सांसदहरुको हस्ताक्षर किर्ते गरेको प्रमाणसहित एमालेले बुझायो राष्ट्रपति कार्यालयमा पत्र
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ । प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहनुभएका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता गराउनु भएको हो ।
उहाँले देउवालाई समर्थन गरी हस्ताक्षर नगरेको र पार्टी अध्यक्ष केपी ओलीलाई नै समर्थन गरेको भन्ने सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा पार्टीको तर्फबाट पत्र बुझाउनु भएको हो । हाम्रो पत्रमा एमाले दलको सांसदको हस्ताक्षर अन्यत्र कतै परेको भए त्यसलाई बैधता नदिन र त्यसअधारमा कुनै निर्णय नगर्न माग गरेका छौं,’ दाहालले भन्नुभयो, ‘एमाले सांसदको हस्ताक्षर किर्ते गरी प्रधानमन्त्रीको दावी पर्न आएको भन्ने सूचना पाएपछि हामीले पार्टीको बिधान, राजनीतिक दल सम्बन्धी ऐन र संबिधानबिपरितको काम नहोस भनेर राष्ट्रपतिको ध्यानाकर्षण गराएको छौं ।’
एमालेले पत्रमा अन्यत्र हस्ताक्षर गरेको प्रमाणित भएमा पार्टीले कार्वाही गरी सांसद पदबाटै मुक्त हुने भन्दै एमाले सांसदले अन्यत्र हस्ताक्षर गर्न नमिल्ने संबैधानिक आधारसमेत राखेको छ । दाहालले सांसदहरुको हस्ताक्षर दुरुपयोग भएका र झुक्याएर हस्ताक्षर गराइएका विषयहरु आएपछि डकुमेन्टहरु राष्ट्रपति कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दावी गर्ने दुवै पक्षका कानुनी आधारहरु अध्ययन गरिरहेकाले एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोगको विषय जानकारी गराइएको हो ।
एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । ‘थुप्रै सांसदले हस्ताक्षर दुरुपयोग भयो भनेपछि हामीले राष्ट्रपतिलाई जानकारी गराएका हौं,’ दाहालले भन्नुभयो ।


