पार्टी फुटाएर भएपनि ओलीलाई साथ दिन महन्थ–राजेन्द्र तयार



हाम्रो इकोनोमि

 

अहिले सत्ताधारी दल नेकपा एमालेका नेता कार्यकर्ताहरूले डिल्लीबजार जेलमै पुगेर रेशम चौधरीसंगको भेटघाट बढाएका छन । एकातिर संसदमा बहुमत पु¥याउन जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र खेमासंग नेकपा एमालेको छलफल भइरहेको छ । उनीहरूले अहिले सरकारको समर्थन गर्न मुख्यरुपमा दुई वटा मागका विषयमा बढी चर्चा गरिरहेको छ ।

सरकारमा सामेल हुने नै भएमा जसपाका माग बढ्ने सम्भावना पनि छन । आठ पार्टी मिलेर बनेको जसपामा केपी ओली नेतृत्वको सरकारलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा विवाद छ । उपेन्द्र यादव र बाबुराम भट्टराईहरू प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने पक्षमा रहेको नाटक गरिरहेका छन् ।  २०७७फागुन २३  अघिसम्म यादव र भट्टराई ओली सरकारको राजीनामा माग्दै सडकमा थिए । नेकपा पार्टी विवादमा सर्वोच्चको फैसला आएपछि सुरु भएको नयाँ राजनीतिक कोर्षमा ओली सरकारकालाई भरपर्दो टेकोका रुपमा महन्त र राजेन्द्रहरू अघि बढ्ने संकेतहरू देखा परेका छन ।

 

उपेन्द्र र बाबुरामले नमाने पनि उनीहरूसंग छुट्टिएर भएपनि ओलीलाई साथ दिन महन्थ–राजेन्द्र तयार देखिएका छन । उता प्रचण्ड र माधवहरूले देउवालाई प्रधानमन्त्रीको लागि अघि सर्न अफर गरेपनि कांग्रेसले निर्णय गर्न नसक्दा देउवाको संभावना हाललाई टरेको छ । सर्टट्रम फाइदाका लागि प्रधानमन्त्री नबन्ने बुद्धिमता देउवाले देखाएका छन ।  महन्थ–राजेन्द्रको खेमाले सहयोग गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त छन । यही पृष्ठभूमिमा सरकारका गृहमन्त्री रामबहादुर थापा बादलदेखि उद्योग मन्त्री लेखराज भट्टसम्मले रेशम चौधरीको रिहाइका लागि सार्वजनिक रुपमा बोलेका मात्रै छैनन् ।

२०७७फागुन १२ गते बिहीबारका दिन गृहमन्त्री रामबहादुर थापा बादल रेशम चौधरीको रिहाइकालागि धर्नामा बसेका प्रदर्शनकारीहरूसंग भेट गर्न माइतीघर मण्डला पुगे । त्यसको भोलिपल्ट बादलले रेशम चौधरी समर्थक तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताका लागि लिखित पत्र पठाए । वार्ता प्रस्ताव आएपछि धर्ना  २०७७ चैत १३ गते शुक्रबारबाटै स्थगन गरिएकोछ ।  पछिल्लो समयमा प्रधानमन्त्री ओलीका विश्वासपात्र रहेका उद्योग मन्त्री लेखराज भट्टले समेत सुदूरपश्चिममा आयोजित सार्वजनिक कार्यक्रमहरूमा रेशम चौधरीको रिहाईको कुरा उठाउदै आएका छन । रेशम र लेखराज दुबैको गृहजिल्ला कैलाली हो ।

थरुहट वा अखण्ड सुदूरपश्चिम प्रदेशको स्थापनाको मागका सन्दर्भमा २०७२ साल अघिको विवादमा रेशम र लेखराज–भीम रावल दुई भिन्न आन्दोलनलाई नेतृत्व गरेका नेता हुन् । थरुहट र अखण्ड सुदूरपश्चिमको विवादको पृष्ठभूमिमा वरिष्ठ प्रहरी उपरीक्षकसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको ज्यान जानेगरी भएको २०७२ भदौ ७ गतेको टीकापुर घटनाका मुख्य दोषीका रुपमा रेशम चौधरी डिल्ली बजार कारागारमा जन्म कैद (२० बर्ष) को सजाय भोगिरहेका छन ।

घटना पछि फरार रहेका रेशमले वारेसनामामार्फत कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराई २०७४ सालको संघीय संसदको निर्वाचन जितेका थिए । तिनै रेशमलाई अब रिहाई गराउनका लागि एमालेका नेताहरू बादल, लेखराज भट्ट र महेश बस्नेत कोशिस गरिरहेका छन । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि सरकार टिकाउनु छ । त्यसकालागि जसपाका माग पूरा गर्न सकेमात्र सरकार टिक्न सक्छ । जसपाको प्रमुख माग नै रेशम चौधरीको रिहाईसंग जोडिएको छ ।

प्रदर्शनीमार्गको तत्कालीन रत्नराज्य क्याम्पसमा अध्ययनरत रहँदा रेशम नेकपा एमालेका कार्यकर्ता थिए । त्यतिबेलाका उनका समकालीनहरू संघीय संसद सदस्य छन । रेशमका बुवा लालबीर र अंकल बालकुमार चौधरीको राजनीतिक पृष्ठभूमि पनि नेकपा एमाले नै हो । रेशम भूमिगत अवस्थामा कैलाली क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि उम्मेदवार हँदा उनका बुवा लालबीर सोही क्षेत्रको प्रदेश ‘क’ बाट तत्कालीन एमालेको तर्फबाट नेकपाको उम्मेदवार थिए । त्यसकारणले पनि हाल केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले रेशमको रिहाइका सम्बन्धमा ध्यानपूर्वक लागेको देखिन्छ ।

डिल्लीबजार भेट गर्न जानेमा पनि एमालेकै नेता कार्यकर्ताहरू बढी देखिन्छन् । नेकपा पार्टी छँदै रेशमले विभिन्न भेटहरूमा आफूलाई रिहाई गरे नेकपामा प्रवेश गर्छु भनेर वचन दिंदै आएको चर्चा गरिन्थ्यो । उनका बुवा लालबीर र अंकल बालकुमारले समेत विगत एकबर्ष यता तत्कालीन नेकपा र हाल नेकपा एमालेका दोश्रो तहका नेताहरूलाई भेटी रेशमलाई नेकपामा प्रवेश गराउने सर्तमा रिहा गराउन पहल गर्न आग्रह गर्दै आएको विभिन्न समाचार श्रोतहरूले दाबी गर्दै आएका थिए ।

२०७७ चैत १३ गतेमा प्रधानमन्त्री ओलीका खास सांसद भनेर पहिचान बनाएका महेश बस्नेतले डिल्ली बजार कारागार पुगि रेशम चौधरीसंग भलाकुसारी गरेको कुराले एकदमै चर्चा पाएको छ । पछिल्लो समय एमाले र जनता समाजवादी पार्टी बिच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला रेशम चौधरीसंगको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जसपासंग सत्ता साझेदारीको कुरा मिल्यो भने कानुनी बाधाअडचन फुकाएर पनि रेशमलाई जेलमुक्त गर्ने मनस्थितिमा नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन् ।

उता रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिएका छन । पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले रेशमको रिहाई प्रक्रिया थाल्न गृह मन्त्रालय र सरकारी वकिलसँग आवश्यक परामर्श भइरहेको सञ्चारमाध्यमलाई बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा रहिरहन संसदको चौथो ठूलो जसपाको समर्थन महत्वपूर्ण देखिएको छ । यतिबेला जसपा सरकार बनाउन निर्णायक शक्तिका रूपमा देखिएको छ । सरकार टिकाउन प्रधानमन्त्री ओलीले जसपासँग छलफल गर्ने कार्यदल नै बनाएका छन् ।  तल्ला अदालतको निर्णयविरूद्ध रेशमले सर्वोच्चमा मुद्दा दिएका छन् । दुईवटा अदालतले दोषी करार गरेर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका रेशमलाई कसरी जेलमुक्त गर्न सकिन्छ भन्ने उपाए पनि खोजिदैछ ।

उपाए खोजिदै 
मुद्दा फिर्ता लिने कि आममाफी दिने भन्ने मुख्य दुई उपाएका बारेमा अहिले चर्चा गरिन थालिएको छ ।  जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्छ । सरकारले चौधरीको मुद्दा फिर्ता लिन मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ को (८) ले नमिल्ने तर्क कानुनविद्हरूको छ ।

उक्त संहितामा यस्तो उल्लेख छ, ‘पुनरावेदन, साधक जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहो¥याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैन।’ हुन त कारागार व्यवस्थापन कार्यविधिअनुसार ४० प्रतिशत कैद भुक्तान गरेको कसुरदारलाई मात्र सजाय माफीका लागि सिफारिस गर्न पाइन्छ । चौधरीलाई माफी दिन यो व्यवस्था मन्त्रिपरिषदले फेर्नुपर्ने कानुनविद्हरू बताउँछन्।

प्रतिनिधिसभा नियमावलीको नियम २४४ को उपनियम ४ ले अदालतको अन्तिम फैसलाबाट कसुरदार ठहर गरेमा सांसद निलम्बनमा पर्ने उल्लेख छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को (घ) ले जन्मकैद वा २० वर्षबढीको कैद सजाय सुनाएको व्यक्ति सांसद हुन अयोग्य भनेको छ । चौधरीले माफी पाए भने पनि उनको सांसद पद जान्छ र उनी भविष्यमा सांसद हुन योग्य हुने छैनन् ।

यस्ता कानुनी अड्चन भएकाले चौधरी आफैंले पनि माफी रोज्ने कि सर्वोच्चको फैसला पर्खिने भन्ने रोज्नुपर्नेछ । सर्वोच्च अदालतमा उनले आफू निर्दोष भएको प्रमाण पु¥याए भने सफाइ नै पाउन सक्नेछन् । त्यो अवस्थामा उनको सांसद पद पनि जोगिन्छ र भविष्यमा पनि सांसद हुन उनी योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

    निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म...

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौड सुरु

    निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा पनि चुनावी...

रास्वपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको राप्रपाको आरोप

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी...

ओखलढुङ्गा अस्मिता थापाका ६ संकल्प: पूर्वाधारदेखि प्रविधिसम्मको ‘रोडम्याप’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि नेकपा...