सरकारमा जान तयार छौँ : राजेन्द्र महतो
जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको बताउनु भएको छ । सरकारले जसपाको मागअनुसार १५ ओटा मुद्धा लागेका १ सय २० जना अभियुक्तको मुद्दा फिर्ता लिएको निर्णय सार्वजनिक गरेको थियो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुद्दा फिर्ता लिएको जानकारी दिनुभएलगत्तै जसपाका नेता महतोले सरकारले आफूहरुको माग सम्बोधन गर्न सुरु गरेको र सरकारमा सहभागी हुन बिश्वासको वातावरण बनेको बताउनु भयो । ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ, तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ,’ वरिष्ठ नेता महतोले भन्नुभयो । उहाँले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा सरकारलाई धन्यवादसमेत दिनुभयो ।
‘सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ,’ महतोले भन्नुभयो । जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र महतोले सरकारबिरुद्ध लाग्नुपर्ने अडान लिएपछि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता महतो ओली सरकारबाटै आफूहरुको माग सम्बोधन हुने भन्दै माग पूरा भए एमालेसँगै सत्ता सहकार्य गर्ने अडान लिनुभएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक पटक बार्तापछि ठाकुर र महतो यो निश्कर्षमा पुग्नुभएको हो ।
जसपाका अर्का नेता शरतसिंह भण्डारीले पनि मुद्दा फिर्ता लिएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार जसपाले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि सत्तासमीकरणको बिषयमा छलफल हुनेछ । मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग आफूहरुको रहेको उहाँले बताउनु भयो । ‘अहिले जति जनाको मुद्दा फिर्ता गरेको छ । त्यसका लागि सरकारलाई धन्यवाद । यो राम्रो सुरुवात हो, यसलाई जसपा नेपाल स्वागत गर्दछ,’ भण्डारीले भन्नुभयो ।


