प्रचण्ड र माधवबाट धोखा पाएपछि संकटमा देउवा सरकार



हाम्रो इकोनोमि

 

 

विगत केही समयदेखि चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनलाई लिएर सरकार सङ्कटमा परेको छ । नेपालले लिने कि नलिने भनेर लामो समयदेखि चर्चा-परिचर्चामा रहेको एमसीसी अब चाँडै नै अनुमोदनका लागि संसद्मा पेश गरिँदै छ । दुई वर्षअघि नै अनुमोदन भइ काम सुरु हुनुपर्ने एमसीसी अनुदान अहिलेसम्म विवादमा अल्झिएपछि अमेरिकी सरकारले दुई हप्ताअघि एमसीसीकी उपाध्यक्ष फतिमा सुमारलाई नेपाल पठाएको थियो । फतिमाले नेपालमा सबै दलका सबै मुख्य नेताहरूलाई भेटेकी थिइन् । नेताहरूबाट एमसीसी पास हुने आश्वासनसहित उनी गत हप्ता स्वदेश फर्किएकी छन् ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले फतिमालाई एमसीसी संसद्बाट पास हुने विश्वास दिलाउनुभएको छ । भेटघाटमा प्रधानमन्त्रीले आफू सुरुदेखि नै एमसीसीको पक्षमा रहेको र आफूले जसरी भए पनि पास गरेरै छोड्ने बताउनुभएको थियो । उपाध्यक्ष फतिमासँगको भेटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कालमै एमसीसी पास गर्न खोजेको तर त्यतिबेला आफ्नै दलमा रहेको एक समूहका कारण गर्न नसकेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो- ‘अहिले सरकारमा उहाँहरूको बहुमत छ । बहुमतले पारित गर्न सक्छ, उहाँहरूले नै सक्नुहुन्छ, हाम्रो आवश्यक्ता नै पर्दैन । यदि हाम्रो आवश्यक्ता पऱ्यो भने हामी धारणा बनाउछौँ ।’

माओवादी नेता प्रचण्डसँगको भेटमा भने फतिमाले फरक जवाफ प्राप्त गरेकी थिइन् । प्रचण्डको माग आफूहरूलाई अमेरिकाले आतङ्ककारीको सूचीबाट पूर्ण रूपमा हटाउनुपर्ने भन्ने थियो । आफू एमसीसीको पक्षमा रहेको तर पार्टीमा केही समस्याहरू मिलाउनुपर्ने भन्दै आफूहरूमाथि लागेको रेडकर्नर नोटिस र टेरोरिष्टको ट्यागका बारेमा चर्चा गर्नुभएको थियो । यी कुराहरू पूर्णतः हटेपछि आफूलाई एमसीसीको पक्ष लिन सहज हुने उहाँको भनाइ थियो ।

एमसीसी अनुमोदनका लागि संसदमा दर्ता भएपछि सडक र सदनमा ठुलो हङ्गामा हुने निश्चित झैँ देखिन्छ । संसदमा दर्ता हुने अवस्था आउन नदिन सडकमा खबरदारी गर्ने भनी विभिन्न समूहहरू एकत्रित भएका छन् । एमसीसीलाई लिएर मधेशी दल र नेताहरूले खासै प्रतिक्रिया दिएका छैनन् । दर्ता भएपछि मधेशी दलले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना छ । यता माओवादीका ४८ सांसदमध्ये बढीमा १२ जना मात्रै अनुमोदनको पक्षमा हुने र अरु सबै विपक्षमा रहने स्थिति छ । नेकपा एमालेभित्र ठुलो जनमत एमसीसीको विरुद्धमा छ । काङ्ग्रेस सरकारको नेतृत्वलाई सघाउ पुऱ्याउन एमालेले एमसीसी अनुमोदन गरिदिने विश्वास गर्न सक्ने ठाउँ देखिँदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा जानुअघि प्रचण्डलाई एमसीसीका सम्बन्धमा प्रष्ट हुन भन्नुभएको थियो । प्रचण्डले एमसीसी पास गर्ने आश्वासन दिएपछि काङ्ग्रेस सरकारमा गएको हो । तर अहिले प्रचण्डको धारणा बदलिएको छ । एमसीसी पास गर्न नहुने कुरामा प्रचण्ड माधन नेपाल दुवै प्रतिबद्ध देखिएका छन् । प्रचण्ड-माधवको धारणा नबदलिएमा काङ्ग्रेस-माओवादी-नेकपा समाजवादी गठबन्धन तोडिन सक्ने सम्भावना छ । एमसीसीकै कारण नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच निकटता बढ्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता केपी ओलीबीच सम्पर्क र सम्वादको प्रक्रिया सुरु भएको छ । नेपाली काङ्ग्रेस र देउवाको हकमा एमालेसँगको निकटता एमसीसी संसदबाट अनुमोदनका लागि र नेकपा एमाले र विशेषगरी नेता केपी ओलीलाई भने प्रचण्ड र माधव नेपाललाई ‘साइज’मा ल्याउनका लागि समझदारी बन्न सक्ने सम्भावना देखिन्छ ।

काङ्ग्रेस-एमाले निकटता बढ्दै गएको र काङ्ग्रेस-माओवादी-नेकपा समाजवादी गठबन्धन टुटेको अवस्थामा सरकार फेरबदलका केही सम्भावनाहरू देखिन्छ । पहिलो- काङ्ग्रेस एक्लैले सरकार चलाउने नेकपा एमालेले समर्थन दिने । दोश्रो- काङ्ग्रेसकै नेतृत्वमा एमाले सरकारमा सहभागी भइ संसद् विघटन गरेर निर्वाचनमा जाने । तेश्रो- केपी ओलीको नेतृत्वमा सरकार गठन हुने र काङ्ग्रेस सहभागी हुने । यसरी पूर्णता नै प्राप्त नगर्दै सरकार सङ्कटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...