लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द



हाम्रो इकोनोमि

 

 

सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ ।

यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ ।

कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।

यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि खुलाउने निर्णय गरेको छ । तर, काठमाडौं बाहेकका क्षेत्रका अधिकांश लाइसेन्स कार्यालयले अझै परीक्षा खुलाइसकेका छैनन् । विभागका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ३ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।

लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् । नियमित शैलीमा परीक्षा लिइरहेका छन् भने कतिपय कार्यालय परीक्षा फेरि सुरु गर्ने गृहकार्यमा छन् ।

काठमाडौंका चारवटै लाइसेन्स कार्यालयले परीक्षा लिन सुरु गरिसकेको यातायात व्यवस्था विभागमा महानिर्देशक नवराज घिमिरे बताउँछन् । ‘हेटौंडा कार्यालयले पनि सुरु गर्दैछ,’ उनी भन्छन्, ‘अरुले पनि परीक्षा सुरु गर्न मिति घोषणा गर्दैछन् ।’

उनले भनेअनुसार नै सबै कार्यालयले तत्कालै परीक्षा लिन सुरु गरेपनि आवेदन दिएका साढे ४ लाख जनाले कहिलेसम्म परीक्षा दिइसक्छन् भन्ने निश्चित छैन । यसले गर्दा लाइसेन्सको परीक्षाका लागि आवेदन दिन चाहनेहरु पनि मारमा पर्नेछन् । सम्बन्धित लाइसेन्स कार्यालयहरु हाल आवेदन दिएकाहरुले परीक्षा दिएपछि मात्रै नयाँ आवेदन लिने पक्षमा छन् ।

२०७६ चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो । कोभिड–१९ बाट सुरक्षित हुँदै २०७७ असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।

झण्डै २०७७ पुससम्म अनुमतिपत्र बन्द गरेर बल्ल खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो । त्यतिबेला अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समय (विहान ६ बजेपछि) मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै दिँदा अनलाइन सिस्टममा एकैपटक धेरै व्यक्ति आउँदा सिस्टम डाउन भएर धेरै सेवाग्राहीले फारम भर्न सकेका थिएनन् ।

त्यसैकारण सरकारले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गर्यो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो । त्यही अवस्थामा फेरि वैशाख १६ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो ।

लाइसेन्स कुर्ने ६ लाख

अब बन्द भएको आवेदन दिने प्रणाली असोज दोस्रो साताबाट खोल्न सकिने अपेक्षा गरिएको बताउँछन् महानिर्देशक घिमिरे । ‘अहिले जति पनि आवेदन दिएर परीक्षा कुरिरहनुभएको छ, उहाँहरुको चाप केही घटेपछि मात्रै नयाँ आवेदन पनि खुल्छ,’ घिमिरे भन्छन्, ‘त्यतिन्जेलसम्म आवेदन दिन चाहनेले कुर्नुपर्छ ।’

समस्या लाइसेन्सको आवेदन तथा परीक्षामा मात्रै छैन, परीक्षा पास भएर बसेकाहरुलाई लाइसेन्स छापेर दिने पक्षमा पनि उस्तै छ । यातायात व्यवस्था विभागमा अहिले लाइसेन्स परीक्षा पास गरेर र नवीकरणको प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेकाको संख्या ५ लाख ९२ हजार छ ।

तर, बिडम्बना के छ भने गत फागुनदेखि विभागमा नयाँ लाइसेन्सको छपाइ बन्द छ । विदेश जान अत्यावश्यक परेर पुग्नेबाहेक अरुको लाइसेन्स छाप्न छोडिएको छ । विभागमा स्मार्ट लाइसेन्स छाप्ने कार्डको मौज्दात नै छैन ।

स्मार्ट लाइसेन्स चिप्सयुक्त पोलिकार्बोनेट कार्डमा छपाइ हुन्छ । तर, सो कार्डको आपूर्तिमा विभागले ढिलाइ र लापरबाही गर्दा लाइसेन्सको परीक्षा नभएको समयमा समेत लाइसेन्स छाप्ने काम हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...