नेकपा विभाजनका सूक्ष्म कारणहरू



 

देवप्रकाश त्रिपाठी

नेपाली समाजको चेतनास्तर तथ्य बुझेर मात्र धारणा बनाउने तहमा पुगेको देखिँदैन र, सूचनाका श्रोतहरूमाथि पहुँच राख्ने सामर्थ्य पनि आममानिसमा हुँदैन । आफूलाई जे लाग्छ त्यसैलाई सही ठान्ने र नकारात्मकतामा मात्र रमाउने संस्कार बसेका हुनाले धुर्त एवम् स्वार्थी जत्थाहरूबाट नेपाली समाज भुलभुलैयामा पर्दै आएको छ ।

महान् नेपाली दार्शनिक रुपचन्द्र विष्ट जो आफ्नो जन्म नै ‘सत्यको पक्षमा जनता जगाउनका निम्ति भएको’ ठान्थे, जीवनको अन्त्यमा उनले निष्कर्ष निकाले- ‘आम नेपालीहरू सत्य थाहा पाउनै चाहँदैनन्, जीवनभरी म जनता जगाउन मात्र लागिरहेँ, तर जनता जागेनन्, जे-जति जागे ती पनि जाली-फटाहालाई नै काम लागे ।’ जीवनका अन्तिम दिनहरूमा रुपचन्द्र निकै निरास थिए र, निरासाको एक मात्र कारण यहाँका मानिसको चेतनास्तर थियो । रुपचन्द्र विष्ट त्यागी थिए, जनताबाट प्राप्तिको कुनै अपेक्षा उनमा थिएन, जे गरिएको छ जनताकै निम्ति गरिएको छ भन्ने भ्रममा थिए बिष्ट । त्यसैले उनका अन्तिम दिनहरू जनताप्रति गुनासो गर्दै बिते ।

त्यस्तै, प्रधानमन्त्री जस्तो उच्च पदीय जिम्मेवारीसमेत अस्वीकार गर्ने गणेशमान सिंहले पनि जीवनको अन्तिम समयमा नेपालका जनताप्रति गुनासो गर्नु परेको थियो । तिब्बतमा लडाइँ लडेर नेपालको शान, मान र सीमा विस्तार गर्ने भीम मल्लको अहिलेसम्म एउटा शालिकसम्म निर्माण गर्न आवश्यक नठान्नेहरूको देश हो यो । भीम मल्ललाई शहीद घोषणा गरी राष्ट्रिय विभूति बनाउनुपर्नेमा प्रधानमन्त्री बनेको सपना देखेर जङ्गबहादुरसँग निहुँ खोज्न जाने व्यक्तिको शालिक ठड्याएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक भत्काउने र उनको तस्बिरमा वर्षैपिच्छे थुक छोड्नेहरूको मुलुक हो यो । त्यसैले यहाँ सत्य बोल्ने, तथ्य लेख्ने या सत्कर्म गरेकै कारण उच्च मूल्याङ्कनमा परिने ठान्नु हुँदैन । अपराध-कर्मलाई मूख्य साधन बनाएर राजनीतिमा सर्बेसर्वा बन्न आइपुगेकाहरूको समेत स्तुति हुने देशमा इमानदार एवम् निष्ठावान भएर प्रस्तुत हुनुको पनि खासै अर्थ रहने त होइन, तथापि नेकपा र उसको विभाजनसँग सम्बन्धित केही तथ्यहरूको उजाागर गर्ने प्रयास यहाँ गरिएको छ ।

एकीकरण प्रक्रियाले पूर्णता प्राप्त नगर्दै तत्कालिक नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुनुलाई कतिपयले अस्वभाविक र अनपेक्षित ठानेका छन् । दुई भिन्न पृष्ठभूमि, इतिहास, संस्कृति र सोचको भारी बोकेका समूहहरूको विभाजन भन्दा वास्तवमा एकताचाहिँ अस्वभाविक थियो । एमाले कित्ताको जन्म झापा विद्रोहको गर्भाधानबाट भएको र उक्त विद्रोह निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध लक्षित थियो । माओवादी कित्ताको जन्मचाहिँ झापा विद्रोहको विरोधमा एकत्रित कम्युनिष्टहरूले २०३१ सालमा चौथो महाधिवेशन गरेपछि भएको हो । नेकपा (चौथो महाधिवेशन) कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल र झापा विद्रोहको विरोधमा खडा भएको तत्कालिक कालखण्डको एउटा सशक्त कम्युनिष्ट पार्टी थियो, जसको नेतृत्व मोहनविक्रम सिंह र निर्मल लामाले गरेका थिए । त्यही समूह मशाल, मसाल, एकताकेन्द्र र नेकपा माओवादी हुँदै माओवादी केन्द्र बनेको तथ्य जगजाहेर छ ।

स्मरणीय पक्ष के हो भने ‘चौथो महाधिवेशन’ पक्षधरहरूले विरोधको तारो बनाएको ‘को-अर्डिनेशन केन्द्र’ अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)को उत्पत्ति भएको हो । यसरी ‘नेकपा एमाले’ र ‘माओवादी केन्द्र’को पृष्ठभूमिको अध्ययन-विश्लेषण गरेर दुई पार्टीबीचका सोच, संस्कार र सिद्धान्तको अन्तर खुट्याउन सकिन्छ । अर्को विकराल अन्तरको पनि स्मरण गर्नु उपयुक्त हुनेछ । पञ्चायतका विरुद्ध २०२८/०२९ सालतिर ‘एमाले’ले हिंसात्मक सङ्घर्ष गरेकै शैलीमा माओवादीले २०५२ सालमा संसदीय प्रजातान्त्रिक प्रणालीका विरुद्ध हिंसात्मक सङ्घर्ष आरम्भ गरेको हो । जतिबेला ‘एमाले’ले सशस्त्र विद्रोह गऱ्यो त्यो समयमा पार्टीहरू प्रतिबन्धित थिए, कम्युनिष्ट पार्टीका गतिविधि झनै निन्दनीय मानिन्थ्यो । तर माओवादीले प्रजातन्त्रका विरुद्ध हिंसात्मक सङ्घर्ष त्यस्तो समयमा गऱ्यो जतिबेला पार्टीहरूको नियन्त्रणमा राजनीति आइसकेको थियो र, कुनै पनि नामको कम्युनिष्ट पार्टी विधिवत दर्ता भएर निर्वाचनमार्फत सत्तामा जान सक्थ्यो । दुई समूहबीचको अन्तरका यी पक्षहरूलाई उपेक्षा गरेर हालको विभाजनबारे स्पष्ट धारणा बनाउन सकिँदैन । यहाँनेर विचारणीय पक्ष पन्ध्र वर्षसम्म ‘एमाले’को नेतृत्व गरेर सोही पार्टीका तर्फबाट प्रधानमन्त्रीसम्म भइसकेका माधवकुमार नेपाल र एमालेको प्रथम निर्वाचित अध्यक्ष भइ प्रधानमन्त्रीसम्म बनिसकेका झलनाथ खनाल समेत किन ‘माओवादी’तिर लहस्सिए भन्ने हो ।

सीपी मैनाली र झलनाथ खनालहरू मदन भण्डारी र उनको विचारसँग कहिल्यै सहमत थिएनन् । मदनको भन्दा भिन्न राय र व्यवहारमा रमाउने सीपी मैनाली करिव अढाइ दशकअघि नै पार्टीबाट अलग्गिएका हुन् । माधवकुमार नेपाल मदन भण्डारीको विचार ‘जनताको बहुदलीय जनबाद’सँग सहमत भएकै कारण २०५० सालमा मदनको अवशानपश्चात पार्टीको कार्यकारी नेतृत्व (महासचिव) का निमित्त स्विकार्य भएका थिए । तर विचार मदनको बोके पनि माधव नेपाल उनलाई समकालिक साथी मान्थे, नेता मान्दैनथे । त्यसैले मदन भण्डारीको तस्बिरले माधवको बैठककक्षमा कहिल्यै भित्ता पाउन सकेन । मदनका प्रति माधवमा उच्च सम्मानभाव नरहेको झल्काउने यस्ता अनेकौँ सन्दर्भहरू छन् ।

त्यसो त झलनाथ खनालले पनि मदन भण्डारीप्रति सम्मानभाव राख्दैनथे । जब कि केपी ओलीसहित ओलीको पक्षमा उभिएका हरेक नेता-कार्यकर्ता ‘जनताको बहुदलीय जनवाद’प्रति प्रतिबद्ध देखिन्छन् र, मदनप्रति उच्च सम्मानभाव राख्दछन् । मदन भण्डारीप्रति समेत सम्मानभाव नराख्नेहरूले केपी शर्मा ओलीलाई नेता मान्ने कुरा सम्भव थिएन । केपीको नेतृत्वमा माधव नेपाल र झलनाथ खनाललाई उकुसमुकुस भएको अनेक घटनाहरूले स्पष्ट गर्दथ्यो-गर्दछ । माधव नेपाल पन्ध्र वर्षसम्म पार्टीको कार्यकारी प्रमुख रहिरहनुमा केपी शर्मा ओलीको मूख्य भूमिका थियो, केपी माधवका सारथीझैँ देखिन्थे । तर जब पार्टी अध्यक्षका निम्ति झलनाथ खनाल र केपी शर्मा ओली (बुटवल महाधिवेशनमा) प्रतिष्पर्धामा उत्रिए, माधवले केपीलाई साथ दिएनन् । त्यतिबेला आफू तटस्थझैँ देखिएर समर्थकहरूलाई झलनाथको पक्षमा क्रियाशील हुन माधवले अह्राएको बुझिन्थ्यो । नवौँ महाधिवेशनमा केपीसँग झलनाथले प्रतिष्पर्धा नगर्ने भएपछि माधव आफैं मैदानमा उत्रिए र, पराजित पनि भए । पार्टीको अध्यक्ष बनिसकेपछि पनि माधव र झलनाथले केपीलाई कहिल्यै नेता मानेका थिएनन्, अचानक प्रचण्डलाई आफ्नो पार्टीको दायराभित्र फेला पार्दा उनीहरूलाई शायद देवता भेटिएझैँ भइदियो, सहयात्राका निम्ति तयार भए । केपीलाई नेता मान्नुपर्ने पीडाबाट छुटकारा पाउनका निमित्त पनि माधव र झलनाथ अलग्गिएका हुन् भन्न सकिन्छ ।

वि.सं. २०६३ को परिवर्तन र नेपाली राजनीतिमा माओवादीको खहरेदार प्रवेशलाई गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौला, डा. शेखर कोइराला, माधव नेपाल र झलनाथ खनालहरूले स्वभाविक रूपमा ग्रहण गरे पनि केपी शर्मा ओलीमा त्यसले छटपटी बढाएको उनकै अभिव्यक्तिहरूले स्पष्ट गर्दथ्यो । सडकदेखि सदन र हावादेखि रुखका पातसम्म माओवादीमय भएको त्यो समयमा एक्ला केपी ओली चुनौती र जवाफ बनेर माओवादीविरुद्ध उभिएका थिए । नेकपा ओलीका सय कमजोरी नभएका होइनन्, उनको आलोचनात्मक पाटो केलाउन खोजियो भने एउटा लेख होइन पुस्तक नै बन्न सक्ला । तर माओवादीको हिंसात्मक एवम् आपराधिक क्रियाकलापमाथि प्रश्न उठाउन केपीले कहिल्यै छोडेनन् ।

२०६३ सालमा गिरिजाप्रसाद कोइराला सर्वशक्तिमान प्रधानमन्त्री बनेका बेला केपी शर्मा ओलीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर प्रचण्ड-बाबुरामहरूले नेपाली सेनालाई ‘बलात्कारीहरूको झुण्ड’ भनेर बदनाम गर्न खोज्दा जवाफ फर्काउन केपी नै अग्रसर हुन्थे र, माओवादीको अस्वस्थ हैकमलाई चुनौती र चेतावनी दिन केवल केपी मात्र अघि सर्थे । त्यसताक केपी जस्ता नेता र विद्या भण्डारी जस्तो रक्षामन्त्री नभइदिएको भए नेपाली राष्ट्रिय सेनामा पार्टीका प्रति प्रतिबद्ध झण्डै बीस हजार गुरिल्ला छापामारहरूले प्रवेश पाउने निश्चितप्रायः थियो । (छत्रमानसिङ गुरुङ सेनापति रहँदा दशौँ हजार गुरिल्लाहरूलाई नेपाली राष्ट्रिय सेनामा कसरी घुसाउन खोजिएको थियो भन्ने तथ्य विवरण उपयुक्त समयमा सार्वजनिक हुनेछ) राज्य कब्जा गर्ने माओवादी रणनीतिको पाइला-पाइलामा अवरोध पैदा गर्ने काम कसैबाट भएको थियो भने त्यो केपीबाट नै भएको थियो, यस सन्दर्भमा विद्या भण्डारीको योगदानको चर्चा कुनै अर्को सन्दर्भमा गर्नु उपयुक्त हुनेछ ।

केपी ओली माओवादीप्रति कहिल्यै सकारात्मक नहुँदा नहुँदै पनि २०७४ को संसदीय निर्वाचनमा किन गठबन्धन गरे र, २०७५ जेठमा किन पार्टी एकीकरण गर्न तयार भए भन्ने प्रश्न उठ्ने-उठाउने गरिएको छ । र, प्रश्न उठ्नु स्वभाविक पनि हो । २०७४ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काङ्ग्रेसले माओवादीसँग चुनावी गठबन्धन नगरेको भए प्रधानमन्त्री बन्ने र देश चलाउने सपना देख्दै गरेका केपीले संसदीय निर्वाचनमा माओवादीसँग गठबन्धन गर्ने सम्भावना थिएन । माओवादीले उक्त निर्वाचनमा प्रत्यक्षतर्फ बढिमा सात स्थानमा विजय हात पार्ने विश्लेषण भइरहेको थियो र, त्यस्तो विश्लेषणलाई सही मान्नुपर्ने आधार पनि थिए । त्यस समयमा प्रचण्ड काङ्ग्रेससँग गठबन्धन बनाउन वार्तामा सहभागी पनि भएका थिए । माओवादीका निम्ति बीस निर्वाचन क्षेत्र मात्र छोड्न काङ्ग्रेस तयार भएको भए सम्भवतः एमालेसँगको चुनावी गठबन्धन नहुन सक्थ्यो । काङ्ग्रेससँगको प्रतिष्पर्धामा झिनो मतान्तरले विजय-पराजय हुने क्षेत्रहरूमा माओवादीको दुई-चार सय मतको पनि निर्णायक महत्व रहन्थ्यो । त्यसैले केपी ओली माओवादीसँग चुनावी गठबन्धन गर्न बाध्य भए र, माओवादीलाई सैंतिस स्थानमा विजयी पनि तुल्याए ।

आमनिर्वाचनमा एमाले एक्लैलाई बहुमत (१३७ स्थान) मिलेको भए पार्टी एकीकरण नहुने निश्चित थियो । पार्टी अनुशासनभन्दा बाहिरका प्रचण्ड, सरकारको स्थायित्वका निम्ति घातक हुन सक्छन् भन्ने केपीको बुझाइ थियो, त्यसैले एकीकरणको नाममा प्रचण्डलाई अनु्शासनमा बाँध्ने र पूरा कार्यकाल सरकार चलाउने मानसिकताका साथ केपी पार्टी एकताका निम्ति अग्रसर भएका हुन् । उता चिलले शिकार हेरेझैँ ठूला दलको एकछत्र नेता बनेर राज्य सत्तामा सम्पूर्ण नियन्त्रण कायम गर्ने अवसरको प्रतीक्षामा रहेका प्रचण्ड एमालेको १२१ स्थान (संसदमा) र केपीको कमजोर स्वास्थ्य स्थितिबाट निकै आकर्षित भए । केपी दोस्रो पटक पनि मृगौला प्रत्यारोपण गरेर स्वस्थ जीवन बाँच्न समर्थ हुन्छन् भन्ने एक प्रतिशत मात्र ‘आशङ्का’ उत्पन्न भएको भए प्रचण्ड एमालेसँग पार्टी एकीकरणका निमित्त तयार हुने थिएनन् । उनलाई काङ्ग्रेस र मधेशकेन्द्रित समूहहरूबाट पाँच वर्षसम्म प्रधानमन्त्री बनिरहन प्रस्ताव गएको थियो । काङ्ग्रेसको यस्तो प्रस्तावले प्रचण्डलाई केही दिन दुविधाग्रस्त बनाएको पनि हो । खासगरी ‘पार्टी केन्द्रीय कार्यसमितिबाटै निर्णय गराएर तपाईंलाई पाँच वर्षसम्मका निम्ति प्रधानमन्त्री बनाइने’ भनी काङ्ग्रेसले राखेको प्रस्तावले प्रचण्डलाई दुविधाको मानसिकतामा पुऱ्याएको थियो । तर केपीको कमजोर स्वास्थ्य प्रचण्डको निम्ति यति आकर्षणको विषय बन्यो कि काङ्ग्रेसको प्रस्ताव परित्याग गर्ने निष्कर्षमा उनी पुगे । प्रचण्डले ‘धोखा’ पाएको पनि यहीँनेर हो ।

नेकपाको नाममा सत्ताको एकलौटी मालिक बन्ने र, यहाँसम्मको राजनीतिक यात्रामा ‘दक्षिण’लाई उपयोग गरेका प्रचण्डले सत्ताको चीर स्थायित्वका निम्ति ‘उत्तर’को शरणमा जाने चालका साथ पार्टी एकीकरण गर्न सहमति जनाएका थिए । तर, उनले तय गरेको स्वप्नयात्रा पूरा हुन केपी नै मूख्य बाधक बने । बङ्गुरवादी चेत (आफ्नो हितसमेत नबुझ्ने)का काङ्ग्रेस नेताहरूलाई पिपलको पातझैँ नचाएका प्रचण्ड आफैं केपीको तालमा कम्मर मर्काइ-मर्काइ नाच्नुपर्ने ठाउँमा पुगे । संसदको ‘यही कार्यकाल’भित्र सत्ताको सर्वेसर्वा भएर भारत, अमेरिका र नेपाली जनतालाई जिल्याउँदै समाजवाद (एकदलीय चरित्रको) मा छलाङ मार्ने सपना मात्र केपीले भङ्ग गरिदिएनन्, आगामी संसदीय निर्वाचनमा चाहेको ठाउँबाट टिकट लिनसमेत केपीको वरिपरि ‘गणेशगिरी’ गर्नुपर्ने अवस्थामा प्रचण्ड पुगे । यसरी प्रचण्ड बचेखुचेको हैसियत र राजनीतिक ‘प्रतिष्ठा’ जोगाउनका निम्ति पार्टी विभाजनको निष्कर्षमा पुगेका हुन्, केपी ओली त आगामी संसदीय निर्वाचनसम्म महादेवले सतीदेवी बोकेझैँ प्रचण्डलाई बोक्न तयार रहँदै नरहेको उनको हाउभावले दर्शाएकै थियो ।

माओवादीले एमाले सिध्याउने कि एमालेले माओवादी सिध्याउने भन्ने रोमाञ्चक खेल (जसको शुरुवात धेरै वर्षपहिले नै भएको थियो) यहाँसम्म आइपुग्दा प्रचण्ड थोरै सफल र धेरै असफल ठहर हुने बिन्दुमा आइपुगेका छन् । २०६१ सालमा तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रसँग भएको परोक्ष संवादमा प्रचण्डले काङ्ग्रेस र एमालेलाई समाप्त गर्ने र राजासँग सत्ता साझेदारी गर्दै आफू प्रधानमन्त्री भएर काम गर्ने प्रस्ताव राखेका थिए । उनले राजासँग मिलेर पनि एमाले र काङ्ग्रेसलाई सिध्याउन खोजेका थिए, राजालाई विस्थापित गरिसकेपछि पनि काङ्ग्रेस र एमाले सिध्याउने उनको इच्छा जीवित नै देखियो ।

काङ्ग्रेसलाई आत्मा र प्राणविहीन निर्जिव शरीरझैँ विचारविहीन भीडमा रुपान्तरण गर्न प्रचण्ड सफल भएकै हुन्, तर एमाले समाप्त गर्न उनलाई मुस्किल पर्दैछ । माधव नेपाल र झलनाथ खनाललगायत एमालेभित्रको अलग धारलाई आफूतिर पार्न सफल भए पनि एमाले सङ्गठन, संस्कार र एमाले संस्कृतिको चोरी गर्न प्रचण्ड पूरै असफल भएका छन् । यस घटनासँगै संसारलाई झुक्याउँदै सम्पूर्ण सत्ता कब्जा गर्ने प्रचण्डको ‘मौलिक क्रान्ति अभ्यास’ पनि एक पटक फेरि थला परेको छ ।

प्रचण्ड जातिवादमा आधारित आरक्षण प्रणाली, पृथ्वीनारायण शाहको उपेक्षा र अपमान, एकीकृत सार्वभौमिकताको खण्डिकरण, धर्मनिरपेक्षतासहितको इसाइकरण आदिलाई आफ्नो महान् उपलब्धिका रूपमा ब्याख्या गर्दैछन् । उनले वामपन्थी काङ्ग्रेसको साथ लिएर पन्ध्र जातीय राज्यमा विभक्त गर्न गरेको प्रयासलाई केपीले उतिबेलै भत्काइदिएका हुन्, अब प्रचण्डका ‘उपलब्धि’हरूको रक्षा कसरी हुने हो, जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ । जय मातृभूमि !

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्