देउवा-पौडेल र सिटौलाको आफ्नै टीम
सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षधर बीचमा स्पष्ट रूपमा विभाजन देखापरेको छ । महाधिवेशन सुरू हुन केही घण्टा बाँकी रहँदा पनि नेपाली कांग्रेसका दुवै पक्षमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने र त्यसैमा अडान कायम रहँदा दुवै पक्षमा स्पष्ट रुपमा विभाजन देखापरेको हो ।
कांग्रेस संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेदवारी लगभग सुनिश्चित भए पनि विगतमा सोही समूहबाट उपसभापति भएका विमलेन्द्र निधिले पनि सभापतिमा अडान नछाडेका कारण विभाजन देखापरेको हो । विगतमा देउवालाई सघाउँदै आएका निधिले सभापतिमा उम्मेदवारी दिने भन्दै नयाँबानेश्वर थापागाउँमा सम्पर्क कार्यालय स्थापना गरी सभापतिका लागि प्रयास गरिरहनु भएको छ । देउवाका आग्रहविपरीत पनि सभापतिमा दाबेदार गर्न निधिले नछाडेपछि संस्थापन पक्षधरका बीचमा स्पष्ट विभाजन देखापरेको हो ।
संस्थापन पक्षधरबाटै पूर्णबहादुर खडका, प्रकाशशरण महत र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि सो पदमा पनि एकरूपता हुन सकेको छैन । संस्थापन पक्षबाट सहमहामन्त्रीमा आधा दर्जनभन्दा बढीले दाबेदारी प्रस्तुत गरेपछि सो समूहमा सकस परेको छ ।
यता, संस्थापनइतर रामचन्द्र पौडेल समूहमा भने स्पष्ट रूपमा चिरा परेको छ । बिहीवार राति अबेरसम्म महामन्त्री शंशाक कोइरालाको निवासमा भएको छलफल पनि टुंगोमा नपुगेपछि विगतमा पौडेल समूह भनेर चिनिँदै आएको समूहमा चार जना सभापतिका उम्मेदवार भएका छन् । पौडेल स्वयंले सभापतिमा इच्छा व्यक्त गरे पनि सोही समूहमा महामन्त्री शशांकसहित प्रकाशमान सिंह, शेखर कोइरालाले पनि दाबी नछाडेपछि सो समूहमा स्पष्ट विभाजन देखापरेको छ ।
गत २० मंसिरदेखि एकजनामा सहमति जनाउने प्रयासका लागि पटक–पटक वार्ता र छलफल गरे पनि पौडेल समूहले अझैसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । सो समूहले साझा उम्मेदवार तय गर्न नसकेको असर बिहीबारको केन्द्रीय समिति बैठकमा पनि स्पष्ट रूपमा देखापरेको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा १३ औं महाधिवेशनवाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा पौडेल र सिंह दुवै उपस्थित भएनन् । कतिसम्म भने शंशाकले सभापतिको दाबीवाट ‘पछि हट्ने’ संकेत गरे पनि प्रकाशमान र शेखरले दाबी नछाडेपछि पौडेलले ‘सहमति नभए राजनीति नै छाडने’ बताएपछि सो समूहमा खैलाबैला भएको थियो ।
बिहीबार दिनभरको प्रकाशमान र शेखरलाई मिलाउने प्रयास असफल भएपछि साँझ शंशाक निवास महाराजगञ्जमा साझा उम्मेदवार तय गर्ने बारेमा पुनः छलफल भए पनि निष्कर्षमा सो समूह पुग्न सकेन । केन्द्रीय समितिमा नगएका प्रकाशमान किसुनजीको शालिकमा माल्यापर्ण गर्दै सभापतिको अडानमा आफू कायमै रहेको जनाउनु भयो भने शेखरले पनि सार्वजनिक रूपमा ‘एक पटक यसै पटक’ भन्दै सभापतिमा दाबेदारी नछाड्ने अडानमा कायमै रहेको सन्देश दिनुभयो ।
उता, कृष्ण सिटौला समूहमा पनि विभाजन देखापरेको छ । १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री भएका गगन थापाले प्रज्ञा भवनमा एक कार्यक्रम गरी एकल रूपमा महामन्त्रीको उम्मेदवारी रहेको घोषणा गर्नुभयो, जहाँ यसअघि थापाका सभापति उम्मेदवार सिटौला सहभागी हुनुभएन ।
बरु, हाललाई मौन बसेका सिटौलाले आफ्नो समूहबाट महामन्त्रीका उम्मेदवार प्रदिप पौडेल हुने संकेत गरेपछि सो समूहमा पनि विभाजन स्पष्ट रूपमा देखापरेको छ । विगतमा सिटौला समूहमा रहेका थापा यतिखेर प्रकाशमान सिंह निकटमा पुग्नुभएको छ । यो समिकरण काठमाडौं महाधिवेशनमा स्पष्ट रूपमा देखापरिसकेको छ । सिंह र थापाले प्यानल बनाएर महाधिवेशनमा मत माग्न सक्ने देखिएकाले कांग्रेसमा नयाँ प्यानल निमार्ण हुने सम्भावना पनि उत्तिकै देखिएको छ ।
तर, १४औं महाधिवेशनमा पुग्दा देउवा, पौडेल र सिटौला तीनै समूहमा विभाजन हुँदा नयाँ प्यानल बन्ने र सोही प्यानलमार्फत नयाँ नेतृत्व आउने सम्भावनालाई भने नजरअन्दाज गर्न सकिन्न ।


