अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दुई वर्षयताकै उच्च बिन्दुमा हुँदा नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि चाप बढेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्यवृद्धिपछि पनि निगमको घाटा यथावत् छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनमा निगमलाई ६४ करोड ९७ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ । ‘हामीले नाफाका लागि इन्धनको भाउ बढाइरहेका छैनौँ, निरन्तर घाटामा छौँ,’ उनले भने, ‘घाटा रकम केही कम गर्नका लागि मूल्य बढाइएको हो ।’ नेपालमा बढ्दो मूल्यको पछाडि अन्तर्राष्ट्रिय बजार मुख्य कारण रहेको उनले बताए । आयल निगमलाई प्रत्येक १५ दिन (१ र १६ तारिख) मा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ खरिद दर पठाउने गरेको छ ।

यसपालि १६ जुन (२ असार) मा आइओसीले नयाँ मूल्य पठाएको थियो । त्यतिखेर नै साबिकको भन्दा पेट्रोल २.०५ रुपैयाँ र डिजेल २ रुपैयाँ प्रतिलिटर बढेर आएको थियो । जुन वेला आइओसीले निगमलाई नयाँ मूल्य बढाएको थियो, त्यतिवेला अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य स्थिर बस्ने वा सामान्य दरले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्ने संकेत देखेर निगमले त्यतिवेला मूल्य नबढाई राखेको थियो । तर, यो हप्ताको सुरुबाटै मूल्य उकालो लागेपछि आयल निगमले अर्कोपटक ठूलो दरले मूल्य बढाउन नसकिने आकलन गरी ‘बेमौसम’मा मूल्य बढाएको हो ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल अन्तर्राष्ट्रिय बजार हेरेर नेपाली बजारमा मूल्य विश्लेषण गरिदिन आग्रह गर्छन् । ‘तेलको मूल्य बढ्यो भनेर मात्र हुँदैन । हामीले किन्ने स्रोतमै मूल्यको चाप कस्तो छ, एकपटक सरोकारवालाले हेरिदिनुभयो भने हामीलाई सजिलो हुन्थ्यो,’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बुधबार साँझ ८ः३० मा ७५.७६ डलर प्रतिब्यारेल निर्धारण भएको थियो । यो मूल्य सोही दिन कारोबार सुरु भएको मूल्यको तुलनामा करिब २ डलर प्रतिब्यारेल महँगो हो । यसरी एकैदिन २ डलरले कच्चा तेलको भाउ बढ्दा त्यसको असर नेपाली बजारमा परेको पौडेल बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा अहिले कायम भएको मूल्य (७५.७६ डलर प्रतिब्यारेल) अढाई वर्षयताकै उच्च बिन्दु हो । करिब अढाई वर्षअघि चैत, ०७५ मा अन्तर्राष्ट्रिय बजारमा ७५ डलर प्रतिब्यारेल आसपास मूल्य कायम भएको थियो । त्यसयता निरन्तर भाउ घटेर पुनः उचाइ लिन थालेको हो ।  आयल निगगले यसअघि मूल्यवृद्धि गरेको २२ जेठको तुलनामा पनि हाल कायम भएको मूल्य ५ डलर प्रतिब्यारेल महँगो हो । २२ जेठमा समेत निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ बढाएको थियो । त्यसयता मूल्य निरन्तर उकालो लागेकाले नेपाली बजारमा समेत मूल्य बढाउन दबाब बढेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

‘हामीले मूल्य बढाए पनि नोक्सानीमै छौँ,’ उनले भने, ‘अहिलेको बिक्री मूल्यमा पेट्रोल ५.७५ रुपैयाँ, डिजेल ३.५३ रुपैयाँ प्रतिलिटर र ग्यास २ सय ५८ रुपैयाँ ७१ पैसा प्रतिसिलिन्डर घाटा छ ।’ घाटा बढेकै कारण केही दिनअघि ठूलो अन्तरले घटाएको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यसमेत बढाउनुपरेको उनले बताए । आयल निगमले २३ जेठ रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले भर्ने इन्धनमा १ सय ७८ डलर प्रतिकिलोलिटर घटाएर ७ सय १५ डलर प्रतिकिलोलिटर कायम गरेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाई अन्तर्राष्ट्रिय उडानसमेत थप गर्ने निर्णय गर्नासाथ निगमले पुनः हवाई इन्धनको मूल्य बढाउँदा यसअघिको छुट भने खासै उपयोग हुन पाएन ।

यो वर्ष मंसिरदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण निगम निरन्तर नोक्सानीमा छ । माघदेखि निगमले मूल्य बढाइरहे पनि कुनै महिना नाफामा जान नसकेको कार्यकारी निर्देशक पौडेल बताउँछन् । उनका अनुसार चालू आर्थिक वर्ष ०७७–७८ मा निगम ५ अर्ब रुपैयाँ आसपास नोक्सानमा जानेछ । असोज, ०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेर लगातार ६ वर्ष नाफा कमाएको निगम पुनः घाटामा जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...