बादललाई मतदान गर्न एमाले महासचिवको ह्वीप
नेकपा (एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाउँदै बादललाई मत दिन निर्देशित गर्नुभएको हो ।
एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले सम्बन्धित सबैलाई आइतवार पत्र पठाइएको जानकारी दिनुभयो । पत्रमा बादल एमाले उम्मेदवार रहेको र उहाँको पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।
‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ,’ महासचिव पोखरेलको हस्ताक्षर गरी पठाइएको पत्रमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’
बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको एकल बहुमत छ । पार्टीको ह्विप अनुसार मतदान भएपछि बादलले जित्ने लगभग निश्चित भएको छ। बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपचुनाव यही जेठ ६ हुँदै छ। उपचुनावमा विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले खिमलाल देवकोटालाई अघि सारेका छन्। यस्तै राप्रपा एमाले उम्मेद्वार बादललाई नै मतदान गर्ने निणय गरिसकेको छ ।


