अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उपप्रधानमन्त्री पोखरेलको शुभकामना
उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवि नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवि नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
आजको दिन खासगरि श्रम गरी खाने श्रमिक वर्गको गौरवपूर्ण दिन हो । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्ग तथा ट्रेड युनियनले खेलेको भूमिकाको आजको दिन स्मरण गर्न चाहन्छु । यतिबेला हामी समृद्ध नेपाल निर्माणको महाअभियानमा छौं । यो महाअभियानलाई सफल बनाउन श्रमिक वर्गको निकै महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको छु ।
वर्तमान सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ सुरुवातदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको यहाँहरुलाई विदितै छ । सोहीकारण हाम्रो आर्थिक बृद्धि दोहोरो अंकको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको थियो । सरकारले श्रम क्षेत्रमा बजेट बृद्धि गर्नुका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ । सरकारले काम गर्दाको समय वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । यसका साथै, उच्च शिक्षा हासिल गरेका युवाहरूलाई शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण उपलव्ध गराउन थालिएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा यतिबेला सिंगो मानव समुदाय कोभिड– १९ विरुद्वको संघर्षमा होमिनु परेको छ । कोरोना भाइरसको महामारीका बिरुद्ध अग्रपंक्तिमा रहेर आफैलाई जोखिममा पारी अरुको जीवन रक्षामा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई लगायतका सेवामा क्रियाशील श्रमजीवीहरुलाई म उच्च सम्मान गर्न चाहन्छु । उहाँहरुको साहस र योगदानलाई सम्मान गर्दै नेपाल सरकारले विशेष आर्थिक सहुलियतको व्यवस्था गरेको जानकारी गराउन चाहन्छु ।
सिंगो विश्व नै मानव जाति र मानव सभ्यताको रक्षाका लागि लडिरहेका बेला नेपाल सरकारका सामु पनि राजधानीसहित देशका प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गर्नुपर्ने बाध्यतात्मक अबस्था आइपरेको छ । जसका कारण निर्वाध रुपमा श्रम गर्ने वातावरणमा समेत बाधा पुगेको छ । यद्यपि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले श्रमिकहरुलाई उद्योगभित्रै खाना र बासको व्यवस्था गरी उद्योग संचालन गर्ने, निर्माणस्थलमै खाना र बासको व्यवस्था गरी सार्वजनिक निर्माण कार्यलाई अगाडि बढाउने निर्णय लिएको छ । श्रमिक वर्गलाई रोजगारीसँगै स्वास्थ्यमा पनि कुनै समस्या नपरोस् भन्नेमा नेपाल सरकारले विशेष ध्यान दिएको छ ।
जीवन प्रमुख कुरा हो, श्रम हाम्रो लागि आधारभुत कुरा हो । तसर्थ, जनताको स्वास्थ्य र जीवन रक्षाका लागि नेपाल सरकारले चाल्नुपरेका बाध्यकारी कदमलाई मनन गरी सकारात्मक सहयोगका लागि अपिल गर्दछु ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना !
ईश्वर पोखरेल
उपप्रधानमन्त्री
महासचिव, नेकपा (एमाले)
२०७८ बैशाख १८ गते


