१५ सांसद खोज्दै प्रधानमन्त्री ओली, नभए मध्यावधि



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री ओलीले बहुमत पाए सरकार चलाउने, नपाए प्रतिनिधिसभा भंग गरेर आफ्नै नेतृत्वमा मध्यावधि चुनाव गर्न चाहेको विपक्षी नेताहरुको विश्लेषण छ ।

२७१ सदस्यीय प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका १२१ सांसद छन् । संसदबाट विश्वासको मत पाउन प्रधानमन्त्री ओलीलाई थप १५ मत चाहिन्छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सम्भावना छैन । राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकएक सांसद छन् । यो मत प्रधानमन्त्री ओलीलाई बहुमत दिन पर्याप्त छैन ।

बाँकी रह्यो जनता समाजवादी पार्टी (जसपा) । ३२ मत (३४ मध्ये दुई सांसद निलम्बनमा परेका कारण) भएको जसपा सिंगो रुपमा प्रधानमन्त्री ओलीको पक्षमा उभिने सम्भावना अहिले देखिंदैन । प्रधानमन्त्री ओलीले पनि सिंगो जसपाभन्दा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षसँग मात्र सम्वाद गर्दै आएका छन् । उनीहरुको माग सम्बोधनका क्रममा सरकारले १२० जना संलग्न १५ वटा फौजदारी अभियोगका मुद्दा फिर्ता गरेको छ । तर, जन्मकैदको सजाय भोगिरहेको रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका माग अझै सम्बोधन भएका छैनन् ।

जसपाको मत पाउन अति गाह्रो छ, आफ्नै पार्टी एमालेको मत पाउन पनि प्रधानमन्त्री ओलीलाई सजिलो छैन । २८ फागुन र त्यसयता अध्यक्ष ओलीले एकलौटी निर्णयहरु गरेको भन्दै माधवकुमार नेपाल समूहले पार्टीमा समानन्तर गतिविधि गर्दै आएको छ । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आए यो समूहले ‘फ्लोर क्रस’ गर्न सक्ने आकलन समेत गरिएको थियो । यद्यपि प्रधानमन्त्रीको पछिल्लो कदमबारे नेपाल समूहका नेताहरुले केही बताएका छैनन् ।

जसपाको महन्थ–राजेन्द्र पक्ष वा आफ्नै पार्टीका सांसदहरुको मत नपाएर जुनसुकै कारणले संसदमा विश्वासको मत पाएनन् भने प्रधानमन्त्री ओली पदमुक्त हुनेछन् ।

तर यसपछिको नयाँ सरकार पनि ओलीकै नेतृत्वमा बन्ने सम्भावना बढी छ । किनकि विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि प्रधानमन्त्री ओलीले नै संसद अधिवेशन अन्त्य गर्न सक्नेछन् । त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

यसका लागि सरकारको नेतृत्व दाबी गर्ने दलले १३६ सांसदको समर्थन जुटाउनुपर्छ । नेपाली कांग्रेससँग ६१ (निलम्बनमा परेका २ बाहेक), माओवादी केन्द्रसँग ४९ सांसद छन् । अहिले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्न तयार देखिएको जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद जोड्दा पनि १२६ मात्रै हुन्छ र बहुमतका लागि अरु १० सांसद पुग्दैनन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...