देउवासँग प्रचण्ड असन्तुष्ट, मन्त्री फिर्ता गर्ने धम्की
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । अध्यक्ष प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् ।
स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए । यति लामो समयसम्म सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् । उनले आजै विहान नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि यसबारे छलफल गरेका छन् । माओवादीका मन्त्री छान्नलाई प्रचण्डले जिम्मा पाइसकेकाले कुनै समस्या रहेको निकट स्रोतले जनाएको छ ।
दाहालले अध्यादेशलाई छिट्टै फिर्ता लिएर भए पनि अहिलेको अन्योलको ‘च्याप्टर क्लोज्ड’ गर्नुपर्ने बताउनुभएको स्रोतले बताएको छ । प्रधानमन्त्रीसामु दाहालले राख्नुभएको धारणा उद्धृत गर्दै स्रोत भन्छ, ‘अब सरकार बिस्तारमा धेरै दिन अल्मलिन भएन । यस्तै हो र दुई वा तीन दिनभित्र मन्त्रिमण्डल बिस्तार नभएमा हाम्रा दुई जना मन्त्री फिर्ता गर्छौं, तर सरकारलाई समर्थन भने गरिहने छौं ।’प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाक समेत गर्नुभएको थियो । दाहाल लगायत नेताले आफ्ना धारणा राखेपछि आज पनि प्रधानमन्त्रीले ‘पख्नुस्’ भन्नुभएको थियो । प्रधानमन्त्रीको “पख्नुस्”को रहस्य खोल्दै स्रोत भन्छ, ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’
ज्योतिषले ९० दिनको खड्गो कटाएपछि मन्त्रिमण्डल बिस्तार गर्दा हुने आशयको सुझाव दिएको चर्चा छ ।प्रधानमन्त्री ज्योतिषशास्त्रमा निकै विश्वास राख्नुहुन्छ । उहाँले राजनीतिक अप्ठेरो परेको बेला ज्योतिष देखाएर निर्णय गर्दै आउनुभएकाले पनि यसपटक समेत उक्त ‘तत्व’ ले काम गरेको हुनसक्छ यद्यपि भोलि पर्सि नै केही मन्त्री थपिने सम्भावना पनि उत्तिकै छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्ति शुक्रबार उक्त अध्यादेशको बारेमा एक किसिमले बोलिसकेकाले मन्त्रिमण्डल बिस्तारबारे आजै टुंग्याउनुपर्ने नेताहरुको माग थियो । तर प्रधानमन्त्री हिच्किचाएपछि उहाँहरु पनि अप्ठेरामा पर्नुभएको छ ।