साेलुखुम्बु क्षेत्र हिउले सेताम्मे
सोलुखुम्बु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । साेलुखुम्बुकाे खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार नाम्चे बजारमा केही समय अघिदेखि हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा गए रातिदेखि नै हिमपात भइरहेको छ । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्लालगायतका ठाउँबाट देखिने डाँडाहरू सेताम्मे बनेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउनुभयो । हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीय फुर्ग्याल्जेन शेर्पाले बताउनुभयो ।

