नेपालमै खुल्यो युनिसेक्स सैलुन



 

 

थुप्रै नेपाली युवाहरूको सपनाको देश हो अमेरिका। कोही पढाइ, कोही काम त कोही सुविधाको सपना देखेर बर्सेनि सयौं नेपाली अमेरिका पुग्छन्। त्यहाँ पुगिसकेपछि स्वदेश फर्केर केही गर्छु भन्ने कमै भेटिन्छन्।  तिनै कममध्येकी एक हुन् खुसी पाठक। छ वर्षअघि कामको सिलसिलामा उनी अमेरिका पुगेकी थिइन्। केही समय त्यहीँ काम पनि गरिन्। तर उनलाई अमेरिकाभन्दा नेपालकै मोह बढी भयो। अनि स्वदेशमै व्यवसाय गरेर बस्ने सोच आयो।

‘व्यवसायिक हिसाबले धेरैपटक अमेरिका पुगेँ। त्यहाँ बस्दा पनि स्वदेश फर्केर व्यवसाय गर्नुपर्छ भन्ने सोच्थेँ,’ खुसीले भनिन्, ‘बाहिर गएर जे व्यवसाय गरे, जति नै राम्रो काम गरे पनि कसैले चिन्दैन। जसलाई परिवार र समाज चाहिन्छ, उसका लागि आफ्नो देश नै सबभन्दा राम्रो हो।’

फर्केर उनी के गर्ने भन्ने अन्यौलमा थिइन्। उनको दिमागमा सैलुन चलाउने विचार आयो। ब्युटिपार्लरमा महिला सहभागिता र लगानी धेरै भए पनि सैलुनमा महिला सञ्चालक बढ्न सकेका छैनन्। यही सोचेर खुसीले युनिसेक्स (महिला र पुरुष दुवैका लागि) सैलुन खोल्ने निधो गरिन्।

 

‘धेरै पेसा अवलोकन गरेँ र सबभन्दा आत्मसन्तुष्टिको पेसा सैलुन नै लाग्यो। मलाई अरूलाई राम्रो बनाउन मनपर्छ। सैलुन भन्नासाथ अरूलाई खुसी बनाएर पैसा कमाउने पेसा हो भन्ने लाग्छ, उनले भनिन्।

अमेरिकाबाट फर्केको केही समयपछि उनले काठमाडौंमा ५० लाख रूपैयाँ लगानी गरी सैलुन खोलिन्। थापाथलीस्थित ब्लुबर्ड मलको भुँइतलामा छ उनको ‘ऐना युनिसेक्स सैलुन’। गत साउनबाट यो सैलुन आधिकारिक रूपमा सञ्चालनमा आएको हो।

एकैपटक ठूलो लगानीमा सैलुन खोलेकी उनी व्यावसायिक रूपमा यो पेसा सुरक्षित छ भनेरै सुरू गरेको बताउँछिन्। त्यसैले लगानीअनुसार प्रतिफल राम्रो हुनेमा विश्वस्त पनि छिन्।

उनी निर्धक्क साथ भन्छिन्, ‘काम त सबैले गर्छन् तर कसरी गर्ने भन्ने फरक कुरा हो। ऐनाले फरक तरिकाले सेवा दिएको छ। चुनौती नभएको होइन, ठूलो लगानी छ, केही ऋण पनि छ। तर सामना गर्छु भनेरै हात हालेकी छु। पक्कै पार गर्नेछु।’

यो व्यवसायका लागि खुसी अमेरिकाबाटै प्रेरित भएको बताउँछिन्। त्यसैले उनले सैलुनको साजसज्जा विदेशी शैलीमै गरेकी छिन्। विशेषगरी कपाल काट्ने, रंगरोगन, स्याहारदेखि फेसियल, मेकअप (साधारण र बेहुला-बेहुली), छाला तथा नङ स्याहार लगायतका सेवा ऐनाले दिन्छ। ललितपुर, इमाडोल घर भएकी उनले थापाथलीमा सैलुन खोल्नुको पनि कारण खुलाइन्।

‘काठमाडौं-ललितपुर हिडिरहँदा हरेक दिन दायाँबायाँ हेर्थेँ,’ खुसीले भनिन्, ‘राम्रो र आकर्षक सैलुन कहिल्यै देखिनँ। त्यसैले यो ठाउँमा पहिल्यैदेखि युनिसेक्स सैलुनको आवश्यकता दखेकी थिएँ।’

व्यवसायका लागि अर्को महत्वपूर्ण कुरा हो सवारीसाधन पार्किङ। सैलुनमा प्रायः केही समय खर्चिनुपर्छ। कुरेर बसुन्जेल सवारी पार्किङ गर्ने ठाउँ भएन भने कामै भएन! यिनै कुरा विचार गर्दा उनलाई थापाथलीको ब्लुबर्ड मल उपयुक्त ठाउँ लागेको हो।

ऐनामा खुसीबाहेक सात जना कर्मचारी छन्। लामो समय काम गरेका अनुभवी कर्मचारी र भारतबाट ‘हेयर मास्टर’ बोलाएको उनले जानकारी दिइन्। खुसीका अनुसार सैलुनमा प्रयोग हुने अधिकांश सामान उनले बेलायत, जर्मनी, भारत, अमेरिकालगायत मुलुकबाट ल्याउँछिन्।

सामान्य समयभन्दा विवाहका लगन भएका महिना र चाडपर्वमा खुसीलाई भ्याइनभ्याइ हुन्छ। यस्तो बेला धेरै ग्राहकलाई समय दिन नभ्याएको पनि उनले बताइन्।

ऐनामा आउने ग्राहक विशेषगरी थापाथली र आसपासका त्रिपुरेश्वर, कुपन्डोल लगायत ठाउँका हुन्छन्। उनले भनिन्, ‘नर्भिक अस्पतालका डाक्टर-नर्स पनि आउनुहुन्छ। यो ठाउँमा यो स्तरको सैलुन खोल्नुभएछ भन्दै धन्यवाद पनि दिनुहुन्छ।’

छोटो समयमै राम्रो प्रतिक्रिया पाएकामा खुसी दंग छिन्। ऐनाले जति सेवा दिने सैलुन वरपर नभएकाले नै कम समयमै राम्रो प्रचार भएको र ग्राहक बढेको उनको अनुभव छ। यहाँ काठमाडौं उपत्यकाका मात्र होइन बाहिरी जिल्लाबाट पनि सेवाग्राही आउने उनी बताउँछिन्।

खुसीका अनुसार उनलाई उपत्यकाभित्र र बाहिरबाट ऐनाका फ्रान्चाइज खोल्न अनुरोध पनि आइरहेको छ। तर उनले अहिल्यै यो सोच बनाएकी छैनन्। ब्रान्ड नामअनुसार सेवा दिन सकिने हो कि होइन भन्नेमा उनी ढुक्क छैनन्।

बरू नेपाल र अमेरिकामा पनि ऐनाको आफ्नै शाखा खोल्ने उनको सपना छ। त्यस्तै विस्तारै ऐना एकेडेमी सञ्चालन गर्ने योजना पनि बनाएकी छन्।

दोलखामा जन्मिएकी खुसी काठमाडौंमा पढेकी हुन्। सानैदेखि आत्मनिर्भर बन्न रूचाउने उनले १६ वर्षको उमेरदेखि जागिर सुरू गरेकी थिइन्। परिवारले भने पढाइमै ध्यान दिन भन्ने भएकाले पहिलोपटक झुटो बोलेर काम थालेको उनी बताउँछिन्।

 ‘पहिखुसी पाठक आफ्नो सैलुनमा। तस्बिर सौजन्यः खुसी पाठक

उनी सम्झिन्छिन्, पलोपटक अन्तर्वार्तामा जाँदा झुटो बोलेर गएँ। पछि बाबाले गाली नै गर्नुभयो। तर छनौट भएँ। त्यसपछि बाबाले नै अफिस गएर बुझ्नुभयो अनि अनुमति दिनुभयो।’

आस्था हेल्थ केयरमा मार्केटिङ कामबाट सुरू गरेर उनले कार्यालय सम्हाल्ने जिम्मेवारी पाएकी थिइन्। रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी खुसीले साढे चार वर्ष यती एयरलाइन्समा एयर होस्टेसका रूपमा पनि काम गरिन्। यसपछि खुसीको जागिरे यात्रा अपर ल्याप्चेखोला हाइड्रोपावर पुग्यो। त्यहाँ मानव संशाधन तथा प्रशासनिक व्यवस्थापकका रूपमा काम गरिन्।

नयाँ काम सिक्ने हुटहुटी भएकी खुसी अहिले छोटो समयमै सफल उद्यमीका रूपमा पहिचान बनाउँदैछिन्। उनी अरू महिलालाई पनि उद्यमी बन्न सुझाउँछिन्।

‘व्यवसाय के गर्ने भन्ने निधो गरेर थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ,’ खुसी भन्छिन्, ‘जोसँग जस्तो सीप र क्षमता छ त्यहीअनुसार केही न केही गर्नुहोस्। जति मेहनत र लगाव लगाउनुहुन्छ, त्यति नै सफल भइन्छ।’  सेतोपार्टीबाट साभार

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा ग्रीनकार्डधारीहरू पनि असुरक्षित

    अमेरिकामा रहेका अवैध आप्रवासीहरू यसअघि नै त्रसित छन्, अब त ग्रीनकार्डधारीहरू

चैत ४ मा एमाले सचिवालय बैठक

    नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.

पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य

    नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई

आन्दोलन गर्ने नेकपा एसको घोषणा

    नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पत्रकार सम्मेलन गरेर