एमाले संसदीय समितिमा व्यापक हेरफेर, सुरेन्द्र पाण्डे हटाइए



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले पहिलेकै पार्टी ब्युँताइदिएसँगै नेकपा (एमाले) संसदको सबैभन्दा ठूलो दल हो । दलीय अनुपातमा प्रतिनिधित्व हुने संसदीय समितिमा आफ्नो हैसियत अनुसार सदस्य हेरफेर गरिदिन संसदको सबैभन्दा ठूलो दल एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ ।

एमालेले २५ चैतमा सभामुख सापकोटालाई पत्र लेख्दै संसदका विषयगत समितिका सदस्यहरू हेरफेर गरिदिन आग्रह गरेको हो । कामकारबाहीमाथि अनुगमन तथा नियमन गर्ने अधिकार पाएका संसदीय समितिको महत्वलाई बुझ्दै एमालले चाँडो भन्दा चाँडो सदस्य हेरफेर गरिदिन आग्रह गरेको हो ।

एमालेले पठाएको पत्रमा २६ गते बस्ने बैठकमा सदस्य हेरफेर गरी जानकारी गराउन आग्रह गरिएको छ । तर, सभामुखले त्यसो नगरेपछि एमाले सांसद खगराज अधिकारीले बैठकमा विरोध जनाएका थिए । अधिकारीलाई जवाफ दिँदै सभामुखले नाम प्राप्त भएपछि हेरफेर गरिने जानकारी दिएका थिए । २६ गते नै सदस्य हेरफेरलाई एजेण्डा बनाएर सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको भए पनि सहमति जुट्न सकेको थिएन । नेपाली कांग्रेस र माओवादी केन्द्र संसदीय सुनुवाइ समितिमा सुनुवाइ चलिरहेको भन्दै हाललाई उक्त समितिमा सदस्य हेरफेर गर्न नहुने अडानमा छन् । एमालेले भने त्यसको विरोध गरेको छ ।

 

संसदीय सुनुवाइमा अर्थपूर्ण हेरफेर

प्रभावशाली समिति मध्यको एक संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डे हटाइएका छन् । नेकपा एमालेको सदस्यबाट समेत ६ महिनाका लागि निलम्बनमा परेका पाण्डेलाई संसदीय सुनुवाइ समितिबाट हटाइएको हो । सर्वोच्च अदालतका दुई न्यायाधीशको संसदीय सुनुवाइको मुखैमा एमालेले समितिमा पाँच सांसदको नाम सिफारिस गरेको छ । न्यायाधीश नहकुल सुवेदीविरुद्ध संसदीय समितिमा समेत चलखेल गर्न खोजिएको बेला एमालेले सुनुवाइ समितिमा हेरफेर गरेको हो ।

कांग्रेस, माओवादी लगायत विपक्षी दलहरूको दबाब भने न्यायाधीशहरूको संसदीय सुनुवाइअघि एमालेको हैसियत परिवर्तन नगर्नमा छ । तर एमालेले संसदीय समितिमा नेकपाको हैसियतमा नबस्ने र एमालेको हैसियतमा सदस्यहरूको थपघट हुनुपर्ने बताइसकेको छ । एमालेले हेरफेरका लागि सभामुखलाई बुझाएको नाममावलीमा सुनुवाइ समितिका लागि पाँच जनाको नाम पठाएको छ । जसमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईको नाम पठाइएको छ ।

पाल यसअघि पनि संसदीय सुनुवाइ विशेष समितिमा थिइन् । मुख्य सेचतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीका साथै खगराज र राजेन्द्र राई यसपटक थपिएका हुन् । उनीहरू सबै अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद हुन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका ९ जना सांसद थिए । तीमध्ये योगेश भट्टराई मन्त्री भएपछि उनी समितिमा थिएनन् ।

बाँकी ८जना मध्ये राष्ट्रियसभाका सुमनराज प्याकुरेल र नन्दा चपाई छन् भने प्रतिनिधिसभाका सुरेन्द्र पाण्डे र निरु पालमात्र थिए । अब समितिमा एमालेले आफ्नो आकार अनुसार प्रतिनिधिसभाका ५ र राष्ट्रियसभाका २ सदस्य गरी ७ जना पाउने भएको छ । समितिमा कांग्रेसका ४ जना र जसपाका सभापति लक्ष्मणलाल कर्णसहित २ जना छन् । एमालेले आफ्नो हैसियत अनुसार पाउनासाथ माओवादीको तर्फबाट हाल समितिमा रहेका ४ जना सदस्यमध्ये दुई जना घट्ने देखिन्छ ।

समितिमा नेकपा हुँदाको अवस्थामा देव गुरुङ, पूर्णकुमारी सुवेदी, अमृता थापा मगर र शिवकुमार मण्डलले प्रतिनिधित्व गरेका थिए । संसदीय सुुनुवाइ समितिमा एमाले बिना कसैको दुई तिहाइ बहुमत नपुग्ने भएकाले पनि प्रधानमन्त्रीका विश्वासपात्र सांसदहरूलाई त्यहाँ पठाइएको हो ।

 

संसदीय समितिमा सन्देशमूलक हेरफेर

पछिल्लो हेरफेरमा ओलीले आफू निकट र काम गर्न सजिलो हुने सांसदलाई प्रभावशाली समितिमा पठाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा महेश बस्नेतसहित थप ३ जनाको नाम पठाइएको छ ।

त्यस्तै अर्को महत्वपूर्ण सार्वजनिक लेखा समितिमा गोकुल बास्कोटा र राजेन्द्र गौतमको नाम थप गरेर पठाइएको छ । यी दुवै समितिबाट सरकारलाई असहयोग भएको प्रधानमन्त्रीले महसुस गरेका थिए ।

हालै समानुपातिकबााट सांसद नियुक्त भएकी जानकीदेवी रामलाई महिला तथा सामाजिक समितिमा सिफारिस गरिएको छ । घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा थप्न सिफारिस गरिएको छ । संसदको अर्को महत्वपूर्ण कार्यव्यवस्था परामर्श समितिमा एमालेले व्यापक हेरफेर गर्दै प्रधानमन्त्रीका भरपर्दा र विज्ञ सांसदहरूलाई पठाइएको छ ।

संसद बैठक सञ्चालन र कार्यसूची तय गर्ने लगायत सभामुखलाई सल्लाह दिने समिति भएकाले यसमा प्रतिनिधित्व गर्ने सांसदको भूमिका महत्वपूर्ण हुन्छ । एमालेले सो समितिमा मुख्य सचेतक विशाल भट्टराई र शान्ता चौधरीसहित पूर्व प्रमुख सचेतक समेत रहेका खगराज अधिकारीलाई निरन्तरता दिएको छ । पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, कानुनका विज्ञ कृष्णभक्त पोखरेल र लालबहादुर थापा पनि कार्यव्यवस्था परामर्श समितिमा एमालेले राखेको छ ।

संसदमा एमालेको आकारको प्रतिनिधित्वको अनुपारमा हरक समितिमा सोही बमोजिमको संख्या सुनिश्चितता हुनेगरी विभिन्न समितिमा सदस्यहरूको नाम राखेर सभामुखलाई दिइएको सचेतक चौधरीले बताइन् । कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने सभामुखले बताएका छन् । एमालेले भने दलले दिएका नामहरू प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न माग गरेको छ । सभाले अनुमोदन गरेपछि ती सांसदहरू समितिका नियमित बैठकमा बस्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...