डोरमणि र अष्टलक्ष्मी एकै बैठकमा, अविश्वासको प्रस्ताव फिर्ता
केन्द्रमा नेताहरु अलग पार्टीको अभ्यासमा लागिसकेका बेला वागमती प्रदेशको संसदीय दलमा भने नेकपा एमालेका दुवै पक्ष एकै ठाउँमा बसेर विधान मस्यौदा समिति गठन गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेको विधान मस्यौदा कार्यदल गठन गरेको हो ।
मस्यौदा समितिका तीनमध्ये उर्मिला माधव नेपाल पक्षधर हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै साबिक नेकपा विभाजनपछि दुई ध्रवमा लागेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यसहित सबै सांसदहरु बुधबार पहिलोपटक एउटै बैठकमा बसेका हुन् । पुस १० गते साबिक प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । सो प्रस्तावमा मुख्यमन्त्रीको वैकल्पिक उम्मेदवार शाक्यलाई बनाइएको थियो । एमाले ब्युँतिएसँगै अविश्वास प्रस्तावबाट बुृधवारै अष्टलक्ष्मी शाक्य पक्ष फिर्ता भएको छ ।
सांंसद रचना खड्काले आजको पहिलो बैठक सौहाद्रपूर्ण भएको र संघीय संसदीय दल र पार्टीमा केपी ओलीले देखाएको जस्तो निषेधपूर्ण व्यवहार प्रदेशसभा संसदीय दलमा नदेखिएको टिप्पणी गरिन् । अष्टलक्ष्मी पक्षधर सांसद खड्काले भनिन्– लामो समयपछि एकै ठाउँमा बसियो एक प्रकारले पुनर्मिलन जस्तो बैठक हो । माथि अध्यक्ष केपी ओलीले जुन व्यवहार गरिरहनु भएको छ, तल त्यस्तो देखिएन । पार्टी एकता कायम हुनुपर्छ भन्ने नै हो ।
बैठकमा शाक्यले पार्टीलाई माथिदेखि तलसम्म एकताबद्ध बनाएर लैजान सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताएकी थिइन् । शाक्यले बिगतमा पनि बजेट पारित समेत नहुने अवस्था भएको बेला ह्वीप लगाएर आफूले सांसदहरुलाई मुख्यमन्त्रीको पक्षमा उभ्याएको स्मरण गराएकी थिइन् । बैठकमा मुख्यमन्त्री पौडेलले पनि आफू सबैलाई मिलाएर लैजाने पक्षमा रहेको बताएका थिए ।


