अब पार्टीमा ६०-४० को धन्दा चल्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब पार्टीमा ६०-४० को धन्दा चलाउन नहुने बताएका छन् । एक टेलिभिजनसँग कुरा गर्दै महामन्त्री थापाले भने, “नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले ४० प्रतिशत मतको भागबन्डा नमाग्ने स्पष्ट भनिसक्नुभएको छ । तर हाम्रो पार्टीको विगत हेर्दा अहिलेका सभापति शेरबहादुर देउवा सुशील कोइरालासँग भाग मागेर बस्नुभयो । उहाँलाई पनि अर्को महाधिवेशनमा अर्को पराजित सभापतिले भाग मागेकै हो ।”
कांग्रेसका नवनिर्वाचित महामन्त्री थापाले थपे, “हामीले भागबन्डाबाट आजित भएर नै पार्टीभित्र जेहाद छेडेको हो । अब शेरबहादुर देउवा पनि ६० प्रतिशतको मात्र सभापति होइन । उहाँ सबैको सभापति हो । त्यसैले उहाँले गुटको भेला गर्नुभएन । शेखर कोइरालाले ४० प्रतिशतको धन्दा नचलाउने, गुटको बैठक नबोलाउने र गुटको आधारमा लेनदेन नगर्ने भनेपछि सभापतिले चाहिँ भागबन्डा तोड्न सक्नुहुन्छ कि हुन्न भन्ने नै अहिलेको प्रमुख कुरा हो । अबको हाम्रो काम विधानको शासन कायम गराउने हो । विधान सबैले अक्षरश मान्ने हो । सभापतिले सबैलाई जिम्मेवारी र न्याय दिनुपर्यो भन्ने हो ।”
पार्टी सभापतिमा देउवालाई सफल बनाउने आफ्नो इमानदार प्रयास रहने उनले बताए । उनले भने, “यो देउवाको लास्ट इनिङ हो । हामी उहाँलाई मदत पनि गछौंं, दबाब पनि दिन्छौं । अबको पहिलो काम वडादेखि केन्द्रसम्म भएका निर्वाचनमा लागेको घाउ पुर्ने हो । म मेरो जनीतिक लाइन ‘सम्पन्न नेपाली, सम्मानित नेपाली कार्यक्रम’ पार्टीमा प्रस्तुत गर्छु ।