रामचन्द्र-गगन फेरि एकठाउँ, पौडल र सिटौला मिलाउने प्रयास



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसद पुनस्र्थापनाको विषयलाई लिएर सुषुप्त खालको मानसिक विभाजन छ । यो विभाजनले पार्टीभित्रको गुटगत राजनीतिलाई पनि प्रभावित बनाएको छ, र केही नेता आफ्नो क्याम्पबाट यताउता लस्किन थालेका छन् । अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाबीच देखिएको निकटता कांग्रेसभित्र चर्चाको विषय बनेको छ ।

कांग्रेसको १३औं महाधिवेशनमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला चुनावी मैदानमा थिए । दोस्रो चरणमा भिडेका थिए, देउवा र पौडेल ।

महामन्त्रीमा देउवा पक्षबाट अर्जुननरसिंह केसी, पौडेल पक्षबाट डा.शशांक कोइराला र सिटौला पक्षबाट गगन थापाले प्रतिस्पर्धा गरेका थिए । महाधिवेशनका लागि केही दिन बाँकी रहँदासम्म पौडेल पक्षको रणनीति निर्माणमा खटिएका थिए युवा नेता गगन । अन्तिम समयमा ‘पदाधिकारी’ लड्ने निर्णयमा साथ नपाएपछि सिटौला समूहमा मिसिएर थापा महामन्त्रीको उम्मेदवार बने । सभापतिमा सिटौलाले ३२४ मत ल्याउँदा महामन्त्रीमा थापाले ५८४ मत ल्याए ।

कांग्रेसका वरिष्ठ नेता पौडेल र युवा नेता थापाबीच पार्टीका आन्तरिक विषयमा लामो समय चलेको सहकार्य १३औं महाधिवेशनमा टुटेको थियो । यतिबेला संसद विघटनविरुद्धको आन्दोलनमा उभिएका दुवै नेताबीच पुनः तालमेल मिल्न थालेको छ । कतिपयले उनीहरू तत्कालका लागि मात्रै सँगै चर्चा गर्छन् भने कतिपयले महाधिवेशनसम्मै सहकार्यको सम्भावना देख्छन् ।

कांग्रेसको चौधौं महाधिवेशन घोषित मिति फागुन ७ मा उद्घाटन नहुने निश्चित भए पनि संवैधानिक कारणले २०७८ भदौसम्म भइसक्नुपर्नेछ । सो महाधिवेशनको समीकरण अहिलेसम्म प्रष्ट भइसकेको छैन ।

सहकार्यको पृष्ठभूमि

वरिष्ठ नेता पौडेल र युवा नेता थापा पहिले पनि निकट थिए । २०६२ सालमा राजतन्त्रविरुद्धको आन्दोलन उत्कर्षमा छँदा राजद्रोहको मुद्दा खेपिरहेका थिए गगनले । पोखरामा नेविसंघको महाधिवेशन हुँदैथियो । अघिल्लो दिन थुनाबाट छुटेर पोखरा पुगेका उनलाई विद्यार्थीहरूले भव्य स्वागत गरे ।

नेविसंघ अध्यक्षको बलिया प्रत्यासी थिए गगन । तर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेविसंघ अध्यक्षमा केशव सिंहलाई नै दोहोर्‍याउने पक्षमा थिए । नेता पौडेलको समर्थन गगनलाई थियो । गगनलाई अध्यक्ष बनाउने पौडेलको प्रयास सफल भएन, तर त्यसले उनीहरूबीच विश्वासको वातावरण बन्यो ।

२०६४ मा चितवनमा सम्पन्न नेविसंघ महाधिवेशनले गगन समर्थित उम्मेदवार प्रदीप पौडेललाई अध्यक्ष चयन गर्‍यो । काठमाडौं फर्किएर गगन पार्टी राजनीतिमा केन्द्रित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा युवालाई स्थान दिनुपर्ने आवाज कांग्रेसमा चर्को स्वरले उठ्यो । प्रत्यक्ष टिकट दिलाउन नसके पनि पौडेलकै प्रस्तावमा गगन समानुपातिक सभासद बन्न सफल भए । गगनको राजनीतिक जीवनमा निर्णायक यो उपलब्धिको श्रेय पनि पौडेलले पाए ।

‘गगनजीलाई सभासद बनाउन रामचन्द्र दाइले गिरिजाबाबुलाई समेत कन्भिन्स गर्नुभएको थियो । सभासद भएपछि नै गगनजीको राजनीति अझ उकालोतर्फ लाग्यो’, गगनका एक समकक्षी नेताले भने ।

सभासद भइसकेपछि गुन तिर्ने पालो गगनको थियो । पौडेललाई संविधानसभामा दलको नेतामा निर्वाचित गराउन गगन कस्सिएर लागे । पौडेल कांग्रेस संसदीय दलको नेता बन्न सफल पनि भए । त्यसयता संविधान निर्माणदेखि पार्टीभित्र विचार निर्माण समेतमा पौडेल र गगनको गठजोड बन्यो । गगनको अगुवाइमा भएका वैचारिक लेखन र बहसहरूमा पौडेल समेतको विचार प्रवर्द्धन गरिए ।

‘पार्टीभित्र वैचारिक र व्यावहारिक दुवै कुरामा उहाँहरूबीच सहकार्य थियो । रामचन्द्र दाइको धारणालाई समर्थन हुने गरी गगनजीले धेरैपटक कार्यक्रमहरू सञ्चालन गराउनुभएको छ’, एक नेताले भने ।

१२औं महाधिवेशनपछि पौडेल पार्टीको उपसभापति बन्दा गगन सर्वाधिक मतसहित केन्द्रीय सदस्य बनेका थिए । नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा पौडेलले थालेको देशव्यापी अभियानमा गगनले राम्रै साथ दिएका थिए ।

१३औं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन सभापति सुशील कोइराला सभापतिमा दोहोरिन इच्छुक देखिए । तर गगनले स्पष्टरूपमा ‘सभापतिले खुला हृदयले रामचन्द्र पौडेललाई सभापतिका रूपमा अगाडि सार्नुपर्ने’ धारणा राखे । कांग्रेसको नेतृत्वका लागि पौडेल उपयुक्त छन् भन्नेमा गगन जति विश्वस्त थिए त्यति नै आफू पदाधिकारीमा चुनाव लड्नैपर्ने दबाबमा थिए । पौडेलकै टिमबाट पदाधिकारीमा निर्वाचन लड्न गगनले अन्तिमसम्म प्रयास गरेका हुन् । तर १३औं महाधिवेशनमा पौडेलले वचन दिए पनि गगनले पदाधिकारीमा लड्न ठाउँ पाएनन् ।

गगनसहितका युवाहरूको टिमले पौडेलको चुनावी अभियान र घोषणापत्रसमेत लेखिसकेको थियो । तर पौडेल र गगन एकै टिममा चुनाव लड्ने स्थिति भएन । पौडेलले महामन्त्रीका रूपमा डा.शशांक कोइराला रोजे, गगनले सभापतिका रूपमा कृष्ण सिटौला । त्यसयता पौडेल र गगनबीच दूरी बढेको थियो ।

अहिले संसद विघटनको मुद्दामा सभापति देउवा पक्ष नरम देखिंदा पौडेल र गगन कडा विरोधमा छन् । केपी ओलीले चालेको कदम एकप्रकारले पौडेल र गगनलाई फेरि जोड्ने सुपरग्लु बनेको छ । उनीहरू आन्दोलनका धेरै कार्यक्रममा एकसाथ देखिएका छन् ।

हालै सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित सभामा गगन स्वयंले संसद पुनस्र्थापना विरुद्ध पौडेलले लिएको अडानमा आफ्नो साथ रहेको बताएका थिए ।

‘निर्वाचन हुँदा रामचन्द्र पौडेलले पनि तनहुँमा जित्नुहुन्छ । सांसद भएर आएपछि प्रधानमन्त्री पनि बन्नुहोला । तर उहाँले तत्कालको लाभ नहेरेर संविधान र लोकतन्त्र जोगाउने पक्षमा अडान लिनुभयो । त्यहीकारण हामी एकठाउँमा छौं’, सभामा गगनले पौडेलको प्रशंसा गर्दै भनेका थिए ।

पौडल र सिटौला मिलाउने गगनको प्रयास

गगनले ‘आवश्यक परे सभापति लड्न तयार रहेको’ समेत बताउने गरेका छन् । यद्यपि उनी आफैं चाहिं कांग्रेसको पुरानो संस्थापनलाई एकैठाउँमा ल्याउने प्रयासमा छन् ।

सभापतिमा दाबी गरिरहेका अधिकांश नेताले गगनको साथ चाहेका छन् । गगन भने छुट्टाछुट्टै प्रतिस्पर्धा गरेर पार्टीमा परिवर्तन सम्भव नहुने भएकोले संस्थापनइतर पक्षबाट एकमात्रै उम्मेदवार बनाउन सक्रिय छन् ।

‘रामचन्द्र र कृष्ण सिटौलाबीचको असमझदारीका कारण नेतृत्व शेरबहादुरमा पुगेको हो । त्यो असमझदारी हटाउने र सबैलाई मिलाउने भूमिका खेल्न उहाँ सक्रिय हुनुहुन्छ’, गगन निकट नेताले भने । पौडेल र सिटौलाबीच सहकार्य सम्भव देखेका गगन हाल आफ्नो भूमिका त्यसतर्फ केन्द्रित गरिरहेका छन् ।

अघिल्लो महाधिवेशनमा कमजोर गुटको उम्मेदवार बनेकाले गगन महामन्त्रीमा पराजित भएका थिए । आगामी महाधिवेशनमा फेरि त्यो गल्ती दोहोर्‍याउन गगन चाहँदैनन् । त्यसैले उनी पौडेल-सिटौलालाई मिलाएर देउवालाई चुनौती दिने बलियो गुट निर्माणको चक्करमा छन् । र, त्यो गुटबाट आफू महामन्त्रीको उम्मेदवार बन्ने ध्याउन्न छ ।

सभापतिका आकांक्षी अन्य नेताले पनि गगनलाई आफूतिर तान्न चाहेका छन् । सभापतिमा दाबी गरिरहेका नेता डा.शेखर कोइरालाले त सार्वजनिक रूपमा गगनलाई महामन्त्री प्रस्ताव गरिसकेका छन् । गगनले भने सभापतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिइसकेका छैनन् । तर विगतको लामो सहकार्यको पृष्ठभूमि र संसद विघटनको विषयमा मिलेको लाइनले पौडेल र गगनलाई महाधिवेशनसम्म जोड्न सक्ने देखिन्छ । पौडेलले गत वर्ष सार्वजनिक रूपमै ‘गगन–प्रदीपलगायतका युवाहरू आफूसँगै रहने’ दाबी गरेका थिए ।

‘दुवैजना अबको महाधिवेशनमा लड्नैपर्ने भन्दा जित्नैपर्ने बाध्यतामा हुनुहुन्छ । यो बाध्यता र संसद पुनस्र्थापनाको पक्षमा उहाँहरूले लिएको अडानले नै महाधिवेशनमा दुवैलाई एकठाउँ ल्याउने सम्भावना छ’, दुवै नेताका निकटस्थहरूको समान बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...