने नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई प्रतिगामी भन्नु हास्यास्पद भएको बास्कोटाको टिप्पणी छ । उनले थपे, “कस्तो हास्यास्पद स्थिति छ भने चुनाव गर्छु भन्ने केपी ओलीलाई प्रतिगामी भनिरहेका छन्, चुनाव नगरीकन अवैध सत्ता लम्ब्याउनेले लोकतन्त्रको दुहाई दिइरहेका छन् । उनीहरु जनतामा जान डराइरहेका छन् । टीके प्रथा सुरु गर्न चाहन्छन् । शेरबहादुर देउवालाई अदालतले टीका लगाइदिएको होइन ? उनले जनतामा जाने हिम्मत गर्न सक्छन् ?”

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना