नेपाल पक्षमाथिको कारबाही फुकुवा गर्ने ओलीको तयारी
एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए।
अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारबाही फुकुवा गर्ने संकेत गरेका छन । कारवाही फुकुवा गरौं, पार्टी एक बनाएर लैजाऔं र सरकारलाई पनि जोगाऔं भन्ने मत आएपछि ओलीले नेपाललगायतका नेतामाथिको कारबाही फुकुवा गर्ने संकेत गरेका छन ।
राष्ट्रिय राजनीतिको विषयमा विभिन्न कोणबाट कुराकानी हुँदा पार्टीभित्रको विवादबारे पनि छलफल भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। ‘माधव नेपाललगायतका साथीहरूलाई गरिएको कारबाही फुकुवा गरेर जाने कि भन्नेबारे छलफल भयो तर निष्कर्षमा पुगिएको छैन’, उनले भने। नेम्वाङका अनुसार छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको छ। अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निलम्बन गरेको जनाएका छन्।
अध्यक्ष ओलीले कारबाहीको विषयलाई बैठकको अजेन्डाका रूपमा अघि सारेपछि उनीहरूलाई कारबाही फुकुवा गर्ने, विश्वासको मत लिने, पार्टी एकता बचाएर लैजानुपर्ने मत बलियोसँग उठेको थियो। अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरूको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्य थप गर्नेलगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो। फागुन २८ गतेको निर्णय खारेज गरी ओली विधानबमोजिम अघि बढे पार्टी एकता कायम हुने नेता भीम रावलले बताएका छन्।


