लोकतन्त्रमाथि कसैले पनि कर्के नजर नलगाए हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि लोकतन्त्रमाथि आँखा लगाउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौँको नारायणहिटी परिसरमा नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन गर्नु सर्वोत्तम प्रणाली भएको बताउँदै कसैले पनि लोकतन्त्रमाथि कर्के नजर नलगाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले ‘अस्थिरता होइन चुनाव चाहियो’ भन्दै उपस्थित सहभागीहरुलाई नारा लगाउन समेत लगाएका थिए ।काम गर्नै नसक्ने अवस्था आइसकेपछि आफूले नयाँ जनादेशमा जाने अवस्था आइलागेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘देश चुनाव तर्फ गयो गयो ।’ त्यस्तै, उनले अब कसको सरकार बन्ने चुनावले फैसला गर्छ । उनले भने, ‘अब कसको सरकार बन्छ चुनावले फैसला गर्छ ।’
उनले प्रचण्ड माधव पक्षतिर कटाक्ष गर्दै भने ‘चुनाव गर्दा कसरी देश संकटमा जान्छ?’ भनी प्रश्न गरे । प्रधानमन्त्री ओलीले लोकतन्त्र नेपालमा मासिन नसक्ने बताउँदै कसैले पनि लोकतन्त्र तर्फ केही गर्छु भनेर नचिताए हुन्छ, नसोचे हुन्छ भन्दै लोकतन्त्र सुदृढ हुने बलियो हुने बताए । उनले नेपालमा जनता सचेत भइसकेका कारण लोकतन्त्र उज्ज्वल हुने जिकिर गरे ।


