राष्ट्रिएसभाको निर्वाचनमा रातारात बादल नै बलियो
आगामी २०७८ जेठ ६ गते राष्ट्रिसभाको उप–निर्वाचन हुँदैछ । माओवादी केन्द्रले वागमती प्रदेशबाट निर्वाचिन गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई पदमुक्त गरेपछि पुनः चुनाव हुन लागेको हो ।
उक्त पद पूर्तिका लागि निर्वाचन आयोगले ०७८ वैशाख २१ गते उम्मेदवारी मनोनयन दर्ता आह्वान गरेकोमा रामबहादुर थापा, खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । थापा एमालेका आधिकारिक उम्मेदवार हुन् भने एमालेको माधवनिकट पक्षका देवकोटालाई कांग्रेस र माओवादी गठबन्धनले खडा गरेका छन् । तामाङचाहिँ नेपाल मजदुर किसान पार्टीबाट मैदानमा उतारिएका हुन् ।
देवकोटाले आफूलाई स्वतन्त्र उम्मेदवार भएको बताए पनि माधव नेपालनिकट हुन् । कांग्रेस, माओवादी केन्द्रले आफ्ना उम्मेदवार नउठाएर नेपाल पक्षकै उम्मेदवार खडा गर्नुमा फुटाउ र राज गरको अभिष्ट लुकेको केपी पक्षको बुझाइ छ । त्यसैले एमाले–एमालेबीचको यो रोचक भीडन्त बादलका निम्ति महँगो पर्न सक्ने आकलन गरिँदैछ । तर गणितले भने बादललाई कमजोर देखाउँदैन । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् । प्रदेशको मतभार ४८ र स्थानीयको १८ छ ।
अहिले वागमती प्रदेशसभा सदस्य ११० जना छन् । त्यसमा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २÷२ जना र जनता समाजवादी पार्टीका १ जना सांसद छन् । त्यसैगरी, स्थानीय तहमा एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपा १ जना जनप्रतिनिधि रहेका छन् । स्थानीय जनप्रतिनिधिका रूपमा मतदान गर्न पाउने २३८ मतमध्ये एमालेकोमात्रै १३३ र अन्य सबै दल जोड्दा १०५ मत हुन आउँछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ मा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ तोकिएको छ । त्यस आधारमा प्रदेशतर्फ एमालेको मतभार २७३६, माओवादी केन्द्रको ११०४, कांग्रेसको १०५६, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको ९६/९६ र जसपाको ४८ हुन आउँछ । स्थानीय तहतर्फ एमालेको २३९४, कांग्रेसको १२०६, माओवादीको ५९६, राप्रपा र नेमकिपाको ३६/३६ र जसपाको १८ हुन आउँछ ।
यस हिसाबले एमाले एक्लैको कूल मतभार ५१३० छ । कांग्रेस र माओवादी दुवैको मात्रै ३९६२ छ । यसमा उसले जसपा पनि साथ पाउने सम्भावना छ । त्यसो भएमा कांग्रेस, माओवादी गठबन्धनको मतभार ४०२८ पुग्नसक्छ । नेमकिपाले आफ्नै उम्मेदवार खडा गरेकाले उसले आफ्नै अस्तित्व रक्षाका लागि संघर्ष गर्ने देखिन्छ । विवेकशील ठूला दलका गतविधिसँग रुष्ट रहेकाले उसको १४४ मत तटस्थ रहने सम्भावना प्रवल छ । बरू राप्रपाले भने एमालेलाई साथ दिने सम्भावना प्रवल छ । राप्रपा पनि एमालेको पक्षमा खुलेको अवस्थामा एमालेको मतभार ५२६२ हुन जान्छ ।
अब रह्यो कुरा, माधव पक्षको । माधवले एमालेको भोट काट्दा आफ्नोतिर जित निस्कने माओवादी कांग्रेसको हिसाब छ । संघीयताविद्लाई बादलविरुद्ध उतारेकाले त्यसको लाभ पनि मिल्ने उनीहरूको आकलन छ ।
उता, केपी ओलीको भने आफ्नै हिसाब छ । माधव पक्षकै पनि अधिकांशले आधिकारिक उम्मेदवार छाडेर माओवादी–कांग्रेसको स्वार्थअनुरूप मतजायर नगर्ने र गरिहालेमा पनि ७००–८०० बढी मतभार काट्न नसक्ने ओली पक्षको हिसाब छ ।


