अमेरिकाको चर्को दबाबपछि तनावमा चार पूर्व प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरु हुँदैछ । ४ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशन तयारीको लागि २४ घण्टा पनि बाँकी छैन । अर्कातिर काँग्रेसी प्रतिनिधिलाई चुनावी रौनक लागेको छ । महाधिवेशनस्थल वरपर ब्यानर र फ्लेक्स झुण्ड्याउने होडबाजी छ ।

नेतृत्वको मुख्य तीन वटा पक्षबीच कसरी अघि बढ्ने भन्नेबारे टुंगो लागेको छैन । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा विगतको तुलनामा यस पटक निकै दबाबमा देखिनुभएको छ । पार्टीभित्रको विपक्षी गठबन्धनले समेत तालमेलको चाँजोपाँजो मिलाउन सकेको छैन ।

यता, अमेरिकाको चर्को दबाबलाई स्वीकार्दै प्रधानमन्त्रीले मंसिर २८ गते संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गरिसक्नुभएको छ । आइतबारसम्म महाधिवेशनको रन्को र मंगलबारदेखि संसद अधिवेशनमा पेश हुने भनिएको अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले उहाँ थप दबाबमा रहनुभएको बालुवाटार निकट स्रोतले बताएको छ ।

कुनै छलफल र सल्लाह नै नगरी आह्वान भएको संसदको हिउँदे अधिवेशनले सत्ता गठबन्धनमा रहेका दलहरुबीच अविश्वासको वातावरण बनेको छ । जसरी पनि एमसीसी पारित गराउने लाइनमा रहनुभएका प्रधानमन्त्रीले एकाएक हाउस बोलाउनुलाई गठबन्धन दलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुले आफ्नै ढंगले अर्थ लगाउनुभएको बुझिएको छ ।

अमेरिकी पक्षले अनौपचारिक रुपमा दिएको मंसिर २९ गतेको समयसीमालाई लक्षित गर्दै बोलाइएको हाउस र सरकारको आगामी एजेण्डाबारे छलफल गर्न हिजो अपरान्ह माओवादी अध्यक्ष प्रचण्ड,जनता समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हिजो दिउँसो सिंहदरवारमा जुट्नुभएको हो । मूलतः एमसीसी सम्झौता पारित गराउने ढंगले प्रधानमन्त्रीले एकाएक हाउस बोलाएको उहाँहरुको निश्कर्ष रहेको बताइन्छ ।

तीन जना नेताको बैठकपछि त्यहाँबाट अध्यक्ष दाहाल हिजो साँझ सोझै बालुवाटार पुग्नुभएको थियो । उहाँले प्रधानमन्त्रीसँग संसदको अधिवेशन र सरकारको एजेण्डबारे प्रष्ट पार्न आग्रह गर्नुभएको बुझिएको छ । दाहालको आग्रहमा प्रधानमन्त्री देउवाले सोझो जवाफ नदिएको स्रोतले बताएको छ ।

एमसीसी जसरी पनि पारित गराउनुपर्ने पक्षमा प्रधानमन्त्री देउवा र उहाँको दल नेपाली काँग्रेस रहेको छ । त्यही लाइनमा विपक्षी दल एमाले समेत छ । तर, प्रचण्ड र नेपाल एमसीसी हुबहु पारित गर्न नसकिने लाइनमा हुनुुहुन्छ । डा. भट्टराईले सार्वजनिक रुपमा सम्झौताको पक्षमा वकालत गर्दै आउनुभएको छ । तर उहाँको पार्टीले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन । सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा पूर्णरुपमा विपक्षमा उभिएको छ ।

आफ्नो पार्टीको महाधिवेशन र एमसीसी अनुमोदनको निम्ति अमेरिकीहरुको डेडलाइनलाई राजनीतिक रुपमा उपयोग गर्ने ढंगले प्रधानमन्त्री देउवा अघि बढ्नुभएको गठबन्धनका नेताहरुको निचोड रहेको बताइन्छ । एमसीसी पारित भए अमेरिकी आशिर्वाद रहिरहने, पारित नभए त्यसको दोष दुई कम्युनिष्ट नेता प्रचण्ड र नेपालमाथि थोपर्न पाइने भएकाले उहाँले एकाएक हाउस बोलाउने निर्णय गर्नुभएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

अर्कोतर्फ प्रमुख विपक्षी एमाले समेत एमसीसीको पक्षमा रहेको छ । तर, अहिलेको अवस्थामा उसले आफ्नो भूमिका देखाउनै नपर्ने स्थिति बन्दै गएको छ । सामान्य बहुमतबाट पारित हुने सम्झौताको निम्ति दोष सबै सत्ता गठबन्धनतर्फ तेर्साउने रणनीतिमा एमाले बसेको स्पष्ट छ ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाभियोगको विषयमा पनि एमाले अध्यक्ष ओली आफूलाई अलग्गै राखेर प्रस्तुत हुँदै आउनुभएको छ । उहाँले आफूसँग मुश्किलले एक तिहाई बहुमत रहेकाले झण्डै दुई तिहाईको सरकारले धारणा क्लियर गरे मात्र आफूहरु अघि बढ्न सकिने एकोहोरो धारणा राख्दै आउनुएको छ । उहाँले एमसीसी सम्झौतामा पनि त्यहि रणनीति अख्तियार गरेको प्रष्ट छ ।

एमाले अध्यक्षको भनाइ छ, ‘सरकारमा हुँदा पारित गर्न खोजिएकै हो । दाहाल र नेपालले भाँजो हाले । अहिले उनीहरुकै सरकार छ । बहुमत पनि उनीहरुकै भएकाले हामीलाई त्यति धेरै चासो छैन ।’

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...