प्रचण्ड – माधवको आन्दोलनलाई कसैले साथ दिएनन्
प्रतिनिधि सभा विघटनपछि नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन भएको छ। विभाजित नेकपाको एउटा समूह संसद विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरोध गर्दै सडक संघर्षमा छ।
तर नेकपाको दुई पक्षको आधिकारिता अहिले निर्वाचन आयोगमा पुगेर रोकिएको छ। विभाजित दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिता भएको दाबी गर्न भने छाडेका छैनन्। पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निर्वाचनको तयारीमा जुटिरहेको छ। निर्वाचनको प्रचार गर्दै बालुवाटारबाट सिंहदरबारसम्म नपुग्ने प्रधानमन्त्री ओली पक्ष देश दौडाहामा लागेको छ।
विभाजित अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष संसद् पुनःस्थापना मागसहित आन्दोलनमा उत्रिँदा अन्य प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दलको उपस्थिति भने छायामा परेको छ।
प्रचण्ड–माधव पक्षले संसद् विघटन र संवैधानिक नियुक्तिको विरोधमा चरणबद्ध सडक आन्दोलन गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेस भने अझै ‘अलमल’मै छ। गत बिहीबार प्रधानमन्त्रीको कदमविरुद्ध देशभर आमहड्ताल गरेको प्रचण्ड–माधव पक्षले फेरि पनि माघ २८ गते काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै कार्यकर्ता उतार्ने बताएको छ।
संसद् विघटनको मुद्दामा प्रधानमन्त्री ओली एक्लिँदै गएका छन्। ओलीले असंवैधानिक ढंगबाट संसद् विघटन गरेको भनिरहेको कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका सबै साना दल ओलीको कदमविरुद्ध लागेका त छन् तर उनीहरूको प्रभाव खासै देखिएको छैन।
कम्युनिस्ट सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) भने निर्वाचनको पक्षमा खडा भएको छ। प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन गर्ने बताएपछि कांग्रेस सभापति शेर बहादुर देउवाको अभिव्यक्ति स्पष्ट नहुनुले उनी निर्वाचनपछि कांग्रेसलाई फाइदा हुने र फेरि पनि सरकारमा जान पाइने आशमा बसेका कांग्रेसकै नेता तथा विश्लेषकहरू बताउँछन्। तर कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पाैडेललगायत अन्य पार्टीभित्रै नेता भने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै बृहत् आन्दोलनमा जानुपर्ने लाइनमा छन्।
प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनबाट नै हटाउन सकिने अध्यक्ष प्रचण्डले पटक पटक सार्वजनिक रुपमै बताउँदै आइरहेको छन्। फागुन पहिलो साताबाट संयुक्त आन्दोलनमा जाने वातावरण बनिरहेको उनले बताए पनि उनलाई क–कसले साथ दिने भन्ने अझै अन्योल छ।


