जनताको चाहना राजतन्त्र नै हो : पुर्वराजा ज्ञानेन्द्र शाह



हाम्रो इकोनोमि

 

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले नेपाल सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज देश भएको बताउनुभएको छ । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा एक सन्देश जारी गर्दै उहाँले संसारमा कतिपय देश जाति, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भए पनि नेपाल सबैको साझा प्रयासको उपज रहेको विश्वकै एक मात्र मुलुक रहेको र सोही कारण आज पनि राष्ट्रनिर्माताबाट मार्गदर्शनका निम्ति प्रदान गरिएको दिब्य उपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मूलूकको समृद्धि लक्षित भएको सबैले महसुस गरिरहेका उल्लेख गर्नुभएको छ ।

पूर्व श्री ५ ले आफ्नो सन्देशमा भन्नुभएको छ- ‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी गौरवान्वित हुने गर्दछौँ । त्यो समय केवल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आशीर्वाद, अदम्य साहस, पौरख र कूटनीतिक कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो ।’

यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ भन्दै पूर्व श्री ५ ले राष्ट्रिय एकता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र जनताको जनचाहनालाई राजसंस्थाले जहिल्यै उच्च प्राथमिकता दिएको उल्लेख गर्दै त्यसैअनुसार शाहवंशीय परम्परा अगाडि बढेको स्मरण गर्नुभएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुपको व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएका छन् ।’

‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो, तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहित अनुकुल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आमनेपालीले गर्नुपरेको छ ।’ सन्देशको अन्त्यमा भनिएको छ- ‘राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्दछ । यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने छ । यसैमा पृथ्वीजयन्तीको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...