सांसदको सामूहिक राजीनामा हल्लामात्रै हो : नेता पाण्डे
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सांसदबाट सामूहिक राजीनामा दिने कुरा हल्लामात्र भएको बताएका छन । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने हल्ला चलिरहेको बेला नेता पाण्डेले यस्तो प्रतिकृया दिएका हुन । हाम्रो इकोनोमीसँग कुरागदै उनले भने म घरमै छु मलाई यस्तो केहिपनि थाह भएन यो सबै हल्लामात्र हुन ।
हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ ।
त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो । माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो शेरबहादुर देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो । अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले बताए ।
आजको मितिमा माधव नेपाल पक्षसँग कम्तीमा ३० जना सांसद छन् । सर्वोच्च अदालतबाट एमाले ब्युँतिएको दिनसम्म नेपाल पक्षमा ४१ जना सांसद थिए । अदालतको फैसला लगत्तै लालबाबु पण्डित, माया न्यौपाने र विष्णु शर्माले संस्थापन पक्ष रोजे ।
त्यसपछि कृष्णभक्त पोखरेल र गोपाल बमले माधव नेपालको साथ छाडेका थिए । शेरबहादुर तामाङले प्रतिनिधिसभा पुनःस्थापनाअघिनै ओलीलाई साथ दिएका थिए । पछिल्लो समय ध्रुव शाही, पार्वती बिशुंखे, गंगा चौधरी सतगौंवा र बिना बुढाथोकीलगायतले संस्थापन पक्षमा झुकाव राखेका छन ।


