३ बर्षदेखि विप्लव बेपत्ता, नेपालमै रहेको प्रहरीको दाबी



हाम्रो इकोनोमि

 

 

सरकारले २०७५ फागुनमा प्रतिबन्ध लगाएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र उनको पार्टीविरुद्ध प्रहरी सक्रिय छ । प्रहरीले सो पार्टीलाई नेता–कार्यकर्तालाई जहाँ देख्यो, त्यहीँ समात्ने नीति लिएको छ । पछिल्लो समय हिसांत्मक बाटोतर्फ अगाडि बढिरहेको विप्लव समूहविरुद्ध प्रहरी पनि आक्रामक देखिएको छ । हालसम्म प्रहरीले सो समूहका शीर्ष चार नेतामध्येका हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोललाई पक्राउ गरिसकेको छ ।

त्यसबाहेक दर्जनौँ केन्द्रीय सदस्यहरु पक्राउ परिसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रतिबन्धपछि सो समूहका २ हजार ३६ नेता–कार्यकर्तालाई पक्राउ गरिएको छ । जसमध्ये १७ सय ९१ जना छुटिसकेका छन् भने १३४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । पछिल्लो समय दैनिकजसो सो समूहका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ ।

आन्तरिक सुरक्षा चुनौती बढाउँदै लगेको विप्लव समूहविरुद्ध चारओटै सुरक्षा निकाय सक्रिय छन् । कतिपय स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सयुक्त सर्च अपरेसनसमेत चलाउँदै आएका छन् । केही स्थानमा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोरो फायरिङसमेत भएको छ । सुरक्षा निकायले विप्लव समूह हिसांत्मक र भौतिक कारबाहीतर्फ अगाडि बढेको निष्कर्ष निकालेका छन् । पछिल्लो समय मोरङका एक शिक्षकको विप्लव समूहले हत्या गरेपछि सुरक्षा निकायसमेत झस्किएका हुन ।

‘मोस्ट सर्चिङ’ सूचीमा विप्लव
प्रहरीले सयौँ  नेता–कार्यकर्तालाई पक्राउ गरिसकेको भए पनि सो समूहका नेतृत्वकर्ता विप्लललाई भने भेटाउन सकेको छैन । विप्लव प्रहरीको ‘मोस्ट सर्चिङ’ सूचीमा  छन् । उनको खोजीका र उनीविरुद्धका सूचना संकलनका लागि चारओटै सुरक्षा निकायको ‘इन्टेलिजेन्स’ टोली सक्रिय छ । तर पनि विप्लवविरुद्धको सुराक पछिल्लो ३ वर्षयता भेट्टउन सकेका छैनन् । तर, विप्लव नेपालमै रहेको सुरक्षा निकायहरुको दाबी छ । पूर्वमाओवादी लडाकुको सुरक्षामा विप्लव रहेको र उनी कुनै विकट क्षेत्रमा रहेको हुनसक्ने सुरक्षा अधिकारीको अनुमान छ । विप्लव समूहकै नेताहरुका भनाइलाई आधार मान्ने हो भने सोही पार्टीका सबै उच्च नेतालाई पनि विप्लवको सेल्टरबारे जानकारी छैन् । निकै सीमित नेताहरुको मात्रै विप्लवसँग पहुँच छ । त्यो पनि विप्लवले चाहेमा मात्रै भेट सम्भव हुने गरेको एक केन्द्रीय सदस्य बताउँछन् ।

चन्दा आतंक, विस्फोट, अपहरणलगायतका गतिविधि बढाउँदै लगेको सो समूहका नेता विप्लव आफूहरुको सर्वाधिक खोजीमा रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँर बताउँछन् । प्रवक्ता कुवँर भन्छन्, ‘‘विप्लवको खोजीमा हामी सक्रिय छौँ । देशभर उनीविरुद्ध मुद्दा छन् । हाम्रो सर्वाधिक खोजीमा रहेको उनीबारेका सूचना नागरिकले पनि गोप्य रुपमा हामीलाई दिन सक्छन् ।”

पछिल्लो तीन वर्षयता विप्लव सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी पार्टीको सचिवालय बैठकमा मात्रै उपस्थित हुन्छन् । सचिवालयमा विप्लवसँगै खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला छन् । ओली र बास्तोला पक्राउ परेपछि अब २ जना मात्रै छन् । यस्तोमा विप्लव समूहले आफ्नो सचिवालय विस्तार गर्ने वा विघटनसमेत गर्नसक्ने सम्भावना रहेको सोही समूहका नेताहरु बताउँछन् ।

एक प्रहरी अधिकारीका अनुसार बेलाबेला विप्लवबारे सूचना आउने गरेका छन् । तर, प्रहरी टोली त्यहाँ पठाउँदा उनी भेटिदैनन् । विप्लव पक्राउ गर्न सके सो समूह छिन्नभिन्न हुने र समूहको अस्तित्व नै समाप्त हुने सुरक्षा निकायको अनुमान छ ।

उनले बेलाबेला आफ्नो सेल्टर परिवर्तन गर्ने गरेको सूचना प्रहरीसँग छ ।  खासगरी पश्चिम नेपालका पहाडी जिल्लामा उनी बस्ने गरेको प्रहरी अधिकारी दाबी गर्छन् । एक उच्च प्रहरी अधिकारीका अनुसार विप्लवले मोबाइल इन्टरनेट प्रयोग गर्दैनन् । उनलाई सम्पर्क गर्ने छुट्टै माध्यम छ । इन्टरनेट र मोबाइल प्रयोग नगर्ने भएकाले लोकेसन पत्ता लगाउन सकिँदैन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...