नेकपाको वस्त्र उत्रिसक्यो, अब छाला नै काड्ने तयारी



हाम्रो इकोनोमि

 

सत्ताधारी दलका विभाजित नेता-कार्यकर्ताबीच करिव तीन सातादेखि चलिरहेको ‘रत्यौली’को अन्त्य कहाँ पुगेर हुने हो- निश्चित छैन । हरेक दिनजसो दुवै समूहका विभिन्न स्तरका सभा वा भेला आयोजना हुँदै आएका छन् । राजधानी हुँदै यस्ता सभाहरू प्रदेश, जिल्ला र गाउँ-गाउँसम्म विस्तारित हुन पुगेका छन् र, आफ्नो पक्षमा कार्यकर्ता समेट्ने उद्देश्यले आयोजित यस्ता सभामा एकले अर्को पक्षको कमजोरी उजागर गर्ने क्रममा जसरी दोस्रो पक्षका नेता-कार्यकर्तालाई नङ्ग्याउने उपक्रम शुरु हुन्छ, यसले आम नागरिक तप्कालाई आश्चर्यमा मात्र नपारी लज्जित नै तुल्याइदिन्छ ।

‘…लाई भन्दा देख्नेलाई लाज’ भनेझैँ नेकपाका नेता-कार्यकर्ताहरूले एकअर्काको बदख्वाइँ गर्नका निम्ति यतिबेला सार्वजनिक तवरमा प्रयोग गर्ने गरेका शब्द-अभिव्यक्तिले सोच्न बाध्य तुल्याउँछ कि यति धेरै कमजोरी, खराबी, विकृति-विसङ्गति बोकेका पात्रहरू हिजो एकै ठाउँमा कसरी रहन सके होलान् ? हरेक नेतामा यत्तिका खराबी विद्यमान रहेछन् त हिजोसम्म कसरी ढाकछोप गरी एकअर्काको प्रशंसा गर्न सके होलान् ? र, कतै भेलि पुनः एकै मञ्चमा उभिने परिस्थिति पैदा भयो भने यिनले एकअर्कालाई आफ्नो अनुहार कसरी देखाउलान् ? किनकि, शीर्ष तहकै नेताहरू एकले अर्कोलाई नङ्ग्याउन, ब्यङ्ग्य गर्न र धज्जी उडाउन यसरी उद्यत् देखिँदै छन् कि शिष्टाचारको सामान्य मात्र ज्ञान राख्नेहरू पनि जिब्रो काड्न पुग्छन् ।

सत्ताधारी दलका नेता-कार्यकर्ताको यस व्यवहारले अर्को एक महत्वपूर्ण सवाल खडा गरिदिएको छ- यति भ्रष्ट, यसरी इमान र नैतिकता गुमाएका पात्रहरूबारे जनतालाई आजसम्म जानकारी नदिइ गुमराहमा किन राखियो ? आज स्वार्थ बाझिएर कित्ताकाट भएपछि मात्र औंल्याउने र उजागर गर्ने काम भयो, के यो जनताप्रति शासकहरूले गरेको गम्भीर घात होइन र ? र, आज एकले अर्को पक्षलाई नङ्ग्याउने क्रममा उजागर गरिएका यी आरोप-अभियोगलाई लिपिवद्ध गरी दोषअनुसारको सजाय दिने कर्तव्य निर्वाह गरिन्छ कि गरिन्न ?

सत्ताधारी नेकपामा यतिबेला देखिएको विभाजनको रेखाको मापन गर्दा पुनः यी दुईबीच मिलन हुन सक्ने कल्पना सायदै गर्न सकिएला, तथापि सिद्धान्त भन्दा पनि स्वार्थ नै फुट्नु र जुट्नुको कारक देखिँदै आएको ‘कम्युनिष्ट चरित्र’का आधारमा भन्नुपर्दा फेरि कुनै पनि बेला ‘पुनर्मिलन’को नौटङ्की मञ्चन नहोला भन्न सकिन्न । यदि यसरी पुनः स्वार्थ मिलेर एकै ठाउँमा उभिन पुग्दा आज लगाइएका अभियोग खारेज गरिन्छन् र फेरि पनि एकले अर्कोलाई दुधले नुहाउने प्रयत्न गरिन्छ भने त्यसलाई चुपचाप स्वीकार गरिएला कि नागरिक स्तरबाट त्यसको विरोध र प्रतिकार गरिएला ? यो रोचक तर गम्भीर सवाल हो ।

सत्ताधारी दलका दुई गुटको झगडा उत्कर्षमा पुगेसँगै यसको प्रत्युत्प्रभाव देशैभर फैलिसकेको छ । गाउँ-गाउँमा दुई खेमाका कार्यकर्ताबीच आरोप/प्रत्यारोप आरम्भ भइसकेका छन्, कतिबेला यो गुटगत दूराग्रह आपसी साङ्घातिक झडपमा रुपान्तरण हुने हो- कुनै ठेगान छैन । यसको चपेटमा पर्ने त फेरि पनि निरीह नागरिक नै हुन्, जो नेकपाको बलियो सरकारबाट प्राप्त हुने विकास र समृद्धिको स्वादिलो फल चाख्ने सपनामा तरङ्गित रहँदै आएका थिए । आफ्नो तीन वर्ष अवधि अनेक काण्ड र विवाद-झमेलामा गुजार्न विवश वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पार्टीभित्रैका प्रतिपक्षीले काम गर्न नदिएकाले आजको दूरावस्था निम्तिएको तर्क गर्दैछन् । आफ्नै दलभित्र प्रतिपक्ष जन्मनुमा दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री स्वयमको कति भूमिका रह्यो- यो विवेचनाको एउटा पाटो हो, तर उनलाई आफ्ना योजनाअनुसारको काम गर्न नदिन पार्टीभित्रका प्रतिष्पर्धीहरू तल्लो स्तरमै उत्रिएका रहेछन् भन्ने हालका कतिपय सन्दर्भले पनि पुष्टि गरेको छ । आशलाग्दो गतिमा निर्माण कार्य चलिरहेको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम अवरुद्ध तुल्याउन नेकपाकै दाहाल-नेपाल समूहमा आवद्ध स्थानीय जनप्रतिनिधिसहितको सक्रियतालाई एउटा ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।

दलमा विभाजन शुरु भएलगत्तै सत्तापक्षलाई असफल पार्न सत्ताभित्रैको ‘प्रतिपक्ष’ले दर्शाएको यस हर्कतले ‘नेकपा’ नामधारी दलका सदस्यहरू देश बनाउन होइन आफ्ना स्वार्थ सिद्ध गर्दै देश र जनताको दोहन गर्न मात्र राजनीतिक आवरणमा क्रियाशील रहेछन् भन्ने अर्थ लगाउनैपर्ने परिवेश निम्तिएको छ । अन्यथा, विरोधिपक्षलाई असफल तुल्याउने नाममा देशकै गौरवका आयोजनामाथि घात गर्ने दुष्प्रयास गर्ने सोचसम्म पैदा नहुनुपर्ने थियो ।

समष्टिमा भन्नुपर्दा सत्ताधारी दलका दुई समूहबीच यतिबेला जुन स्तरको बिग्रह र आरोप–प्रत्यारोप चलिरहेको छ, लोकलाजका निम्ति पनि यो रोकिनु वान्छनीय छ । दुवै पक्षको वस्त्र एकअर्काले उतारिदिएका छन्, अब छाला नै काडेर देखाइदिनु त जरुरी नहोला !

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...