एमालेमा को कति शक्तिशाली (तथ्यसहित)



हाम्रो इकोनोमि

 

नेकपा एमालेमा औपचारिक रुपमा विभाजन हुनमात्र बाँकी छ । शक्तिसंघर्ष उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई निष्काशनको अभियान नै चलाएका छन् । तर, निष्काशित भएकाहरुले पनि पार्टीभित्र शक्तिप्रदर्शन गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली देशमै शक्तिशाली छन् । ३ वर्ष ४ महिना देशको प्रधानमन्त्री भइसकेका ओलीलाई सत्ताबाट विपक्षीहरु एकजुट हुँदा पनि हटाउन सकेनन् । कतिपयले ओलीलाई जङ्गबहादुर राणापछिको शक्तिशाली प्रधानमन्त्री भन्न थालेका छन् ।

एमालेभित्र ओलीको अहिले एकछत्र पकड छ । महासचिव इश्वर पोखरेलका अलावा स्थायी कमिटीको पूरै टिम उनको साथमा छ । स्थायी कमिटी सदस्य मनोनित बामदेव गौतमले उक्त पद अस्वीकार गरिसकेका छन् । विघटित प्रतिनिधि सभाका १२१ सांसदमध्ये ओलीको पक्षमा ९८ जना छन् । नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीलाई आधार मान्दा भने ओलीसँग निर्वाचित पदाधिकारीमध्ये ६ जना मात्र साथमा छन् । निर्वाचित उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति भइसकेकी छिन् । बामदेव गौतमले ओलीको साथ छाडेका छन् ।

प्रदेशहरुमा ओली पक्षका शेरधन राई, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ्ग र शंकर पोखरेल मुख्यमन्त्री छन् । केन्द्र देखि प्रदेशसम्म ओली पक्षकै मन्त्रीहरु छन् । सुदूरपश्चिम प्रदेशमा मात्र ओली अल्पमतमा छन् । त्यहाँ एमालेबाट मन्त्री बनेका भीम रावलसँग निकट छन् । माधव नेपाल एमालेबाट निष्काशित भएका छन् । तर, उनको पकड एमालेमा अझै छ । नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारीमध्ये ५ जना नेपालको पक्षमा अझै छन् । २३ जना विघटित प्रतिनिधि सभाका सांसदले नेपालका लागि राजनीतिक जीवनलाई नै दाउमा राख्न तयार भए ।

लामो समय एमालेको महासचिव बनेर एकपटक प्रधानमन्त्री समेत बनेका नेपाल ओलीका चुनौती बनेका छन् । उनले कर्णालीमा ओलीको योजनालाई विफल पार्न विद्रोह गराएका थिए । सुदूरपश्चिम प्रदेशमा पनि ओलीको निर्देशनको अवज्ञा भइसकेको छ । राष्ट्रिय सभा निर्वाचनमा बादललाई खिमलाल देवकोटाले पराजित गर्नु नेपालको शक्तिप्रदर्शन पनि थियो । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे जस्ता हस्ती नेताहरु नेपालको पक्षमा छन् । देवकोटालाई जिताउन उनीहरुले भूमिका खेलेको विषय बाहिर आएको छ ।

एमालेमा बामदेव गौतम अर्को शक्ति हुन् । उनले स्थायी कमिटी सदस्य मनोनयन अस्वीकार गरेका छन् । उपप्रधानमन्त्री भइसकेका गौतम पार्टी एकताको पक्षमा उभिदै आएका छन् । उनले एकता अभियान अझै जारी राखेका छन् । ओलीलाई नवौं महाधिवेशनमा अध्यक्ष पदमा जिताउन उनैले भूमिका खेलेका थिए । उपाध्यक्ष पदमा निर्वाचित हुँदा सर्वाधिक दोस्रो नम्बरको मत ल्याएका थिए । गौतमसँग एमालेभित्र केही सांसद, प्रदेश सभा सांसदका अलावा केन्द्रीय कमिटी र जिल्ला कमिटीमा रहेकाहरु साथमा छन् । उनीहरुले निर्णायक घडीमा गौतमलाई साथ दिन सक्छन् ।

झलनाथ खनाल एमालेका पूर्वअध्यक्ष हुन् । प्रधानमन्त्री समेत भइसकेका खनाल गुट बनाउनेभन्दा पार्टी सिद्धान्त र विधिसम्मत तरिकाले चलाउनुपर्छ भन्ने पक्षमा रहे । त्यसैले उनका लागि कमैमात्र नेताहरु खुल्ने गर्छन् । सुरेन्द्र पाण्डे, भीम आचार्य जस्ता नेताहरु खनालको पक्षमा छन् । ओलीलाई नवौं महाधिवेशनमा जिताउन खनालले अन्तिम समयमा भूमिका खेलेका थिए । ओलीले पार्टीबाट खनाललाई समेत निष्काशित गरेका छन् । तैपनि, उनको पकड कायमै छ ।

भीम रावल हालै एमालेबाट निष्काशित गरिएका छन् । उनी माधव नेपालभन्दा पनि कडा रुपमा ओलीविरुद्ध उत्रिए । खरो स्वभावका रावलको एमालेभित्र अझै पकड छ । विघटित प्रतिनिधि सभामा उनी पक्षीय सांसद पनि छन् । सुदूरपश्चिममा उनको बलियो पकड छ । त्यसैले एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारबाट फिर्ता हुने निर्णयलाई प्रदेश संसदीय दलको बैठकले अस्वीकार गरेको छ । यसमा रावलकै मुख्य भूमिका देखिन्छ ।

रावलले आफ्नो शक्ति नवौं महाधिवेशनमा प्रदर्शन गरिसकेका छन् । महाधिवेशनमा उपाध्यक्षका उम्मदेवारमध्ये रावलले सर्वाधिक मत पाएका थिए । उनले बामदेव गोतम र विद्यादेवी भण्डारीभन्दा पनि बढी मत हासिल गरेर आफूलाई भविष्य बोकेको नेताका रुपमा उभ्याएका थिए । आफ्नो शक्तिलाई उनले अझै पनि कायम राख्न सकेको पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ ।

एमाले महासचिव इश्वर पोखरेलको संगठनमा बलियो पकड छ । उपप्रधानमन्त्री समेत रहेका पोखरेल पनि खरो स्वभावका छन् । उनले ओलीलाई बलियो साथ दिदै आएका छन् । ओली समूहबाट एमालेको भावी नेतृत्वको दाबेदारमा उनी नै देखिएका छन् । नवौं महाधिवेशनमा निर्वाचित महासचिव भएकाले पनि उनी बलियो देखिएका हुन् ।

सुरेन्द्र पाण्डे नवौं महाधिवेशनमा महासचिवमा १५ मतले इश्वर पोखरेलसँग पराजित भएका थिए । अर्थमन्त्री भइसकेका पाण्डे नेपाल समूहमा छन् । उनलाई पनि एमालेमा कारबाही गर्ने तयारी भएको छ । एमालेभित्र भविष्य बोकेका नेताका रुपमा उनलाई चिनिन्छ । भित्र भित्र पकड जमाएर बस्ने उनको कार्यशैली छ । तर, पछिल्लो समय नेपालको पक्षमा उनले खुट्टा कमाएको विश्लेषण गर्न थालिएको छ ।

सुवासचन्द्र नेम्वाङ पूर्वसभामुख हुन् । ओलीका विश्वासपात्रमध्येका नेम्वाङ सहमति र सहकार्य गराउन सिपालु छन् । उनले एमाले मिलाउन निकै प्रयासहरु गर्दै आए । शालिन ढंगले प्रस्तुत हुने उनले एमालेमा राम्रो पकड बनाएका छन् । कानुन व्यवसायी हुँदै राजनीतिमा प्रवेश गरेका उनलाई ओली समूहबाट भावी अध्यक्षको रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...