भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा
नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलनअघि केन्द्रीय संघर्ष समितिको बैठक समेत बोलाइएको छ । बैठकले संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त गरेको विरोधमा आमहड्ताल गर्ने निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
केन्द्रीय संघर्ष समितिको बैठकले आमहड्तालको निर्णय गरेपछि आकस्मिक रूपमा बोलाइएको पत्रकार सम्मेलनमा त्यसको घोषणा गरिने बताइएको छ । नेकपाको अोली पक्षले शुक्रबार राजधानीमा आमसभा गर्दै छ। ओली पक्षकै आमसभाकै पूर्वसन्ध्यामा प्रचण्ड-माधव पक्षले आमहड्तालको तयारी गरेको छ ।


